कुलेखानी–दक्षिणकाली सडकखण्ड बन्द

कुलेखानी–दक्षिणकाली सडकखण्ड बन्द

मकवानपुरको हेटौंडाबाट कुलेखानी हुँदै काठमाडौं प्रवेश गर्ने सडक स्तरोन्नतिका लागि बन्द गर्न लागिएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत दक्षिणकाली–छैमले–सिस्नेरी–कुलेखानी सडकको सिस्नेरी खण्ड स्तरोन्नतिका लागि भोलिदेखि बन्द गर्न लागिएको जानकारी दिइएको छ । 

हेटौंडा–काठमाडौं आवतजावत गर्ने सवारी साधनका कारण निर्माण कार्यमा ढिलाई भएपछि सडक बन्द गर्न लागिएको ईन्द्रसरोवर गाउँपालिका ३ का वडाध्यक्ष प्रताप भोम्जनले बताए । 

उनका अनुसार हाल उक्त सडकखण्डमा ग्रेडिङ, सबबेस, बेस, ढलान तथा नाली निर्माण भइरहेको छ । सवारी साधनको आवागमनले आयोजना समयमै सकाउन समस्या भएको उल्लेख गर्दै उनले सडक कालोपत्रेको काम सम्पन्न नभएसम्म यातायात आवागमन पूर्ण रुपमा बन्द गरिने जानकारी दिए । 

‘उक्त सडक खण्डमा निर्माण कार्य तीव्र गतिमा भइरहेको हुँदा ग्रेडिङ, सब बेस, बेस, ढलान तथा नाली निर्माणलगायत पिचको तयारीसमेत भइरहेकोले हाल आएर निर्माण कार्य सम्पन्न नहुँदै यातायात नखुलाउँदै निर्माण कार्य जारी रहेको अवस्थामा हेटौंडा काठमाडौं आवतजावत गर्ने टाटा सुमोलगायतका साधनहरु आवागमन गर्न थालेकोले तोकिएको समयसीमाभित्र सम्पन्न गर्नुपर्ने यस आयोजना निर्माण कार्यलाई अवरोध सिर्जना भएको हुँदा मिति २०८० चैत १७ गतेदेखि सडक पिच कार्य सम्पन्न नहुँदासम्म यातायात आवागमन बन्द भएको...’, जारी सूचनामा उल्लेख छ ।

टिप्पणीहरू