एसईई अनुगमनका लागि वितरण गरिएको अनुमतिपत्र रद्द

एसईई अनुगमनका लागि वितरण गरिएको अनुमतिपत्र रद्द
सुन्नुहोस्

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को अनुगमनका लागि वितरण गरिएको अनुमतिपत्र रद्द गरेको छ । 

प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वय समितिका आधिकारिक पदाधिकारीबाहेक अन्य व्यक्तिहरुको अनुमतिपत्र रद्द गरेको जानकारी दिंदै बोर्डले आवश्यक परेमा त्यस्ता व्यक्तिबाट पर्यवेक्षण गर्न लगाउने जनाएको छ । हिजो भएको अंग्रेजी विषयको परीक्षामा अनुगमनका नाममा अन्य व्यक्तिसमेत परीक्षा केन्द्रमा प्रवेश गरेको गुनासो आएकाले यो कदम चाल्नुपरेको बोर्डले प्रष्ट्याएको छ । 

‘अंग्रेजी विषयको परीक्षामा अनुगमनको नाममा अनुगमनका लागि खटिनुपर्ने आधिकारिक व्यक्तिहरु बाहेकका अन्य व्यक्तिहरु विभिन्न परीक्षा केन्द्रहरुमा गएको कारणबाट परीक्षार्थीहरुको लेखन कार्यमा असुविधा भएको भनि केही जिल्लाका केन्द्रहरुबाट गुनासा प्राप्त भएको विषयमा राष्ट्रिय परीक्षा बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ । प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वय समितिसमेतका आधिकारिक पदाधिकारीहरु बाहेकका अन्य व्यक्तिहरुका लागि प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति तथा जिल्ला परीक्षा समन्वय समितिबाट अनुगमनका लागि वितरण गरिएका अनुमतिपत्र रद्द गरिएको छ’, बोर्डले आज जारी गरेको सूचनामा उल्लेख छ ।

 

त्यस्तै, परीक्षार्थीहरुलाई उच्च मनोबल र निर्भयका साथ परीक्षामा सहभागी हुने वातावरण सिर्जना गर्न र मर्यादित रुपमा परीक्षा सञ्चालन गराउन बोर्डले समितिलाई निर्देशन दिएको छ ।

टिप्पणीहरू