गल्ती दोहोर्याउँदै त्रिभुवन विश्वविद्यालय

गल्ती दोहोर्याउँदै त्रिभुवन विश्वविद्यालय

मुलुकको सबैभन्दा पुरानो विश्वविद्यालयको लापरवाहीले सीमा नाघेको छ । एकपछि अर्को लापरवाहीका कारण त्रिभुवन विश्वविद्यालयको साख खस्किँदो छ । कहिले हुबहु प्रश्नपत्र त कहिले एउटा विषयको परीक्षामा अर्कै विषयको प्रश्नपत्रका कारण विश्वविद्यालयको नकारात्मक टिप्पणी हुँदै आएको छ । राजनीतिक हस्तक्षेपका साथै राजनीतिक आस्थाका आधारमा ताल्चा लगाउने, प्रदर्शन गर्ने थलो बनेको छ त्रिवि । 

एउटा संगठनले ताल्च फोड्छ, अर्कोले लगाइहाल्छ । यस्तै झमेलाले गर्दा त्रिविको स्तर खस्केको छ । हाल उत्तरपुस्तिका हराएको विषयले तरङ्ग ल्याएको छ । बिए प्रथम वर्षको स्वास्थ्य तथा जनसंख्या ४२२ को उत्तरपुस्तिकाको एउटा पोको नै हराएको छ । नतिजा निकाल्ने बेलामा उत्तरपुस्तिका नै हराएपछि त्रिवि परीक्षा नियन्त्रण कार्यालयको चर्को आलोचना भइरहेको छ । 

गत वैशाखमा सञ्चालित उक्त परीक्षाको १६५ वटा उत्तरपुस्तिकाको पोकै हराएको हो । उत्तरपुस्तिका हराएपछि कार्यालयले पुनः परीक्षा लिने भएको छ । आगामी चैत २१ गतेका लागि परीक्षा तोकिएको छ । शैक्षिक संस्थाहरुले पुनः परीक्षा सञ्चालनका लागि सूचनासमेत जारी गरिसकेका छन् । 

यता, स्नातक तह प्रथम वर्षको ‘फाउण्डेसन अफ एजुकेसन ४१२’ को १७६ वटा उत्तरपुस्तिका पनि हराएको खबर सार्वजनिक भएको छ । उत्तरपुस्तिका हराएपछि हाल सामाजिक सञ्जाल तातेको छ । त्रिविको लापरवाहीको सजाय विद्यार्थीले भोग्नुपरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले आक्रोश पोखिरहेका छन् । 

एक जना सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘त्रिविको लापरवाहीका कारण विद्यार्थीले कहिलेसम्म सजाय पाइरहने ? उत्तरपुस्तिका हराउँदै पुनः परीक्षा गराउँदै त्रिभुवन विश्वविद्यालय । यसको जिम्मेवारी कसले लिने ? परीक्षा नियन्त्रण कार्यालयले स्नातक तह प्रथम वर्षको जनसंख्या विषयको पुनः परीक्षा गर्ने भएको छ । उक्त विषयको उत्तरपुस्तिका हराएपछि पनिकाले पुनः परीक्षा लिन लागेको हो । तत्काल यसको जवाफसहित उचित छानबिन गरी संलग्नहरुलाई कारबाहीको माग गर्दछु ।’

त्यस्तै, अर्का एक जनाले भनेका छन्, ‘त्रिवि परीक्षा नियन्त्रण कार्यालयले निरन्तर गरिरहेको लापरवाहीले लाज पनि लजाइसकेको छ । तर, खोइ नेतृत्व गरेका पदाधिकारी कसरी लाज पचाउन सक्नुभएको उहाँहरु नै जानुन् । पनिका यतिसम्म निरीह हुनुको प्रमुख कारण भनेको त्यहाँको कर्मचारीको चरम दादागिरी हो । जे गरेपनि हुने मानसिकताको विकास हुनु र नेतृत्वलाई निरीह देख्नु सबैभन्दा ठूलो समस्या हो । त्यसैले उपकुलपतिज्यू घाम तापेर र कुरा काटेर मात्र तलब खाने कर्मचारीलाई तत्काल बर्खास्त गरियोस् ।’

सामाजिक सञ्जालमा भेटिएको छ, ‘यो देशमा हराउने बढी नै हुन्छ । यस्तो लाचार र लापरवाहीपूर्ण रुपले चलेका देशका विश्वविद्यालयमा अहिले उत्तरपुस्तिका हराउँछन् अनि केही समयपछि उत्तर दिने हराउँछन्, त्यसपछि प्रश्न दिने नै हराउँछन् ।’ कतिपयले विद्यार्थीहरुको भविष्यसँग खेलबाड गरेको भन्दै त्रिविको विरोध जनाइरहेका छन् । 

त्रिविमा उत्तरपुस्तिका हराएको यो पहिलोपटक होइन । अघिल्लो वर्ष झापाको दमक बहुमुखी क्याम्पसका विद्यार्थीको उत्तरपुस्तिका पनि हराएको थियो । बिबिएस चौथो वर्षको ‘रिसर्च मेथोडोलोजी’ को उत्तरपुस्तिका गायब भएपछि विद्यार्थीहरुले अनिश्चितकालका लागि परीक्षा नियन्त्रकको कार्यकक्षमै तालाबन्दी गरेका थिए । 

उत्तरपुस्तिकाको सुरक्षा गर्न नसक्ने परीक्षा नियन्त्रकको राजीनामा माग गर्दै चर्को आन्दोलन भएको थियो । यो घटनाले रिजल्ट कुरिरहेका विद्यार्थीहरुलाई त्रिविले मानसिक तनाव दिएको बताइन्छ । परीक्षा लिएको एक वर्षसम्म नतिजा निकाल्न नसक्ने विश्वविद्यालयको गैरजिम्मेवारपूर्ण हर्कतबारे जताततै आक्रोश पोखिएको छ । 

आफ्ना कमीकमजोरी सुधार्नुको साटो त्रिविले झन् दोहोर्याउँदै आएको छ । विश्वविद्यालयको कार्यसम्पादनबाट आफूहरु वाक्क भइसकेको विद्यार्थीहरु बताउँछन् । परीक्षा लिएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्नुपर्ने प्रावधान भएपनि त्रिविले डेढ वर्षसम्म पनि नतिजा निकाल्न सकेको देखिँदैन । विद्यार्थीको भविष्यबारे त्रिविले खेलबाड गरेको आम सर्वसाधारणको गुनासो छ । आफैं भद्रगोल अवस्थामा रहेको त्रिविका कारण माध्यमिक शिक्षापछि विदेश पलायन हुने विद्यार्थीको संख्या ह्वात्तै बढेको छ । 

बिए तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी अस्मिता मल्लले राजनीतिक दबदबा र पदाधिकारीहरुमा गैरजिम्मेवारीपन नहटेसम्म त्रिविको सुधार नहुने बताइन् । त्रिविको ढिलासुस्तीका कारण बेकारमा स्नातक भर्ना भएजस्तो महशुस भएको उनको प्रतिक्रिया छ । 

उनले भनिन्, ‘मलाई अहिले आएर बेकारमा स्नातक भर्ना गरेछुजस्तै भएको छ । न राम्रो पढाइ हुन्छ, न समयमा परीक्षा नै लिन्छन् । गत भदौमा बिए दोस्रो वर्षको परीक्षा दिएको, नतिजा कहिले आउने ? टुंगो छैन । पढाइको गुणस्तरमा सुधार गर्न नसकेपनि नतिजा त समयमा दिनुपर्ने हो नि । विद्यार्थीको समय खेर गइरहेको छ । आफूले दिएको परीक्षाको नतिजा हेर्न पनि गुहारिरहनुपर्ने कस्तो सिस्टम हो । त्रिविको कार्यशैली बुझ्नै गाह्रो छ।’

त्यस्तै, बिए तेस्रो वर्षमै अध्ययनरत मीनाकुमारी शर्माले प्रथम वर्षको ब्याक पेपरको फाराम अहिलेसम्म पनि नखोलेको गुनासो पोखिन् । उनले भनिन्,‘तेस्रो वर्षको कक्षा सञ्चालन भएको पनि आधा वर्ष बितिसक्यो । तर, अहिलेसम्म प्रथम वर्षकै ब्याक पेपरको फाराम खोलिएको छैन । कहिले फाराम भर्ने, कहिले परीक्षा लिने । त्रिविले अति नै हेलचेक्राइँ गरेको छ ।’

उत्तरपुस्तिका हराएको विषयमा विभिन्न विद्यार्थी संगठनले विज्ञप्ति जारी गरेका छन् । बारम्बार उत्तरपुस्तिका हराउने, पुनः परीक्षा लिनेजस्ता गैरजिम्मेवारपूर्ण क्रियाकलापले समग्र त्रिविको प्राज्ञिक गरिमा गिराएको र विद्यार्थीको शैक्षिक भविष्य नै अन्यौलतामा पारेको संघसंगठनको जिकिर छ । शिक्षाविद् विद्यानाथ कोइराला शिक्षकलाई अविश्वास नगर्नुको परिणाम उत्तरपुस्तिका हराउनु भएको बताउँछन् । पढाउने एउटाले, जाँच्ने अर्कोले गर्दा यस्ता घटना दोहोरिरहेको उनको भनाइ छ । 

उनी भन्छन्, ‘उत्तरपुस्तिका हराउनु त्रिविको ठूलो बदमासी हो । तर बदमासी गर्नेलाई कारबाही हुँदैन । बरु विद्यार्थीलाई दुःख दिइन्छ, तनाव दिइन्छ । हरेक वर्ष यस्तो लापरवाही हुन्छ, यद्यपि लापरवाही कसले गर्यो खुल्दैन । दिनेले गर्यो कि लिनेले त्योपनि बाहिर आउँदैन । वास्तवमा भन्ने हो भने यो शिक्षकलाई नपत्याउनुको परिणाम पनि हो । पढाउँछ एउटाले, तर कपी जाँच्छ अर्कोले । दुर्गम जिल्लाको कपी पनि बल्खु नै ल्याइन्छ । किनकि त्यहाँको शिक्षकमाथि विश्वास गरिँदैन ।’ शिक्षकमाथि विश्वास गरेमा वा एसईई प्रणाली स्नातकमा लागु गरेमा उत्तरपुस्तिका नहराउने र नतिजा पनि समयमै निकाल्न सकिने उनले बताए । 

यता, कार्यालयका सहायक परीक्षा नियन्त्रक पवन बरालले उत्तरपुस्तिका हराएको विषयमा आन्तरिक कारबाहीको प्रक्रिया अघि बढेको बताए । छानबिन समितिले प्रतिवेदन बुझाइसकेको र सोही आधारमा आन्तरिक कारबाहीको प्रक्रिया अघि बढाएको उनले जानकारी दिए । उनका अनुसार उत्तरपुस्तिका संकलन, प्याकेजिङ्ग र रुजु गर्ने क्रममा उत्तरपुस्तिका हराएको हुन सक्छ । ‘यसमा धेरै कारण छन् । मानवीय त्रुटि र लापरवाहीको कारणले पनि यस्ता घटना घटेका छन् । संकलन र रुजु गर्ने क्रममा छुटेका हुन सक्छन् । छानबिन समितिको प्रतिवेदन आज प्राप्त भएको छ, कारबाहीको प्रक्रिया पनि अघि बढिसक्यो’, उनले भने ।

पलायन हुँदै विद्यार्थी 

मुलुकको शैक्षिक अवस्था अस्तव्यस्त छ । शैक्षिक क्यालेण्डरअनुसार शैक्षिक गतिविधि सञ्चालन गर्ने भनिएपनि आश्वासनमै सीमित भएको छ । चार वर्षे स्नातक पूरा गर्न वर्षौ लाग्ने भएपछि विद्यार्थीहरुलाई विदेश पलायन नै उत्तम विकल्प लाग्न थालेको छ । यहाँका शैक्षिक संस्थामा भर्ना हुनु समय खेर फाल्नु भएको विद्यार्थीहरु बताउँछन् । 

विद्यार्थीहरु माध्यमिक शिक्षा सकाएपछि ‘कन्सल्टेन्सी’ धाउन थाल्छन् । जसका कारण पछिल्लो समय त्रिवि रित्तिँदै गएको छ । त्रिविअन्तर्गतका आंगिक क्याम्पसमा पनि विद्यार्थीको खडेरी लागिरहेको छ । तैपनि त्रिविलाई कुनै फरक परेको छैन् । त्रिवि सुधार्नुको साटो झनै लापरवाही गरिँदै आएको पछिल्लो उदाहरण उत्तरपुस्तिका हराउनु पनि हो ।

टिप्पणीहरू