स्वास्थ्य बीमाको नवीकरण एक महिनाअगावै गर्नुपर्ने

स्वास्थ्य बीमाको नवीकरण एक महिनाअगावै गर्नुपर्ने

स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमामा आबद्ध बीमितहरुलाई सदस्यता नवीकरण गर्न सूचना गरेको छ । गत वर्ष जेठबाट सेवा सुरु गरेका बीमितहरुलाई यही चैत मसान्तभित्र सदस्यता नवीकरण गरिसक्न बोर्डले जानकारी गराएको हो । 

वडास्थित दर्ता सहयोगीका साथै अनलाइनमार्फत पनि नवीकरण गर्न सकिने बोर्डले जनाएको छ । अनलाइन नवीकरण गर्दा नागरिक एप, खल्ती वालेट, ई–सेवामार्फत घरमुलीको बीमा नम्बर राखेर गर्न सकिनेछ । 

यसरी नवीकरण गरिएको सदस्यता स्वतः २०८१ भद्रौ १ गतेदेखि क्रियाशील हुने बोर्डले जनाएको छ । सूचनामा भनिएको छ, ‘२०८० चैतपश्चात् अथवा २०८१ वैशाख १ गतेदेखिको नयाँ दर्ता तथा नवीकरण स्वतः २०८१ भद्रौ १ गतेदेखि क्रियाशील हुने जानकारी गराइन्छ ।’

बोर्डले सेवा निरन्तरताको लागि एक महिनाअगावै नवीकरण गरिसक्नुपर्ने समेत जानकारी दिएको छ । जसअनुसार वैशाख, जेठ र असारमा सदस्यता दर्ता गरेकाहरुको भद्रौ १ गतेदेखि सेवा सुरु भई अर्को वर्षको साउनमा समाप्त हुनेछ । 

त्यस्तै साउन, भद्रौ र असोजमा दर्ता गरेकाहरुको मंसिर १ गतेदेखि सेवा सुरु हुने र अर्को वर्षको कार्तिकमा समाप्त हुने बोर्डले जनाएको छ । कात्तिकदेखि पुससम्म दर्ता भएकाहरुको फागुन १ गतेदेखि सेवा सुरु भई अर्को वर्षको माघमा समाप्त हुनेछ । 

बोर्डले माघदेखि चैतसम्म सदस्यता दर्ता गरेकाहरुको जेठ १ गतेदेखि सेवा सुरु हुने र अर्को वर्षको वैशाखमा समाप्त हुने पनि जानकारी गराएको छ ।

टिप्पणीहरू