वृद्ध र अपांगलाई महानगरको पोषण भत्ता

वृद्ध र अपांगलाई महानगरको पोषण भत्ता

काठमाडौं महानगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई पोषण भत्ता दिने भएको छ । महानगरले वरिष्ठ ज्येष्ठ नागरिक तथा पूर्ण अपांगता भएका व्यक्तिलाई वार्षिक १२ हजार रुपैयाँ पोषण भत्ता उपलब्ध गराउन लागेको हो । 

पोषणयुक्त खाना, सामग्री तथा औषधी उपचारमा खर्च गर्ने प्रयोजनका लागि भत्ता दिन लागेको महानगरले जनाएको छ । महानगरले सूचना प्रकाशित गर्दै त्यस्ता व्यक्तिहरुलाई आफ्नो मतदाता परिचयपत्र वा नागरिकताको आधारमा महानगरबासीहरुको लागि पोषण भत्ता शीर्षकमा विनियोजित रकमबाट भत्ता वितरण गरिने बताएको छ । 

सूचनामा भनिएको छ, ‘पोषणयुक्त खाना, सामग्री, औषधी उपचारमा खर्च गर्ने प्रयोजनका लागि महानगरका ज्येष्ठ नागरिक तथा पूर्ण अपांगता भएका व्यक्तिहरुको मतदाता परिचयपत्र वा नागरिकताको आधारमा महानगरबासीहरुको लागि पोषण भत्ता शीर्षकमा विनियोजित रकमबाट वार्षिक रुपमा १२ हजार रुपैयाँ पोषण भत्ता वितरण गरिने जानकारी गराइन्छ ।’

महानगरपालिकाले सबै वडा कार्यालयलाई पत्राचार गर्दै पोषण भत्ता वितरणका लागि विवरण पठाउन  निर्देशन दिएको छ । केही वडाले विवरण पठाउन बाँकी रहेको उल्लेख गर्दै महानगरले यही चैत ३० गतेभित्र पठाउन भनेको छ ।

टिप्पणीहरू