मन नपर्ने कमरेडहरू ढोकाबाहिरै

मन नपर्ने कमरेडहरू ढोकाबाहिरै

घण्टौँ कुर्दा पनि बालकोटमा केपी ओलीलाई भेट्न नपाएपछि सिधै पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेका एमाले गण्डकी प्रदेश सदस्य तथा क्व्होलासोथर गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रेम घलेले कार्यालय सचिव डा. भीष्म अधिकारीसँग कानेखुशी गर्दै बसेकातिर इंगित गरेर सोधे– उहाँ को हो ? लमजुङका अधिकारीले अध्यक्षको स्वकीय राजेश बज्राचार्य भनेर के भनेका थिए घले बम्किन थालिहाले । ‘दश–पन्ध्रचोटि फोन गर्दा पनि किन उठाउनु भएन ? म माग्न आएको हो र ? त्यति टाढाबाट आएको अध्यक्षलाई पाँच मीनेट समय मिलाइदिन भन्दा फोन नउठाउने । अध्यक्षको हातमा यो किताब दिऊँ भनेर मात्रै आएको थिएँ ।’

घले गाउँको कथा नामक उक्त पुस्तकमा घलेले केपी ओलीको समेत गुणगान गाएका छन् । त्यही पुस्तक दिन भनेर गत हप्ता बाल्कोट पुगेका उनलाई ओलीका सेक्रेटरीले ढिम्कनै दिएनन् । अधिकारीले चुप लाग्न भनेपछि घले झन् रन्किए– किन चुप लाग्ने ? एमाले सामन्तीको मात्रै पार्टी हो ? केपी ओलीलाई मैले घले गाउँ लैजान साढे ९ लाख खर्च गरेको भुल्नु भो ? लौ मलाई पार्टीले कारबाही गरे नि गरोस्, केपी ओली भनेका सामन्त र तिनका आसेपासे रहेछन् । यसरी एकोहोरो कुर्लिन थालेपछि अधिकारीले म भोलि नै समय मिलाउँछु भन्दै आश्वस्त पार्न खोजे पनि चित्त बुझेन र अब म कहिल्यै भेट्दिनँ भनेर च्यासलबाट निस्किए ।

०४९ र ०५४ मा उत्तरकन्या गाविसको अध्यक्ष हुँदै ०७४ मा क्व्होलासोथर गाउँपालिकाको अध्यक्ष निर्वाचित एमाले गण्डकी प्रदेश सदस्यसमेत रहेका घलेले २०७९ वैशाखमा नेपालकै पहिलो सुखी गाउँ घोषणाको उद्घाटन नै केपी ओलीबाट गराएका थिए ।

हेलिकप्टरमा लाखौँ खर्च गरेर, हजारौं मूल्य पर्ने बख्खु ओढाएर निकै सत्कारसहित घलेगाउँ पु¥याउँदा घलेगाउँ र प्रेम घलेलाई कहिल्यै नभुल्ने प्रतिज्ञा गरेका ओलीले दुई वर्ष नपुग्दै पाँच मीनेट पनि समय दिएनन् । हुन त केही दिनपहिले मात्रै ओली निवास पुगेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङको पनि हालत उस्तै भयो । कुरेको घण्टा बित्दा पनि छिर्न पाएका थिएनन् । भित्र थिए अहिलेका कानुनमन्त्री पदम गिरी, महेश बर्तौला स्याङ्जा फेदिखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी । कांग्रेस माओवादी गठबन्धन भत्काउन गुरुङको कसरत कम थिएन । गुरुङले आफ्नै नेतृत्वमा ओलीले एमालेलाई सरकारमा पठाउलान् भन्ने अपेक्षा गरेका थिए । त्यही आशा लिएर गएका गुरुङले एक घण्टाभन्दा बेसी कुर्दासमेत भेट पाएनन् मात्रै हैन ओली कोसँग व्यस्त हुनुहुन्छ भन्ने भेउ पनि पाएनन् । पदम गिरीसहितको टोली फुत्त बाहिरिँदा पो चाल पाए । 

ओलीका पिएसओले गुरुङ आएको खबर बेलैमा पु¥याएका थिए तर ओलीले एकछिन बाहिरै बस्न भनेको उनैले गुरुङलाई सुनाए । ओली उपमहासचिव गुरुङसँग पनि खासै खुशी छैनन् । गण्डकी प्रदेश अधिवेशनमा सहमतिबाट नेतृत्व चयन गर्ने ओलीको निर्देशन थियो । त्यसका लागि महासचिव शंकर पोखरेलले पनि खुबै प्रयत्न गरेका थिए । उनीहरूको मनशाय खगराज अधिकारीको टोलीलाई ल्याउने भन्ने थियो । जुन कुरा गुरुङ पक्षलाई चित्तबुझ्दो भएन । अधिकारी प्यानल र गुरुङ प्यानल भनेर चुनावी प्रतिस्पर्धामा उत्रिए । फलतः सबै पदाधिकारी गुरुङ प्यानलका विजयी बने । त्यसैले पनि ओली गुरुङप्रति त्यति उदार देखिँदैनन् । 

एमाले गोर्खाको आठौं जिल्ला अधिवेशनबाट पनि गुरुङ समर्थित पदाधिकारी निर्वाचित भए । यही १६–१७ गते हुने लमजुङ जिल्ला अधिवेशनमा समेत एमालेभित्र राम्रै गुटबन्दीको संकेत देखिएको छ । जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी, सचिव सुभाष पौडेल, उपसचिवद्वय जितबहादुर गुरुङ र जनकराज मिश्रसहित बहुमत पदाधिकारी खगराजनिकट भनेर चिनिए पनि अबको अधिवेशनले फरक नतिजा दिने एक जिल्ला सदस्यले जनआस्थालाई बताए ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू