यौन शोषण र बेश्यावृत्तिको भिन्नता खोजे श्रीमानले

यौन शोषण र बेश्यावृत्तिको भिन्नता खोजे श्रीमानले
सुन्नुहोस्

क्रिकेटर सन्दिप लामिछानेदेखि कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेसम्मका यौनजन्य कसुरको मुद्दा हेरेपछि अदालतले नै सोध्न थालेको छ, यौन शोषण र वेश्यावृत्तिको फरक के हो ?

नयाँ बानेश्वरमा कार्यालय रहेको मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेले सुन्दरी प्रतियोगिता आयोजना गर्ने नाममा युवतीहरुमाथि यौन शोषण गरेको मुद्दाको पूर्णपाठ लेख्दै पाटन उच्चका न्यायाधीश ध्रुवराज नन्द र चन्द्रमणिज्ञवालीले भर्खरै  त्यस्तो प्रश्न गरेका हुन् । पीडितमध्येकी अर्चना (नाम परिवर्तन) रेग्मीले दिएको जाहेरीका आधारमा गत वर्ष मनोज पक्राउ परेका थिए । सानै उमेरमा विभिन्न चलचित्रको बालकलाकारका रुपमा काम गरेकी उनले १२ कक्षा उत्तीर्ण गरेपछि हाउस अफ फेसनमा अडिसन दिएकी थिइन् । उक्त संस्थाको फेसबुक पेजमा फोटो देखेपछि आकर्षित भएका मनोजले अर्चनासँग नियमित सम्पर्क गर्न थाले ।

उनीसँगै मिलेर फेसन शोे आयोजना पनि गर्न थाले । यसक्रममा अर्चना मात्र हैन, उनलाई ल्याएका साथीहरुसँग पनि मनोजले यौन सम्पर्क राख्न पाउनुपर्ने शर्त थियो । यौनजन्य गतिविधि गर्दाका दृश्य रेकर्ड गर्ने र युवतीहरुलाई देखाउँदै बार्गेनिङ गर्नेसम्मका काम मनोजबाट हुन थाल्यो । पछि अर्चना मानसिक रुपमा विक्षिप्त भइन् र प्रहरीमा जाहेरी दिइन् ।

उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतले मनोजलाई सात वर्ष कैद तोकेको छ भने यस क्रममा उच्च अदालत पाटनले तयार पारेको पूर्णपाठमा क्षतिपूर्ति ७५ हजारलाई ५ लाख पुर्‍याउँदै नैतिक पतन घोषित गरिएको छ,’ भनिएको छ, ‘प्रतिवादीले व्यावसायिक शक्तिको अनकूल हुने गरी वातावरण मिलाई दबाबमा पारी निरन्तर यौन शोषण गरी निजलाई शारीरिक, मानसिक पीडा र यातना दिई विभिन्न प्रकृति र माध्यमबाट यौनतृष्णा मेटाई पीडितलाई यौनसम्पर्कमा बाध्य पारिएको भनी पीडित स्वयंले व्यक्त गरेको पाइन्छ । यसप्रकारको कार्य मानव बेचबिखनको अपराध हो होइन भनी विश्लेषण गर्नुपर्ने प्रश्न उपस्थित छ । यस सन्दर्भमा सर्वप्रथम यौन शोषण र वेश्यावृत्ति के हो भनी कानुनमै भएको प्रावधानअनुरुप हुने गरी व्याख्या गर्न वाञ्छनीय हुन्छ ।’

अर्थात्, केटा र केटी मिलेर होटलमा जाने, चुकुल लगाउने र रात बिताएर सँगै बाहिर निस्किने तर त्यही घटना केही दिन वा महिनाको अन्तरालमा जबरजस्ती करणी, मानव बेचबिखन, नावालिकामाथिको यौन शोषणजस्ता मुद्दाका रुपमा अगाडि बढ्ने प्रवृत्तिबारे अदालतले प्रश्न उठाएको छ । सन् २०१४ सेप्टेम्बर २ मा आर्मी अफिसर्स क्लबमा आयोजित मिस ग्लोबल इन्टरनेशनल नामक सौन्दर्य प्रतियोगितामा अर्चनाले भाग लिएकी थिइन् । उक्त प्रतियोगितामा फष्र्ट रनरअप भएकी अर्चनाको सफलताको भोज होटल एभरेष्टमा आयोजना गरिएको थियो । त्यसको केही दिनपछि उनीमाथि भएको यौन शोषणको विषयलाई लिएर अर्चनाले त्यसबेला अनलाइन खबरमा कार्यरत फोटो पत्रकार श्रीधर पौडेललाई मनोजको कन्सल्टेन्सीमा बोलाएकी थिइन् । श्रीधर फेसन शोका अफिसियल फोटोग्राफर थिए ।

अफिसमा पुग्दा अर्चना रुन र कराउन थालेपछि श्रीधरले आफ्नो जुत्ता फुकालेर मनोजलाई हिर्काए । त्यसपछि अबदेखि त्यस्ता फेसन शो नगर्ने सहमति भएको थियो । अर्चना भने मनोजबाट भएको यौनशोषणकै कारण मानसिक रुपमा विक्षिप्त भएको मनोविद् रामपुकार साह र साइक्याट्रिष्ट यादव विष्टले गरेको परीक्षणबाट खुलेको थियो । उनी ‘मिक्स्ड डिप्रेसन एण्ड एन्जाइटी डिसअर्डर’ बाट पीडित थिइन् । यही कारण उनले पटक पटक आत्महत्याको प्रयास गरेकी थिइन् । उनले मनोविद् तथा चिकित्सकहरुसँग परामर्श गरिरहेको र आर्थिक अवस्था कमजोर भएको कुरालाई दृष्टिगत गर्दै उच्च अदालत पाटनले पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिलाउन आदेश दिएको छ । पहिला जिल्ला अदालतले ७५ हजारमात्रै क्षतिपूर्ति तोकेको थियो । 

क्रिकेटर सन्दिप लामिछानेको हकमा पनि मनोजकै जस्तो कसुर आकर्षित भएको कानुन व्यवसायीहरु बताउँछन् । उनीबाट यौन दुव्र्यवहार भएको भनिएकी युवतीको जन्ममिति पहिला २०६२ साल र पछि २०६१ बनाइएको थियो । त्यसअनुसार १८ वर्षभन्दा माथिको उमेर हुनाले नावालिका करणीको कसुर आकर्षित भएन । तर, सजाय र क्षतिपूर्ति भने निर्धारण गरिएको छ ।  अहिले सरकारी वकिलले सजायँ कम भएको भन्दै उच्च अदालतमा मुद्दाको पुनरावेदन गरेको छ । सन्दिप भने १० वर्षभन्दा कम सजायको सुविधा लिँदै थुनाबाहिरै रहेर मुद्दाको पुर्पक्ष गरिरहेका छन् । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू