सहकारीलाई भटाभटी अनुमति, सुध्रिएन मति

सहकारीलाई भटाभटी अनुमति, सुध्रिएन मति
सुन्नुहोस्

तीनखम्बे अर्थनीतिको मान्यता पाएको सहकारी संस्थाहरू संकटग्रस्त अवस्थाबाट गुज्रिरहेका छन् । सञ्चालकले बाटो बिराउँदा लाखौं बचतकर्ताले दुःख पाएका छन् । रातारात सञ्चालक भागिरहेका छन् । नियमनकारी निकायको बेवास्ता, कमजोर व्यवस्थापन र मनोमानी कर्जा लगानीका कारण सहकारीले आम सर्वसाधारणको भरोसा गुमाएको छ । मुलुककै ठूला र धेरै पुँजी भएका सहकारीसमेत समस्यामा छन् । 

देशभरका ३५ हजार बढी सहकारीमा लाखौं बचतकर्ताको खर्बौं रूपैयाँ फसेको छ । सानातिना पेशा, व्यवसाय गरेर गुजारा चलाउँदै आएका आम नागरिकमा बचतको बानी बसाल्न र उनीहरूको आर्थिक उत्थानमा सहयोग पुर्‍याउन सहकारी सञ्चालनमा ल्याइएको हो । समाजमा व्याप्त गरिबी, व्यापारिक एकाधिकारजस्ता आर्थिक एवं सामाजिक विसङ्गति अन्त्य गरी सहकार्यको माध्यमबाट निम्न आयवर्गीय गरिब जनसमुदायको जीवनस्तर उकास्नु र उनीहरूलाई सामाजिक न्याय दिलाउनु सहकारीको मुख्य उद्देश्य हो । तर, अन्धाधुन्द घरजग्गामा लगानी, धितो नराखी ऋण प्रवाहलगायत गैरजिम्मेवारी कार्यले गर्दा समस्या दिनप्रतिदिन बढ्दो छ । 

सहकारीले बचत खाइदिँदा धेरैको पारिवारिक सम्बन्धमा दरार आएको छ । कतिपयको जिन्दगीभरको कमाइ ‘स्वाहा’ भएको छ । सहकारीले दिएको पीडा सहन नसकेर गत पुसमा एक जनाको हृदयघातबाट ज्यान गयो । सहकारीमा पैसा राख्नेहरू कसैले कोठा भाडा तिर्न सकेका छैनन् त कसैले छोराछोरीको स्कूल फिस । एकपछि अर्को सहकारी समस्याग्रस्त हुँदै जाँदा बचतकर्तामा आफ्नो बचत फिर्ता आउने आश मर्दै गएको छ ।

‘एउटा कार्यक्षेत्र विस्तार गर्न करोडौंको चलखेल हुन्छ भने शिवशिखरको त्यत्रो शाखा छ । चलखेल नभइकन शाखा विस्तारको अनुमति दिइएको छैन । तर, मुद्दा चलाउँदा इजाजत दिनेलाई जोगाइएको छ । 

कान्तिपुर बचत तथा ऋण सहकारी संस्था, लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था, देउराली, गौतमश्री, सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, जेस्ट, सूर्यदर्शनलगायत थुप्रै सहकारीले बचत फिर्ता गर्न सकेका छैनन् । केही सहकारीका सञ्चालकलाई पक्राउ गर्न इन्टरपोल नोटिससमेत जारी भएको छ । यता, सबैभन्दा बढी घोटाला गर्ने शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका निवर्तमान अध्यक्ष एवं सञ्चालक केदारनाथ शर्मा जेल चलान भएका छन् । बैंकजत्तिकै ठूलो पुँजी भएको सहकारीले लाखौं बचतकर्तालाई धुरुधुरु रुवाएको छ । 

शिवशिखरको घोटाला नेपालमा सहकारी ठगीको हालसम्मको ठूलो घटना हो । भक्तपुरको कौशलटारमा प्रधान कार्यालय रहेको सहकारीमाथि करिब १४ अर्ब रूपैयाँ हिनामिना गरेको आरोप छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शर्माको शिवशिखर र तुलसी बहुमुखी सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिसकेको छ । मुलुकभर व्यवसायिक नेटवर्क बनाउने भन्दै शिवशिखरले खोलेको बैतडी, कञ्चनपुर, डडेलधुरा, डोटी, कैलाली, बाँके, सुर्खेत, बर्दिया, दैलेख, बाग्लुङ, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, रूपन्देही, नवलपरासी, लमजुङ, कास्की, गोरखा, धादिङ्ग, नुवाकोट, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, चितवन, दोलखा, रामेछापलगायतका जिल्लामा रहेको सेवा केन्द्र बन्द भइसकेको छ । 

सेवा केन्द्र बन्द भएपछि बचतकर्ताहरूको कन्तबिजोग भएको छ । अधिकांश बचतकर्ताको घरबास नै उठेको छ । सडक छेउ साग बेचेर गुजारा गर्नेदेखि जग्गा बेचेको पैसासमेत गुमेको छ । आकर्षक ब्याज दिलाउने विश्वासमा पारेर अर्बौं रूपैयाँ उठाएको शिवशिखरले ३६ स्थानमा शाखा कसरी खोल्यो ? चाखलाग्दो विषय छ । शिवशिखर सञ्चालनमा आएको धेरै वर्ष भएको छैन । 

सञ्चालक समितिका सबै जना सहकारी ठगीमा डामिँदा इजाजत दिनेलाई जोगाइएको छ । सेवा केन्द्र भएका जिल्लाका सरकारी वकिल कार्यालयले सञ्चालक समितिका पदाधिकारीविरुद्ध मात्र अभियोगपत्र दायर गरेको हो । आँखा चिम्लेर कार्यक्षेत्र विस्तारको स्वीकृति दिनेको कहीँकतै नाम उल्लेख छैन । शिवशिखर सञ्चालक समितिका निवर्तमान अध्यक्ष शर्मा, अध्यक्ष सुशील बानियाँ, उपाध्यक्ष भोजराज पौडेल, व्यवस्थापक लीलानाथ गौतम, सचिव तेजबहादुर तामाङ्ग, सदस्यहरू पुष्कर मल्ल, अमिश राजभण्डारी, गीता शर्मा, राजु शाखकर्मी, दिपकबहादुर ऐरलगायतमाथि मुद्दा चलाइरहँदा स्वीकृति दिनेले उन्मुक्ति पाएका छन् । 

एउटा ठाउँमा कार्यक्षेत्र विस्तार गर्न करोडौं रकम घुस लिएको आरोपमा पूर्वरजिष्ट्रार पक्राउ परेको विषय ताजै छ । पोखराको मित्रमिलन सहकारीको कार्यक्षेत्र स्याङ्जामा विस्तार गर्न एक करोड २५ लाख रूपैयाँ लिएको आरोपमा सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकीका पूर्व रजिष्ट्रार उदयबहादुर पराजुलीलाई जेल पठाइएको छ । स्रोत भन्छ, ‘एउटा कार्यक्षेत्र विस्तार गर्न करोडौंको चलखेल हुन्छ भने शिवशिखरको त्यत्रो शाखा छ । चलखेल नभइकन शाखा विस्तारको अनुमति दिइएको छैन । तर, मुद्दा चलाउँदा इजाजत दिनेलाई जोगाइएको छ । धमाधम इजाजत नदिएको भए हजारौं बचतकर्ता डुब्नबाट जोगिन्थें । बचतकर्ता डुबाउनमा सरकारको पनि उत्तिकै हात छ, यस विषयमा छानबिन हुनुपर्छ ।’

सहकारीलाई समुदायको ‘साझा संसार’ पनि भनिन्छ । तर, नियमनको अभावले गर्दा सहकारीमा व्यापक बेथिति मौलाएको छ । राष्ट्रिय सहकारी महासंघका नायव महाप्रबन्धक बाबुल खनाल सहकारीमा बेथिति देखिनुमा सरकारको पनि ठूलो हात रहेको बताउँछन् । ऐनमा सबै विषय उल्लेख भए पनि कार्यान्वयन नगरेको उनको गुनासो छ । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू