सहकारी पीडितहरुको समस्या समाधान गरियोस् : मानव अधिकार आयोग

सहकारी पीडितहरुको समस्या समाधान गरियोस् : मानव अधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोगले सहकारी पीडित बचतकर्ताहरुको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ । 

आयोगले सहकारी क्षेत्र सुधार कार्यदलले गत भदौमा प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदनको तत्काल कार्यान्वयन गर्दै पीडितहरुको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ । 

बचतकर्ताहरुले बिहीबारदेखि थालेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीबाट भएको अत्यधिक बल प्रयोगबाट प्रदर्शनकारीहरु घाइते भएकोप्रति समेत आयोगले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । 

‘सहकारी पीडित बचतकर्ताहरुले काठमाडौंमा चैत १ गते आयोजना गरेको शान्तिपूर्ण प्रदर्शन, सुन्धारामा भएको र्याली तथा भुकुटीमण्डपमा गरिएको कोणसभाको आयोगले अनुगमन गरेको छ,’ आज जारी विज्ञप्तिमा भनिएको छ, ‘सोही दिन साँझ करिब ७ बजेपश्चात् सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलव केसीलगायत अन्य केही व्यक्तिहरुलाई प्रहरीले कुटपिट गरी घाइते बनाएको भनी आयोगमा ज्ञापनपत्र प्राप्त भएको छ ।’

यस सम्बन्धमा आयोगमा उजुरी समेत दर्ता भएको जनाइएको छ । प्रहरीको कुटपिटबाट घाइते भएका अभियानका अध्यक्ष केसी चैत १ गतेदेखि नै अनसनमा छन् । उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको आयोगले जानकारी दिएको छ ।

‘अनसनरत केसीको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई वार्ता र संवादको माध्यमबाट सहकारी पीडितहरुको समस्याको समाधान गर्न आयोग सरकारको ध्यानाकर्षण गराउँदछ,’ विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू