अमेरिकी पूर्व महिला राजदूतहरुको एक महिना सम्झना

अमेरिकी पूर्व महिला राजदूतहरुको एक महिना सम्झना

काठमाडौंस्थित अमेरिकी राजदूतावासले आजदेखि शुरु भएको मार्च महिनाभर यसअघि यहाँ राजदूतको भूमिका पूरा गरेका महिलाहरुको सम्मानमा बिशेष  कार्यक्रम राखेको छ । ‘महिला स्मरण महिना’ को रुपमा ती राजदूतहरुको नेतृत्व र सेवाप्रति आभार व्यक्त गर्दै दूतावासले अरु महिलाहरुको लागि प्रेरणादायी उदाहरण अघि सारेको जनाएको छ ।

दूतावासले भनेको छ, ‘उहाँहरुको नेतृत्व र सेवाप्रति हामी आभारी छौं । उहाँहरु अरु महिलाहरुका लागि पनि प्रेरणादायी उदाहरण हुनुहुन्छ । साथै, यो महिना हाम्रो आफ्नै जीवनका प्रेरक अनगिन्ती महिलाहरुलाई सम्मान गर्ने अवसर पनि हो । जसको योगदानले हामीलाई र हाम्रो वरपरको संसारलाई आकार दिन मद्दत गर्दछ ।’

सन् १९६६ देखि १९७३ सम्म राजदूत रहेकी क्यारोल लेज नेपालका लागि  पहिलो अमेरिकी महिला राजदूत हुन् । त्यसपछि सन् १९७६ देखि १९७७ सम्म मार्किता मेट्याग, १९८९ देखि १९९३ सम्म जुलिया चाङ ब्लक र सन् १९९४ देखि १९९७ सम्म सान्द्रा भोगेलसाङ पनि राजदूत थिए । 

त्यसैगरी सन् २००७ देखि २०१० सम्म नान्सी जो पोवेल र सन् २०१५ देखि २०१८ सम्म एलाइना बी टेप्लिज पनि नेपालका लागि अमेरिकी राजदूत रहे । तीमध्ये जुलिया सबैभन्दा धेरै चर्चामा आइन् । तत्कालीन गृहमन्त्री तथा हाल पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र आरजु राणाको विवाह हुनुमा उनको विशेष भूमिका रहेको सम्बन्धमा त्यतिबेला निकै चर्चा भएको थियो ।

टिप्पणीहरू