विमानस्थल विदेशीलाई ठेक्कामा दिने सल्लाह

विमानस्थल विदेशीलाई ठेक्कामा दिने सल्लाह

पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थल राम्ररी सञ्चालन हुन नसकेपछि वैकल्पिक उपायको खोजी हुन थालेको छ । नेपालजस्तो विकासोन्मुख देशमा सरकारको एकल स्वामित्व र व्यवस्थापनमा हवाई क्षेत्रको बजार व्यवस्थापन चुस्तदुरुस्त नहुने देखिएपछि विज्ञहरूले अनौपचारिक तवरबाट यस्तो राय व्यक्त गरेका हुन् ।

सरकारले आऊ आऊ भनेर आह्वान गर्दैमा, कसैलाई औपचारिक पत्र लेखेर निम्तो दिँदैमा अन्तर्राष्ट्रिय उडान सुचारु नहुने र नयाँ विकल्प खोज्नु श्रेयस्कर हुने विज्ञहरूको दाबी छ । यी दुवै अन्तर्राष्ट्रिय विमानस्थल घाटामा सञ्चालन गर्नुभन्दा पब्लिक प्राइभेट पार्टनरसिप, व्यवस्थापन करार, करार जस्ता प्रणालीलाई अपनाएर सञ्चालन गर्न उपयुक्त हुने बताइन्छ । केही विज्ञले भने पोखरा विमानस्थल चिनियाँँ कम्पनी र भैरहवा विमानस्थल जिएमआरजस्ता भारतीय कम्पनीलाई सञ्चालन गर्न ठेक्का दिंदा उपयुक्त हुने दाबी गरेका छन् ।

राजनीतिक र रणनीतिक हिसावले पनि यस्तो निर्णय फाइदाजनक हुने दाबी ती विज्ञको रहेको छ । भारतका प्रमुख ३ शहर र चीनका ३ प्रमुख शहरबाट हवाई उडान गरेमात्रै पनि यी विमानस्थलको रेखदेख र मर्मत सम्भार गर्ने खर्च जुट्छ । भौगोलिक अवस्थितिका कारण नेपालको उड्डयन क्षेत्र छिमेकी दुई मुलुकको हवाई नीतिले प्रभावित हुँदै आएको छ । 

स्रोतका अनुसार अहिले भैरहवा विमानस्थलको खर्च आन्तरिक उडान सेवाका कारण धानिएको अवस्था छ भने पोखरा विमानस्थल बोझिलो देखिएको छ । भैरहवा सफ्ट लोनमा निर्माण गरिएको विमानस्थल हो भने २५ अरब ऋण लगानीमा पोखरा विमानस्थलको निर्माण सम्पन्न भएको छ । एडिबीले नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि केही वर्षअघि एक अध्ययन गराएको थियो । सो अध्ययनमा विमानस्थल सञ्चालन गर्न सरकारले निजी क्षेत्रको सहभागितालाई ध्यान दिनुपर्ने निश्कर्ष निकालिएको छ ।

र, त्यतिकै विमानस्थल खाली राख्नुभन्दा निजी क्षेत्रको सहभागितामा सञ्चालन गर्न उपयुक्त अवसर भएको बारे अस्ति सोमबार नागरिक उड्डयन प्राधिकरणको बैठकमा छलफल भएको बुझिएको छ ।

टिप्पणीहरू