यस्ता सयौं सुदन भैदिउन्, नेपाल बन्न लाग्दैन बेर

यस्ता सयौं सुदन भैदिउन्, नेपाल बन्न लाग्दैन बेर

– अनन्त डुम्रे

सम्वत् २०८० जेठ २० गते अर्थात् ३ जुन २०२३ को बिहान सखारै फोनको घण्टी बज्यो । सात समुद्रपारि देवराज चापागाईंको आइडीबाट फोन आएको रहेछ । उहाँ छोरी युनिषा डुम्रेको श्रीमान अर्थात् मेरो ज्वाईं हुनुहुन्छ । मैले सामान्य शिष्टाचारबेगरै के भयो हजुर भनेर सोधें । त्यस्तो नराम्रो केही भएर होइन, युनिषा फ्लाई दुबईबाट अहिले ७.५५ मा त्रिभुवन विमानस्थलमा अवतरण हुँदैछिन्, त्यही भएर हजुरलाई फोन गरेको, बेडरेष्टमा भएकाले भाइलाई फोन गरिन भन्नुभयो । म हतारहतार नुहाईधुवाई गरी मेरो चालक डम्बरलाई लिएर विमानस्थलतर्फ लागें । निर्धारित समयभन्दा केही अगाडि विमानस्थल पुगिएको थियो । हवाईजहाज होल्डमा रहेको भन्सार अधिकृतबाट ज्ञात भयो ।

निर्धारित समयभन्दा २५/३० मिनेटपछाडि हवाईजहाज अवतरण भयो । केही बेरमा नातिनी देविषा हातमा पासपोर्ट भएको पर्स लिएर फुत्त बाहिर निस्किन् । पछिपछि छोरी युनिषा नवजात शिशु देभिनलाई काखमा च्यापेर आइन् । भन्सारको परीक्षणद्वार हुँदै तीनै जना म भएको ठाउँमा आइपुगे । हामी हर्षविभोर भयौं । एकछिन कसैको मुखबाट एक वाक्य पनि आएन । त्यत्तिकैमा हामी उभिएनेरकै पेटीमा सामान आउने सूचना प्रसारण भयो । युनिषा सामान हेर्नेतर्फ लागिन् । मैले नातिलाई काखमा लिएँ । पहिलेझैं देविषा सानी छैनन् । जिम्मेवारी लिनसक्ने भइसकेकी छन् । तर, २/३ दिनदेखिको अनिँदो, अस्तव्यस्त, त्यसमाथि पनि सधैं आफू बस्ने हजुरबुबाको काखमा भाइ बसेको कुराको असर मिश्रित नै रहेको हुनुपर्छ । हातमा रहेको पर्स भुइँमा खस्न पुग्यो । फस्नर पनि राम्रोसँग लागेको रहेनछ । प्रायः सबै कागजात भुइँमा छरिएपछि टिपेर मलाई दिइन् । मैले पहिलेदेखि लिएर राखेको ट्रलीको क्यारिजमा त्यो पर्सको चेन लगाएर राखें अनि आएका झोलाहरु ट्रलीमा राखेर भन्सार प्रक्रिया हुँदै बाहिर निस्कियौं । पहिलेजस्तो आफन्तले लिएर जान अहिले त्यति सजिलो रहेनछ । 

लामो दूरी पार गरी तल पार्किङमा एकैचोटि निस्कनुपर्ने अधिक असुविधा देख्दा यस्तो कुरामा विमानस्थल कार्यालयले किन विचार नपु¥याएको होला भन्दै तलतिर जाँदै थियौं । लिफ्टबाट झर्नुपर्ने भयो । दुई जना बच्चा, दुईवटा ट्रली, लिफ्टभित्र प्रवेश गर्न गाह्रो । हाम्रो अवस्था देखेपछि नेपाल प्रहरीको जवानले सहजीकरण मात्रै गर्नुभएन, तल निस्कने बेलासमेत भ¥याङबाट झरी सहयोग गर्नुभयो । छातीमा टाँगिने नाम त झट्ट देखिन । तैपनि तपाईंलाई धन्यवाद छ है भन्दै गाडी पार्किङ भएको ठाउँमा पुग्यौं । 

चालक डम्बर सामान मिलाउनतर्फ लागे । आस्था हामीले नजन्माएकी छोरी हुन् । उनले भाञ्जा देविनलाई देख्नासाथ काखमा लिएर रमाउन थालिन् । थाकेकी युनिषा हत्तपत्त गाडीमा गएर बसिन् । म लिएको पास फिर्ता गर्नतर्फ लागें । फर्केर हामी सरासर घरतर्फ लाग्यौं । घरमा आएर सबै अलमलमा प¥यौं । जानैपर्ने ठाउँमा जान भुलिएछ । भोलिपल्ट अर्थात्  २१ गतेको दिन पनि अलमलमै बित्यो । साँझपख सबै सरसामान मिलाउने क्रममा बल्ल पर्सको खोजी भयो । निकै खोजियो । कहीं, कतै भेटिएन । सबैको निद्राहराम भयो ।

२२ गते बिहान उठ्नेबित्तिकै के गर्ने होला भनेर सोचविचार गर्दा विदेशमा भए त कसैले भेट्यो भने खबर गर्ने र पु¥याइदिने व्यवस्था हुन्थ्यो, नेपालमा त्यस्तो अपेक्षा गर्नु कति उचित होला ? त्यसमा पनि कार्यालय परिसरबाहिरको कुरा, के पो होला र ? तैपनि कार्यालयभित्रै अन्यथा भएको भए त सिसी क्यामराबाट देख्न सकिन्छ नि भन्ने झिनो आशा लिएर २० गते चिनजान हुनुभएका भन्सार कर्मचारी भोजेन्द्र आचार्यजीलाई फोन गरी बेलिविस्तार सुनाइयो । आउनु न भित्रै भए त सिसी क्यामेरामा देखिन सक्छ भन्नुभयो । आफ्नो ड्युटी १२ बजेसम्म मात्रै भएकाले अलि अगाडि आउन आग्रह गर्नुभयो ।

सोहीबमोजिम गयौं । गेटमा उहाँ आफैं आउनुभयो, चेकजाँचमा बस्ने प्रहरी अधिकृतलाई संक्षिप्त विवरण सुनाउनु भएपछि उहाँले हाम्रो सहायता कक्ष बाहिर छ, एउटा निवेदन लिएर जानु, उहाँहरुले सबै सहयोग गर्नुहुन्छ भनेकाले त्यसतर्फ लाग्यौं । एकजना ३ तारे अधिकृत र अन्य दुई जना प्रहरी सहायता कक्षमा हुनुहुँदो रहेछ । उहाँहरुको आपसमा के कुरा हुँदै थियो, साँघुरो निकासमा हामी अल्मलिएको देखेर कुर्सीबाट उठ्दै बोलाउनुभयो । अनि के थियो भन्नुभयो । हामीले तीन दिनअगाडि एउटा पर्स छुटेछ भन्नासाथ कस्तो रंगको भन्नुभयो । हामीले रंग बताउनासाथ भन्नुभयो– हो, त्यो पर्स मैले नै कलेक्सन गरेको हुँ, तल बाहिर ट्रलीमा छाड्नुभएको रहेछ । त्यसमा फलाना फलानासमेतको पासपोर्ट, रातो खाममा रु. १००० र ५०० डलर रहेछ । त्यही हो ? भन्नुभएपछि नाम र रातो खामले हामीलाई त्यही नै हो भन्ने कुनै गाह्रो भएन ।

त्यसपछि एकजना प्रहरी जवानबाट सो पर्स ल्याउने प्रबन्ध मिलाइदिनुभयो । युनिषा पर्स लिनेतर्फ लागिन्, म त्यहीं बसेर कुरा गर्न थालें । हामीले त आसै मारेका थियौं, कसरी सम्भव भयो यो सब भनेर सोध्दा यस्ता धेरै काम गर्दछौं, प्रायःजसोले केही न केही भुलेकै हुन्छन् । अहिले रिङरोडदेखि नै सिसी क्यामराको कभरेज छ । यहाँबाट कसैले पनि अन्यथा गर्न सक्दैन, त्यसमा पनि ट्रलीहरुमा कसैको सामान छुटेको छ कि भनेर निगरानी पनि राख्छौं । पहिले बानेश्वर वृत्तमा रहेर धेरै समय काम गरियो, अहिले यहाँ आएको १०÷१५ दिन मात्रै भयो । सम्पर्क नम्बर नभएकाले तत्काल खबर गर्न सकिएन । हामी सम्पर्क गर्न कोसिस गर्दै थियौं । तपाईंहरु ढिलै भए पनि आउनुभयो, रामै भयो भन्दै जाँदा मेरो मनमा एउटा कुराले छोयो । हामी सधैं नराम्रो कुरा मात्रै गर्दछौं । त्यसमा पनि प्रहरीको विषयमा सकारात्मक कुरा गर्ने मानिस त शिला नै खोज्नुपर्छ । त्यही प्रहरी प्रशासनभित्रबाट यस्तो सहयोग पाउनु सामान्य कुरा होइन । यसले त राष्ट्रकै प्रतिनिधित्व गर्दछ । 

नेपालमा नराम्रो मात्रै होइन, राम्रो काम गर्ने मानिसहरु पनि छन् भन्ने यो घटनाले देखाउँछ । प्रहरीको मात्रै होइन, भन्सार कमचारीसमेतको सेवाभावले परिवर्तनको संकेत गर्दछ । यो परिवर्तनमा मा. मन्त्री सुदन किरातीको भूमिका के कति छ, यसै भन्न सक्दिन । तर, गोकर्णेश्वर नगरपालिका वडा नं. १ सुन्दरीजलमा श्यामबहादुर खड्का र देवी खड्काको पुत्रको रुपमा जन्मनुभएका वरिष्ठ सब इन्स्पेक्टर श्री सुदन खड्काको भूमिका सराहनीय लाग्यो । धन्यवाद छ सुदनलाई । तपाईंको सेवाभाव निरन्तर बढ्दै जाओस्, धेरै ठूलो कुरा गर्न पर्दैन । यस्तै सानासाना कामबाट नै देशको छवि सुन्दर बन्दै जान्छ, न कि ठुल्ठूला भाषणबाट ।
 

टिप्पणीहरू