एसईईको प्रश्नपत्र ‘लिक’ गर्ने विद्यार्थीको परीक्षा रद्द, निरीक्षक निलम्बित
आजदेखि शुरु भएको उच्च माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रश्नपत्र बाहिरिएपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । बाराको जयनगर चिउटाहास्थित रामचरित्र उच्च माध्यमिक विद्यालयमा परीक्षा दिइरहेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
एक विद्यार्थीले परीक्षा हलमा मोबाइल लगेर अंग्रेजीको प्रश्नपत्रको फोटो खिचेर बाहिर बसेका साथीलाई पठाएका थिए । सो फोटो केही बेरमै सामाजिक सञ्जालभर छरपस्ट भएको हो । परीक्षा शुरु भएको १५ मीनेटमै प्रश्नपत्र बाहिरिएपछि एसईई परीक्षालाई मर्यादित रुपमा सम्पन्न गर्न गठित मूल अनुगमन समितिले अनुसन्धान अघि बढायो ।
सो क्रममा विद्यार्थीले आफ्नो मोबाइलबाट फोटो खिचेर साथीलाई प्रश्नपत्रको तस्बिर पठाएको खुलेको हो । प्रश्नपत्र पठाउने र पाउने दुवैलाई कारबाही गरिसकेको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए । उनीहरुको आजको परीक्षासमेत रद्द गरिएको उनले जानकारी दिए ।
‘परीक्षा शुरु भएको १५ मीनेटमै प्रश्नपत्र बाहिरिएपछि हामीले अनुसन्धान शुरु गर्यौं । अनुसन्धान गर्ने क्रममा विद्यार्थीको साथबाट मोबाइल भेटिएको हो । उसलाई समातेर सोधपुछ गर्दा बाहिर भएको साथीको नाम बतायो । हामीले छानबिन गर्दा प्रश्नपत्र बाहिर गएपनि उत्तर भित्र आउन पाएको छैन । उनीहरुको आजको परीक्षा रद्द गरिएको छ । तर पर्सिबाट उपस्थित हुन पाउँछन्’, उनले भने ।
त्यस्तै, परीक्षा केन्द्रमा खटिएका दुई जना निरीक्षक, केन्द्राध्यक्ष, उप–केन्द्राध्यक्षलाई समेत निलम्बित गरिएको उनले बताए ।
टिप्पणीहरू