प्रधानमन्त्रीलाई निर्वाचन क्षेत्र छाडेकोमा डा. भट्टराईको पश्चाताप

प्रधानमन्त्रीलाई निर्वाचन क्षेत्र छाडेकोमा डा. भट्टराईको पश्चाताप
सुन्नुहोस्

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गतआम निर्वाचनमा गोरखा–२ निर्वाचन क्षेत्र प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई छाडेर आफूले गम्भीर गल्ती गरेको बताएका छन् । गृहजिल्ला भ्रमणका क्रममा गोरखा पुगेपछि उनले चुनावमा प्रचण्डलाई सहयोग गरेकोमा सार्वजनिक आत्मालोचना गरेका हुन् ।

गोरखाको २ नम्बर निर्वाचन क्षेत्र २०६४ देखि भट्टराईले जित्दै आएको क्षेत्र हो । तीनचोटी उक्त क्षेत्रबाट जितेपनि गत निर्वाचनमा भने उम्मेदवार बनेनन् । माओवादीसँग पार्टी एकता गर्ने सहमतिका साथ भट्टराईले त्यहाँ प्रचण्डलाई सघाएका थिए । 

तर, चुनावपछि माओवादीसँग पार्टी एकता नगर्ने निश्कर्षमा पुगेका डा. भट्टराई आफूले लगातार जित्दै आएको गोरखा–२ छोडेकोमा आफैँसँग असन्तुष्ट रहँदै आएका छन् । असल मनसायले प्रचण्डलाई सहयोग गरेपनि गलत परिणाम आएको उल्लेख गर्दै उनले अब उक्त गल्ती सच्याउनुको विकल्प नरहेको बताए । 

‘कहिलेकाहीँ असल मनसायले गरेको कामको गलत परिणाम आउँछ । जनसेवामा समर्पित इमान्दार मान्छेले त्यसलाई स्वीकारेर सच्याउन हिच्किचाउनु हुँदैन’, डा. भट्टराईले भनेका छन् । स्थानीय मतदाता र पार्टीका कार्यकर्ताले चुनाव नउठेकोमा आफ्नो आलोचना गरेको बताउँदै उनले अगाडि भने, ‘मासिक जिल्ला भ्रमणको क्रममा अत्यधिक जनसमुदाय र पार्टीका साथीहरूले मैले गत आम निर्वाचनमा गोरखा–२ बाट उम्मेदवार नबन्नु र प्रचण्डलाई छोडिदिनु गम्भीर गल्ती भयो ।’

भट्टराईले प्रधानमन्त्री प्रचण्डको कडा आलोचना गर्दै जनयुद्धका त्याग र बलिदानमाथि खेलबाड गरेको आरोपसमेत लगाएका छन् । भनिएको छ, ‘मैले देशमा ठूलो राजनीतिक क्रान्तिपछि राष्ट्रिय राजनीति पुनः सत्तादेखि सत्तासम्म र साम/दान/दण्ड/भेदको दुष्चक्रमा फस्दै गएको, हिजोका क्रान्तिकारी नेताहरू मूल्य मान्यता र आदर्शबाट तीब्र गतिमा स्खलित हुँदै गैरहेको, ठूलो जनबलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्दै गैरहेको, जनताका सुशासन र समृद्धिका आकांक्षामा गम्भीर तुषारापत भैरहेको सन्दर्भमा आफू सदन र सरकारमा नगई पार्टी र सडकका मञ्चवाट सफा र जनमुखी राजनीतिको पैरवी गर्नु र सत्तासीनहरूलाई खबरदारी गरिरहनु उपयुक्त हुने ठानेर साथीहरूलाई जानकारी गराएरै सो निर्णयमा पुगेको हुँ ।’

तर, निर्वाचनयता प्रचण्डको सत्तालिप्सा र दोधारे चरित्र झन् नांगो रूपमा प्रदर्शित हुँदै गइरहेको र उल्टै आफूले निःस्वार्थ गरेको सहयोगको बदलामा अनर्गल झुट र जालझेलका प्रपञ्च रचेर चरम अशोभनीय हर्कत गरेको भट्टराईको आरोप छ । जनयुद्धमा लाखौं जनताको अतुलनीय त्याग र बलिदानलाई प्रचण्डले सत्तास्वार्थसँग साटेर सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता सम्बन्धी आयोगका काम टुंग्याउनुको सट्टा खेलबाड गरेको उनको दाबी छ । 

त्यसबेला माओवादी केन्द्रसँग पार्टी एकता गर्ने शर्तमा नेपाल समाजवादी पार्टीले आफ्ना उम्मेदवारलाई हँसिया हथौडामा चुनाव लडाएको थियो । माओवादीकै चिन्हबाट चुनाव जितेर सांसद भएका सो पार्टीका अर्का अध्यक्ष महिन्द्र राय यादव प्रचण्डको अघिल्लो क्याबिनेटमा मन्त्रीसमेत थिए । सहअध्यक्ष गंगानारायण श्रेष्ठ बाग्मती प्रदेशको आन्तरिक मामिला मन्त्री छन् । 

डा. भट्टराईले प्रचण्डलाई धोकेबाज भनेपनि नेपाल समाजवादी पार्टीका अधिकांश नेताहरुले पार्टीमा विद्रोह गरेर माओवादीसँग एकताको तयारी गरेका छन् । भट्टराई पूर्वसहमति अनुसार एकताका लागि तयार नभएको भन्दै अध्यक्ष यादव, सहअध्यक्ष श्रेष्ठ, महासचिव रमेश यादवलगायतका नेताहरुले ‘विद्रोह’ गरेका हुन् । 

जनयुद्धको कठिन समयदेखि राजनीतिकरुपले भट्टराई कमजोर रहेको पछिल्लो अवस्थासम्म निरन्तर साथ दिँदै आएका उनका स्वकीय सचिव विश्वदिप पाण्डेसमेत हालै माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
 

टिप्पणीहरू