योजना छनोटको शैली बदल्न माधव नेपालको सुझाव

योजना छनोटको शैली बदल्न माधव नेपालको सुझाव

सत्ता साझेदार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले योजना छनोटको प्राथमिकीकरणमा राज्य चुकेको बताउनुभएको छ । 

आज राष्ट्रिय विकास परिषद्को बैठकमा उहाँले सो धारणा राख्नुभएको हो । अध्यक्ष नेपालले अध्ययन बिनै हचुवाका भरमा योजना छनोट गर्ने परम्परागत शैली परिवर्तन गर्नुपर्नेमा पनि जोड दिनुभयो । अर्थ र योजनाविज्ञहरुले विकाससँग सम्बन्धित समस्या पहिचान गरि त्यसको निराकरण गर्न नसकेको उहाँको भनाई छ । 

‘हाम्रा विज्ञहरुले, अर्थ विज्ञहरुले, योजना विज्ञहरुले विकासका समस्या के हुन् ? त्यो समस्याहरुलाई हामीले पहिल्याउन सकेका छौँ की छैनौँ । यो जम्मै पक्षहरुमा जसरी हामीले अझै  ध्यान दिनुपर्ने हो, पुगेको छैन की जस्तो लागेको छ', अध्यक्ष नेपालले भन्नुभयो, 'हामी हचुवा पाराले काम गर्छौं । एकै पटक सबै ठाउँमा अस्पताल बनाउने कुरा सोच्छौँ । जहाँ जहाँ आयो, त्यहाँ त्यहाँ हामी हवाई मैदान बनाउँछौँ, कहाँ बनाउने, कुनलाई प्राथमिकता दिने, कहाँ कति बजेट छुट्याउने ? यसमा प्राथमिकीकरणको कमी छ ।'

हचुवा पाराले काम गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले समस्याहरुको पहिचान र अनुसन्धानमा गरिने खर्चले नै योजना प्राथमिकीकरणमा मद्दत पुग्ने बताउनुभयो । उहाँले 'गेम चेन्जिङ प्रोजेक्ट'हरुको छनोट गर्न नसकेको जिकिर पनि गर्नुभयो ।

'बजेटको महत्वपूर्ण हिस्सा भनेको प्रत्येक क्षेत्रको गहिरो अध्ययन गर्ने कुरामा हो । अनुसन्धान गर्ने कुरामा । समस्याहरुको पहिचान गर्ने कुरामा खर्च गर्नुपर्छ । जति धेरै विज्ञहरुलाई, जति धेरै त्यस क्षेत्रका जानकारलाई परिचालित गर्नसक्यौँ, त्यति धेरै हामी सही निस्कर्षमा पुग्न सक्छौँ',उहाँले थप्दै भन्नुभयो, 'यस क्षेत्रमा अझै पनि अपेक्षित मात्रामा हाम्रो ध्यान पुगेको छैन । हामीले हवाई मैदान त बनायौँ, तर जहाँ बनाउनुपर्ने हो, पहिलो प्राथमिकता दिनुपर्ने हो, त्यो छैन । गेम चेन्जिङ प्रोजेक्ट के-के हुन् त ? प्रत्यक्ष प्रभाव पार्नसक्ने क्षेत्र कुन-कुन हुन्, त्यसको अध्ययन हामीले गर्न सक्यौँ की सकेनौँ । मैदान होस् वा चाहे अरु कुनै क्षेत्रमा लगानी गर्ने कुरा होस् । त्यसमा अध्ययन हुनुपर्छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले कृषिको निम्ति व्यापक योजना आउनुपर्ने आवश्यकतामाथि पनि जोड दिनुभएको छ । निर्यात प्रवद्र्धन र राजश्व वृद्धि गर्ने कुरामा सरकारले विशेष ध्यान दिन जरुरी रहेको उहाँको भनाई छ ।
 

टिप्पणीहरू