स्थानीय तहमा एमालेका दुईथरी इञ्चार्ज

स्थानीय तहमा एमालेका दुईथरी इञ्चार्ज

पार्टी एउटै, स्थानीय तह उही तर इञ्चार्ज भने अलग अलग । यो अवस्था दार्चुलाका स्थानीय तहमा एमालेभित्र देखिएको छ । गत पुस १८–२१ मा सम्पन्न नवौं जिल्ला अधिवेशनबाट निर्वाचित कमिटीले माघ २८ गते सबै स्थानीय तह र जिल्लाभरिका ६१ वटै वडामा इञ्चार्ज तोकेको थियो ।

सुदूरपश्चिम प्रदेश कमिटीले चैत २४ गते नौवटै स्थानीय तहमा अलग्गै इञ्चार्ज तोकेपछि एउटै स्थानीय तहमा दुईथरी इञ्चार्जको अवस्था आएको हो। चैत २४ गते धनगढीमा सम्पन्न प्रदेश कमिटीको तेस्रो बैठकले जिम्मेवारी निर्धारण गरेको छ । जबकि यसअघि माघ २८ मा जिल्ला कमिटीको दोस्रो बैठकले आफ्ना पदाधिकारी र वरिष्ठ सदस्यहरूलाई स्थानीय तहको इञ्चार्ज तोकेको थियो । 

एउटै भूगोल र कार्यक्षेत्रमा इञ्चार्ज तोकेपछि अन्योलता देखिएको छ । प्रदेश कमिटीले आफ्नोस्तरबाट इञ्चार्ज तोकेपछि जिल्लाबाट दिइएको जिम्मेवारी पुनरवलोकन गरिने जिल्ला सचिव उमेशराज जोशीले बताउनुभयो ।

दार्चुलाको महाकाली नगरपालिकामा हिरादेवी अवस्थी र शैल्यशिखर नगरपालिकामा विजयसिंह धामीलाई इञ्चार्ज बनाइएको छ । अवस्थी सदरमुकाम खलंगा क्षेत्रकी अग्रणी नेत्री हुन् भने धामी शैल्यशिखर नगरपालिकाका प्रमुख पनि हुन् । 

मालिकार्जुन गाउँपालिका अध्यक्षसमेत रहनुभएका हिरासिंह धामीलाई पालिकाको इञ्चार्ज पनि बनाइएको छ । व्यास गाउँपालिका इञ्चार्जमा नगेन्द्र तिंकरी, दुहुँ गाउँपालिकामा गौरी बडाल, नौगाड गाउँपालिकामा लालबहादुर धामी, अपिहिमालमा उर्मिला बोहरा, लेकममा राम टमटा र मार्मा गाउँपालिका इञ्चार्जमा उमेशसिंह खत्रीलाई जिम्मेवारी दिइएको छ । दार्चुलाका नौवटा स्थानीय तहमध्ये तीन पालिकामा नेत्रीहरू इञ्चार्ज छन् । यसअघि जिल्ला कमिटीले उपाध्यक्ष परमानन्द जोशीलाई लेकम गाउँपालिकाको इञ्चार्ज बनाएको थियो । उपसचिव कर्णबहादुर खडायतलाई शैल्यशिखर नगरपालिका इञ्चार्ज र नारायणदत्त भट्टलाई महाकाली नगरपालिकामा खटाइएको छ । 

जिल्ला कमिटीले मालिकार्जुनमा रणबहादुर पाल, मार्मामा खेमराज जोशी, नौगाडमा मंगलसिंह ठगुन्ना, अपिहिमालमा शान्तिबोहरा धामी, दुहुँमा देवबहादुर बम र व्यास गाउँपालिकामा भगतसिंह ऐतवाललाई पार्टी इञ्चार्ज बनाइसकेको छ । जिल्ला कमिटी सदस्यहरूबाटै ६१ वटै वडामा इञ्चार्ज बनाइएका छन् । 

प्रदेश कमिटीले दार्चुलाको प्रदेशसभा १ निर्वाचन क्षेत्रमा मोहनसिंह धामी र प्रदेशसभा २ निर्वाचन क्षेत्रमा देवसिंह महरालाई इञ्चार्ज बनाएको छ । १ सय ५५ सदस्यीय प्रदेश कमिटीमा दुई दर्जन सदस्य थपिँदा दार्चुलाबाट ३ जना समेटिएका छन् । निवर्तमान जिल्ला अध्यक्ष प्रेमसिंह धामी र माओवादी पृष्ठभूमिबाट भित्रिएका कृष्णसिंह धामी हिमाल र लालबहादुर बिक अभिषेकलाई प्रदेश कमिटी सदस्यमा मनोनित गरिएको छ । ०७९ मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनमा एमालेबाट उम्मेदवार रहेका रामदत्त जोशी र हरदेव जोशी भने प्रदेश कमिटीमा अटाएनन् । 

पुसमा सम्पन्न जिल्ला अधिवेशनबाट पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्नासँग दूरी बढेकाले दुबै जनालाई प्रदेश कमिटीमा अटाउन नसकिएको चर्चा सुरु भएको छ । दार्चुलामा एमालेको संस्थापक नेतामध्ये रहेका रामदत्त जोशी अचेल गाउँघरको एकान्तवासमा छन् । बालकोटसम्म राम्रो पहुँच भएका अर्का नेता हरदेव जोशीले दौडधुप गरे पनि प्रदेश कमिटीमा स्थान पाएका छैनन् । 

देशभक्त नेता स्वर्गीय प्रेमसिंह धामीकी धर्मपत्नी नन्दालाई प्रदेशस्तरीय ज्येष्ठ कम्युनिष्ट मञ्चको उपाध्यक्ष बनाइएको छ । यसअघि प्रदेश कमिटी रहेको धामीले केही महिनादेखि सक्रियता घटाएको छन् । अहिलेसम्मका कुनै पनि निर्वाचनमा पार्टीले उम्मेदवारसम्म नबनाएकोमा उनको असन्तुष्टि छ । पछिल्लो समय एमालेले स्व. नेता धामीको परिवारलाई फकाउने प्रयास गरेको छ । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू