राष्ट्रिय गौरवका आयोजना अनुगमन गर्न छुट्टै निर्देशिका

राष्ट्रिय गौरवका आयोजना अनुगमन गर्न छुट्टै निर्देशिका

ठूला आयोजनाहरुको कार्यान्वयन अनुगमनका लागि सरकारले छुट्टै निर्देशिका ल्याउने तयारी गरेको छ ।

राष्ट्रिय गौरवका आयोजनासमेत निर्धारित समयमा सम्पन्न नभएको गुनासो बढिरहँदा सरकारले छुट्टै निर्देशिका ल्याएर अनुगमन प्रभावकारी बनाउन लागेको हो । आज राष्ट्रियसभा बैठकमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्‍ट्रिय गौरवका आयोजना र पहिलो प्राथमिकता प्राप्‍त ठूला परियोजना संयुक्त अनुगमन गर्नेगरी निर्देशिका ल्याउन लागेको जानकारी दिनुभयो । 

उहाँले राष्ट्रिय गौरवका आयोजनाको काम प्रभावकारी बनाउन संयुक्त अनुगमनको आवश्यक प्रवन्ध गर्न राष्ट्रिय योजना आयोगको र सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइसकेको बताउनुभयो ।   

‘ठूला आयोजना कार्यान्‍वयनको अनुगमनका लागि छुट्टै निर्देशिका जारी गर्ने तयारीमा सरकार रहेको छ । राष्ट्रिय योजना आयोगको संयोजनमा राष्‍ट्रिय गौरवका तथा रूपान्तरणकारी आयोजना र पहिलो प्राथमिकता प्राप्‍त ठूला आयोजनाको संयुक्त अनुगमन गरी प्राप्‍त पृष्‍ठपोषणलाई तत्काल कार्यान्वयन गर्ने व्यवस्था मिलाई निर्धारित लागत र समयसीमाभित्रै आयोजना सम्पन्‍न हुने सुनिश्‍चित गर्न राष्‍ट्रिय योजना आयोग र सम्बन्धित मन्‍त्रालयहरूलाई हिजै मात्र मैले राष्ट्रिय विकास समस्या समाधान समितिको बैंठकमा निर्देशित गरिसकेको छु', उहाँले भन्नुभयो ।

टिप्पणीहरू