सुन्तली–धुर्मुस र थपलियाको साइनो

सुन्तली–धुर्मुस र थपलियाको साइनो
सुन्नुहोस्

साढे तीन दशक सरकारी सेवा गरेका दिनेश थपलिया कडा प्रशासक हुन्, अहिले प्रमुख निर्वाचन आयुक्त छन्, त्यही कुर्सीमा बसेर दुई वटा संघीय, स्थानीय र प्रदेश सभाको निर्वाचन सम्पन्न गराए । यो विषय धेरैलाई ज्ञात छ तर यिनै थपलिया प्रणयदेखि राष्ट्रभावले ओतप्रोत भएका गीत लेख्ने एक सिद्धहस्त गीतकार पनि हुन् भन्ने कमैलाई जानकारी हुन सक्छ । 

हालै उनैको शब्द रहेको ‘भगवान कस्सम’ गीत सार्वजनिक भएको छ । धुर्मुसका भाइ कुमार कट्टेल ‘जिग्री’ले सीताराम कट्टेल र कुञ्जना घिमिरेको १५ औं वैवाहिक वर्षगाँठको अवसरमा सार्वजनिक गरेको गीतमा शब्द लेख्ने उनै थपलिया हुन् । मुस्लिम युवक र हिन्दू युवतीबीचको प्रेम कथालाई थपलियाले शब्दमार्फत गीतमा उतारेका छन् । भिडियोमा धुर्मुसलाई मुस्लिम युवक र सुन्तलीलाई हिन्दु युवतीको रुपमा देख्न पाइन्छ ।

भिडियो सार्वजनिक भएको साता दिनमै साढे पाँच लाख दर्शकले हेरिसकेका छन् । भनिन्छ, कुनै पनि गीतको शब्द भनेको शरीरको अस्थिपञ्जरजस्तै हो । शब्द थुपार्ने मात्र होइन कि शरीरका रोम रोम हल्लाउने शब्द लेख्न सिद्धहस्त मानिन्छन् दिनेश थपलिया । राष्ट्रप्रेम, प्रणय, भजनसमेत गरी एक सय असीभन्दा बढी गीत लेखिसकेका थपलियाका अधिकांश गीत युट्युबमा करोडभन्दा बढीले हेरेका छन् । 

सात वर्षअघि उनैले एउटा गीत लेखे ‘तिमीलाई देखेपछि आइ लभ यु आइ लभ यु भन्न मन लाग्यो’ जहाँ सीताराम कट्टेल, कुञ्जना घिमिरे, पल शाहलगायतले मोडलिङ गरेका छन् । यो गीति भिडियोलाई अहिलेसम्म ४ करोड २३ लाखभन्दा बढीले युट्युबमा हेरेको देखिन्छ । थपलियाको शब्द रहेको अर्काे चर्चित गीत छ, मायालु तिमी कता छ्यौ । चार वर्षअघि सार्वजनिक भएको यो गीत पछिल्लो समय गायन क्षेत्रमा चर्चित गायिका स्मिता दाहाल, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी नातिनी र राजनराज शिवाकोटीले गाएका थिए । जसलाई ३ करोड आठ लाखभन्दा बढीले हेरेका छन् ।

यसकै भाग २ पनि लेखे थपलियाले । मायालु तिमी भाग–२ । जसलाई १ करोड ४३ लाखले हेरेको देखिन्छ । यस्तै पाँच वर्षअघि धुर्मुस सुन्तलीको १० औं वैवाहिक वर्षगाँठको अवसरमा सार्वजनिक ‘म जुन दिनदेखि तिम्रो राजा बनेँ, तिमी बन्यौ रानी’, ‘उनी र म’ भन्ने म्युजिक एल्बमको गीत लेख्ने पनि थपलिया नै हुन् । धुर्मुस सुन्तली र दिनेश थपलियाको सांगीतिक सम्बन्ध पुरानै हो । थपलियाले लेखेका अधिकांश गीतमा धुर्मुस–सुन्तलीले अभिनय गरेका छन् ।
 

टिप्पणीहरू