आर्थिक पहुँच महिला सशक्तिकरणको मुख्य आधार : प्रधानमन्त्री प्रचण्ड

आर्थिक पहुँच महिला सशक्तिकरणको मुख्य आधार : प्रधानमन्त्री प्रचण्ड
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तिकरणका लागि उनीहरुको आर्थिक पहुँच विस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ । 

महिला उद्यमी महासंघले आयोजना गरेको ७ औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको आज ललितपुरमा उद्घाटन गर्दै उहाँले महिलाहरु आर्थिक हिसावले सशक्त नभइ साँचो अर्थमा सशक्तिकरण हुनै नसक्ने बताउनुभयो । आधा आकाश ओगट्ने महिलालाई नसमेटिकन चम्किलो धर्तीको कल्पना गर्न नसकिने प्रधानमन्त्रीको भनाई छ । 

महिलाको आत्मसम्मान, पहिचान र प्रतिनिधित्व सुनिश्चित गर्न आफूले ठूलो संघर्षको नेतृत्व गरेको उल्लेख गर्दै उहाँले राजनीतिले मात्रै आर्थिक सवलीकरण गर्न नसक्ने बताउनुभयो । 

'आधा आकाश ओगट्ने महिलालाई नसमेटिकन चम्किलो धर्तीको कल्पना गर्न सकिँदैन । मैले राजनीतिक नेतृत्वमार्फत महिला सशक्तिकरणका लागि सबै क्षेत्रमा महिलाको आत्मसम्मान, पहिचान र प्रतिनिधित्व सुनिश्चित गर्नको निम्ति निकै ठूलो संघर्षको नेतृत्व गर्ने अवसर मैले प्राप्त गरेको छु', प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, 'र राजनीतिक रुपमा स्थानीय सरकारदेखि प्रदेश र केन्द्र सरकारसम्म पनि महिलाहरुको राम्रो उपस्थिति हुन गएको छ । तर जबसम्म आर्थिक रुपले सबल, आर्थिक रुपले सम्पन्न बनाउन सकिँदैन, साँचो अर्थमा महिला सशक्तिकरण पनि हुन सक्दैन ।' 

त्यसक्रममा उहाँले महिला उद्यमशिलताको माध्यमबाट उनीहरुको सामाजिक तथा आर्थिक सशक्तिकरण गर्न महिला उद्यमी कोष स्थापना गर्नुपर्ने महासंघको मागलाई आफूले सकारात्मक रुपमा लिएको पनि बताउनुभयो । महिला उद्यमीको नेतृत्वमा सञ्चालन भइरहेका उद्योगहरुलाई प्रवद्र्धन, कर छुट लगायतका सुविधा उपलब्ध गराउन सरकारले पहल गर्ने उहाँको भनाई छ । 

'सातवटै प्रदेशका ६१ वटा जिल्ला ओगटेको यो महासंघमा ५२ सय भन्दा बढी महिला उद्यमी हुनु आफैँमा खुशी र गर्वको कुरा पनि हो ', प्रधानमन्त्रीले भन्नुभयो, 'महासंघको यो विशाल सञ्जाललाई सदुपयोग गर्दै उद्यममार्फत महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने अभियानमा सरकार हातेमालो गर्न तयार छ ।'

टिप्पणीहरू