‘रविको आलोचना किन गरेको ?’ भनेपछि खरेलद्वारा रास्वपा परित्याग

‘रविको आलोचना किन गरेको ?’ भनेपछि खरेलद्वारा रास्वपा परित्याग

पूर्वडीआइजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेका छन् । रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेको कार्यशैलीप्रति असन्तुष्ट रहँदै आएका उनले सो पार्टीका महामन्त्री मुकुल ढकाललाई राजीनामापत्र पठाएको बुझिएको छ । 

गत वर्षको उपनिर्वाचनमा रास्वपाको तर्फबाट बारा–२ मा उम्मेदवार बनेका खरेल पछिल्लो समय राजनीतिमा निस्क्रिय रहँदै आएका थिए । हाल स्पेस फोरके टेलिभिजनमा ‘जनता जनार्दन’ नामको कार्यक्रम चलाइरहेका उनले दुई साताअघिको अंकमा रवि लामिछानेको चर्को आलोचना गरेका थिए । 

लामिछानेले आफू गृहमन्त्रीसहित सरकारमा जाने निर्णय गरेकोप्रति आलोचना गर्दै खरेलले भनेका थिए, रास्वपा पनि उस्तै देखियो । जुन जोगी आए पनि कानै चिरेको !’ 

कार्यक्रमको अर्को अंकमा पनि उनले लामिछानेमाथि कटाक्ष गरेका थिए । सहकारी ठगी प्रकरणमा मुछिएको मान्छेलाई मन्त्री बन्न कति हतार भएको भन्दै उनले भनेका थिए, ‘गृहमन्त्रीज्यू, प्रश्न त तपाईंमाथि पनि छ नि, सहकारी ठगी प्रकरणबारे तपाईंले जवाफ त दिनैपर्छ ।’ 

खरेलले टेलिभिजनमार्फत् लगातार सभापतिको आलोचना गरेपछि रास्वपाको अनुशासन समितिले स्पष्टीकरण सोधेको थियो । तर खरेलले स्पटीकरणको जवाफ दिनुको सट्टा राजीनामा पत्र पठाएको बताइएको छ ।

टिप्पणीहरू