सैनिक प्रहरीमा यस्तो शासन

सैनिक प्रहरीमा यस्तो शासन

अनुशासनहीन सेनालाई समात्ने र थुन्ने सैनिक प्रहरी गणबाट भर्खरै वार कलेजमा सरुवा भएका गणपति दिनेश गौतमको अत्याचारबारे जानकारी दिन मन लाग्यो । लमजुङ घर भई हाल सुकेधारा बस्ने उनको यो चौथो कमाण्ड हो ।

नाम्चेमा गुल्मपति हुँदा निकुञ्जको वार्डेन र गाविस अध्यक्षसँग मिली कस्तुरी मृग मारेर सोको बीना आफ्नो घरमा ल्याएका थिए । रुकुममा गणपति हुँदा ठेकेदारसँग मिलेर जवानलाई स्तरहीन खाना खुवाए । उनी सुदूरपश्चिम पृतना शिक्षालय चिसापानीमा हाकिम हुँदा बर्दियाका चित्तल मारी सुकुटी बनाएर घर लगे । एमपीका पूर्वगणपति मोहन थापाले उपरथी प्रेम शाहीलाई हिरासतमा राख्दा फोन गर्न दिएको अभियोगमा २४ घण्टे सरुवा गरिएपछि चिफ साहेबको सहायक अधिकृत विष्णु खड्काको सिफारिसमा भाग्य जुरेको हो ।

०८० असारमा वीरेन्द्र सैनिक आवासीय महाविद्यालय सल्लाघारीमा सुरक्षा दिन तैनाथ इन्द्रबक्स गणको प्युठ अर्जुन पराजुलीको रहस्यमय मृत्युको वास्तविकता लुकाई प्रधान सेनापतिलाई गुमराह पारे । राति मापसे गरेर बाहिरबाट फर्कने क्रममा टाउकोमा चोट लागेका अर्जुन पराजुलीको मृत्यु भएपछि गणपति मोहन थापाले दिनेश गौतमलाई रिपोर्ट गरेको र ब्यारेकभित्र मरेको व्यक्तिलाई जिउँदै छ भनी भोलिपल्ट बिहान सैनिक अस्पतालमा लगेकोमा प्रकृति मुचुल्काका लागि प्रहरीलाई ढिलो बोलाएर घटनालाई फितलो बनाउन मुख्य भूमिका खेलेको प्रष्ट छ । प्रमाण नष्ट गर्नका लागि सिसिटिभी फुटेजसमेत हटाउन लगाइएको गुनासो छ । 

ताराध्वज पाण्डे चिफ भएपछि उहाँको सैनिक सहायक मै हुँ भन्दै कुर्लनसम्म कुर्लिए । तारा जर्साहेब बीचैमा घर गएपछि अशोक जर्साहेबको पालो आयो । उहाँबारे पत्रपत्रिकामा नकारात्मक टीका–टिप्पणी हुन थालेपछि यिनलाई प्रेम शाहीलाई झैँ खोरमा जाक्नुपर्छ भन्दै हिँडे ।

गणमा सरकारी कामका लागि सवारी साधन चलाउन इन्धन अभाव हुँदा पनि हरेक दिन बिहान–बेलुका पल्टनको गाडीमा घर आउने जाने गर्छन् । तर, जवानको श्रीमतीलाई सुत्केरी व्यथा लाग्दा ‘तेरो स्वास्नीलाई मैले पेट बोकाएको हो र गाडी दिनुपर्ने !’ भनी निराश पार्छन् । यिनले गणमा जवानलाई रासन मनी र टिएडिए दिएको कुनै रेकर्ड छैन । चिफ साहेबले मलाई शान्ति सेनाको कमाण्डमा पठाउन लाग्नुभएको छ भनी फुर्ती लाउँछन् । 

– सैनिक प्रहरी गणका प्रत्यक्षदर्शी जवानहरू 

 

टिप्पणीहरू