प्रदिप र प्रेमको यो कस्तो पिरती

प्रदिप र प्रेमको यो कस्तो पिरती
सुन्नुहोस्

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले डेढ दशकमा जम्मा पारेको अकुत सम्पत्ति विवरण जनआस्थामा नियमित प्रकाशन हुँदै आएको छ ।

सम्पत्ति शुद्धीकरण र अख्तियारबाट जोगिन उनले आफ्ना अति विश्वासपात्र ठेकेदारहरूको नाममा घर जग्गा राखेको देखिन्छ । अर्कोतर्फ उनै विश्वासपात्रहरूलाई प्राधिकरणका अधिकांश ठेक्का दिइएको प्राप्त विवरणले पुष्टि गरेको छ । प्राधिकरणका सबैजसो ठेक्का उमा एण्ड कम्पनीलाई दिइएको छ । प्रेमप्रकाश ढकाल सोही कम्पनीका मालिक हुन् ।

अधिकारी र ढकालबीचको सहकार्य नौ वर्षअघि पोखराबाट शुरु भएको हो । हालका महानिर्देशक प्रदिप पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आयोजना प्रमुख भएपछि विमानस्थलका ठेक्का सेटिङमा उमा एण्ड कम्पनीलाई मज्जैले सामेल गराइएको कागजात छ ।

काठमाडौं, पोखरा, भैरहवा, जनकपुरलगायत भएभरका विमानस्थलको ठूला आयोजनामा ठेक्का लगाउनुअघि नै प्रक्रिया मिलाउने गरिएको तथ्य खुुलेको छ । प्राधिकरण स्रोतका अनुसार ठेक्काको क्राइटेरिया तोकिँदा नै सीमित प्रतिस्पर्धाको नियत राखिन्छ । उमा एण्ड कम्पनीको अनुभव, क्षमताको सर्टिफिकेट हेरेर जनरल तथा स्पेसिफिक धेरै वटा ठेक्का तोकिएको छ । सोही कम्पनीसँग मिलेर अफिस इस्टिमेट लिक गराउने र उमाले टेण्डर हाल्ने गरेको धेरै वटा प्रमाण सोहीबमोजिम छ ।

शंका निवारणको निम्ति कतिपय अवस्थामा अन्य ठेकेदार कम्पनीलाई रकम बाँडचुड गर्ने वा अर्को ठेक्काको आश्वासन दिएर तिनलाई डिसक्वालिफाई गरेपछि उमा एण्ड कम्पनीलाई ठेक्का मिलाइदिने गरिएको स्रोतको दावी छ । ‘महानिर्देशकज्यू नै उक्त कम्पनीको अदृश्य साझेदार अर्थात् स्लिपिङ पार्टनर हुन् । कुकुरलाई मासुको जिम्मा दिएपछि त्यसको हालत के हुन्छ, आफैँ विचार गर्नुस्,’ प्राधिकरणबाट अवकाशप्राप्त एक जना उच्च अधिकृतले जनआस्थालाई बताए । कतिपय अवस्थामा सेटिङ मिलाएर लिइएको ठेक्का निश्चित प्रतिशत नाफा छुट्याई अन्य ठेकेदारलाई बेच्ने गरिएको पनि पाइएको छ ।

त्यससम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत प्राधिकरणसँग पटक पटक चासो राखेको छ । झण्डै छ महिनाअघि आयोगले ठेक्काको सबै विवरण मागेपछि प्राधिकरणले एक महिना लगाएर प्रतिवेदन तयार गरेको थियो । पछिल्लो पाँच वर्षमा प्राधिकरणले गराएका विभिन्न ठेक्कामध्ये उमा एण्ड कम्पनी र उसले साझेदारी गरेका कम्पनीमार्फत् २८ वटा निर्माण गरेको पाइएको छ । 

प्राप्त विवरणमा एरोड्रम इञ्जिनियरिङ विभागबाट भएको ठेक्काअन्तर्गत विभिन्न मितिमा झण्डै १ खर्ब ४५ अर्बको पाँच वटा टेण्डर आह्वान गरिएको थियो । २०७७ फागुनमा जनकपुर विमानस्थलका विभिन्न कार्य गर्न उमा, काष्ठमण्डप र जगदम्बा ज्वाइन्टभेञ्चरसँग ३ करोड ७९ लाख १५ हजार ५११ रूपैयाँ ९५ पैसाको सम्झौता भएको थियो । काम सम्पन्न भएको प्रतिवेदनपछि ती कम्पनीलाई ३ करोड ६६ लाख ३७ हजार २३८ रूपैयाँ २८ पैसा भुक्तानी गरिएको प्राधिकरणको खर्च अभिलेखमा उल्लेख छ ।

त्यसपछि २०७८ पुस २५ गते महेन्द्रनगरको बन्द विमानस्थल बनाउन कान्छाराम, के.एस, उमा एण्ड कम्पनी जेभीलाई ४५ करोड ६६ लाख २४ हजार ७१४ रूपैयाँ ९५ पैसाको ठेक्का दिइयो । निर्माण कार्य जारी रहेको भनिएको विमानस्थलमा हालसम्म ती ठेकेदार कम्पनीलाई ८ करोड १० लाख १७ हजार २१४ रूपैयाँ २९ पैसा भुक्तानी दिइसकिएको छ । मुगुको रारा विमानस्थलमा पनि नाली बनाउने, स्लोप कटान गर्ने नाममा उमा एण्ड कम्पनीको जेभीलाई २१ करोड ६८ लाख ९८ हजार ५०७ रूपैयाँ ५२ पैसाको ठेक्का दिइएको छ । २०७८ असारमा उमा, मृत सञ्जिवनी र गल्वा जेभीसँग गरिएको सम्झौतापछि हालसम्म १० करोड ३९ लाख ९३ हजार ७६९ रूपैयाँ ८ पैसा भुक्तानी भएको जनाइएको छ ।

काभ्रेपलाञ्चोक र भक्तपुरको सीमानास्थित नलिञ्चोकमा हेलिकोप्टर एअरपोर्ट बनाउन १३ करोड ५१ लाख ३४ हजार २९३ रूपैयाँ ३३ पैसा खर्च गरिएको छ । उमा एण्ड कम्पनी र काली जेभीसँग २०७९ साउनमा गरिएको सम्झौतापछि निर्माण सम्पन्न गरेर १३ करोड ५० लाख ४६ हजार ७४३ रूपैयाँ ७७ पैसा भुक्तानी दिइसकिएको प्राधिकरण स्रोतले बतायो ।

उता कालिकोटमा पनि महानिर्देशक साझेदार रहेको भनिएको ठेकेदार कम्पनी उमालाई नै ३ करोड ३३ लाख ९३ हजार ७१० रूपैयाँ २८ पैसामा कालिकोट विमानस्थलका विभिन्न कार्य गर्ने जिम्मा दिइएको थियो । २०७६ साउनमा गरिएको सम्झौतापछि निर्माण सम्पन्न भएको जनाउँदै ती कम्पनीलाई ३ लाख रूपैयाँ बढी भुक्तानी दिइएको पाइएको छ । बजारमा सामाग्री र सेवाको मूल्यवृद्धि भएको जनाउँदै प्राधिकरणले ३ करोड ३६ लाख ६४ हजार ४३४ रूपैयाँ ७० पैसा भुक्तानी गरेको हो । यी सबै ठेक्का एरोड्रम इञ्जिनियरिङसँग सम्बन्धित हुन् ।

प्राधिकरणले हवाई यातायात क्षमता अभिवृद्धिअन्तर्गतका ठेक्का पनि उमालाई नै दिएको देखिन्छ । १५ नोभेम्बर २०१९ मा गरिएको सम्झौतामा विमानस्थलको बाहिरी सडक स्तरोन्नति गर्ने भनिएको छ । सोही नाममा निकालिएको ठेक्का उक्त कम्पनीलाई दिलाएर २ करोड, ८६ लाख २६ हजार ७१४ रूपैयाँ २२ पैसाको सम्झौतामा निर्माण कार्य सम्पन्नपछि २ करोड ७९ लाख १ हजार ७३७ रूपैयाँ २२ पैसा भुक्तानी गरिएको थियो । यी सबै कार्यको निम्ति प्राधिकरणले १ अर्ब ४७ करोड ७० लाख रूपैयाँभन्दा बढी भुक्तानी दिएको हो ।

यता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयबाट २०७५ जेठदेखि २०७९ साउन मसान्तसम्म विभिन्न १६ वटा ठेक्का लगाइएको थियो । तीमध्ये चार वटा उमा एण्ड कम्पनीले एकलौटी रूपमा र १२ वटा जेभीको रूपमा हात पारेको हो । सबै ठेक्काबाट ६३ करोड ६० लाख रूपैयाँभन्दा बढी भुक्तानी भएको छ । तीमध्ये सबैभन्दा धेरै आन्तरिक विमानस्थलतर्फ प्रस्थान कक्षको पुनर्निमाणमा झण्डै ८ करोड भुक्तानी भएको छ । उक्त कार्य उमा एण्ड कम्पनी र शुभ कन्स्ट्रक्सन कम्पनी जेभीले जिम्मा लिएका थिए ।

बगैंचा मर्मत ठेक्कामा २ करोड २१ लाख र विमानस्थलको शौचालय मर्मत खर्चमा ४ करोड १५ लाख भुक्तानी गरिएको छ । रनवे, ट्याक्सीवे, एप्रोनमा रंग लगाउने ठेक्कामा २०७६ सालमा ४ करोड ८४ लाख ८३ हजार, त्यसअघि २०७५ मा १ करोड ३१ लाख, विमानस्थल भित्रको पुनर्निर्माणवापत ६ करोड २४ लाख, विमान पार्किङ नम्बर ५ र ७ को लागि ६ करोड ५८ लाख भुक्तानी गरिएको थियो । त्यस्तै पार्किङ नम्बर १ र २ निर्माण ठेक्कामा ९ करोड ४ लाख रूपैयाँभन्दा बढी भुक्तानी उमा एण्ड कम्पनीको संलग्नता रहेको जेभीलाई गरिएको देखिन्छ । 

उता, राष्ट्रिय गौरव आयोजनाबाट भएको ठेक्कामा पनि सोही कम्पनीलाई अब्बल देखाउँदै निर्माण कार्य सम्पन्न भएको नाममा ८६ करोड ४९ लाखभन्दा बढी रूपैयाँ भुक्तानी गरिएको छ । उमा, समानान्तर र शुभ जेभीलाई भैरहवा विमानस्थल भवन पुनर्निर्माणको लागि २०७५ मा सम्झौता गरेर निर्माण सम्पन्न भएपछि ७ करोड ५२ लाख ९५ हजार ५३९ रूपैयाँ ७३ पैसा दिइएको छ । 

सोही विमानस्थल छेउको तिनाउ नदी किनार व्यवस्थित गर्न उमा एण्ड कम्पनी र शुभ कन्सट्रक्सनसँग २०७६ जेठमा सम्झौता गरियो । काम सम्पन्न भएको जनाउँदै २० करोड ४५ लाख ७५ हजार ४८३ रूपैयाँ ८६ पैसा भुक्तानी दिइएको थियो । मूल्यवृद्धिको नाममा सम्झौताभन्दा ५ लाख १३ हजार ४५४ रूपैयाँ २६ पैसा बढी दिइएको प्राधिकरणको जिकीर छ ।

त्यस्तै उमा एण्ड कम्पनी र शर्मा जेभीसँग २०७५ चैतमा गरिएको सम्झौतामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न निर्माण कार्यको निम्ति प्राधिकरणले १९ करोड ६२ लाख ७३ हजार २१९ रूपैयाँ ५ पैसाको सम्झौता गरेको थियो । पछि भुक्तानी गर्ने बेला मूल्यवृद्धि देखाउँदै १ करोड ७४ लाख ७३ हजार ७१० रूपैयाँ ३० पैसा बढी प्रदान गरिएको बताइन्छ । 

ढकालकै कम्पनी उमालाई पोखरा विमानस्थलको दक्षिणतर्फको सिञ्चाइ नहर निर्माणको जिम्मा लगाउन प्राधिकरणको तर्फबाट २०७७ जेठमा ठेक्का सम्झौता गरिएको देखिन्छ । जसमा ९६ लाख ९२ हजार ७९० रूपैयाँ ८३ पैसा भुक्तानी गरिएको छ । त्यस्तै २०७५ मा दिइएको सोही प्रकृतिको ठेक्काबापत गजुरमुखी, उमा र निशान जेभीको नाममा ४ करोड २९ लाख ४४ हजार २२२ रूपैयाँ १९ पैसा भुक्तानी भएको थियो ।

गत वर्ष कात्तिकमा पोखराको रिठ्ठेपानी डाँडा कटानको लागि आव्हान गरिएको ठेक्का पनि उमा एण्ड कम्पनी र गल्वा जेभीले नै पायो । गत असार १ गते कार्य सम्पन्न भएको जनाएपछि प्राधिकरणले ३२ करोड २६ लाख ८४ हजार ९२४ रूपैयाँ ७४ पैसा भुक्तानी दिएको हो ।

टिप्पणीहरू