मेयर भ्रष्टाचारमा तानिएपछि 'मेयर'लाई तनाव

मेयर भ्रष्टाचारमा तानिएपछि 'मेयर'लाई तनाव

निर्माणाधीन चलचित्र 'मेयर'को निर्माण पक्ष अप्ठेरोमा परेको छ । सत्य घटनामा आधारित चलचित्रको कथाका मुख्य पात्र नै विवादमा परेपछि निर्माता-निर्देशक समस्यामा परेका हुन् । 

चलचित्रमा सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाको जीवनी प्रस्तुत गरिएको छ । मेयरका रुपमा उनले गरेका सकारात्मक कामको सिनेमामा चर्चा गरिएको छ । तर, लगभग सुटिङसमेत सम्पन्न भैसकेको स्थितिमा मेयर थापाविरुद्ध एकाएक भ्रष्टाचारको मुद्धा दर्ता भएसँगै 'मेयर'का निर्माता, निर्देशक तनावमा परेका हुन् । 

संयोग कस्तो भने, मेयर थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकै दिन चैत २८ गते बाग्मती नगरपालिकामा फिल्मको छायांकन हुँदै थियो । तथापि चलचित्रको निर्माण टिमले शुटिङ रोकेन । तर, चलचित्र प्रदर्शन गर्ने कि नगर्ने भन्नेमा भने अन्यौल रहेको बताइन्छ । 

यो चलचित्रमा मेयर थापाको समेत लगानी रहेको दाबी गरिएको छ । फिल्ममा लगानीबारे सोधिएको प्रश्नमा उनले अलि फरक जवाफ दिए । जनआस्थासँग भने, 'मेरो आफ्नै पैसा र सम्पत्ति हो, म जेमा खर्च गरु, त्यो मेरो कुरा हो नि !  मैले सरकारको पैसा लगानी गरेको हो र भन्या फिल्ममा ।'

उनले यही चलचित्रबाट छोरी अर्विशा थापालाई पनि डेब्यु गराएका छन् । 

अख्तियारले विशेष अदालतमा दायर गरेको आरोप पत्रमा मेयर थापाले सार्वजनिक पदको दुरुपयोग गरी पाँच करोड ३३ लाख भ्रष्टाचार गरेको जिकिर लिइएको छ । भ्रष्टाचार गरेको रकम उनले श्रीमती रेश्मीकुमारी, भाइ रामकुमार र भाइबुहारी द्वारिका राउतको नाममा विभिन्न ठाउँमा लगानी गरेको आयोग दाबी छ । 

चलचित्रमा जसलाई मुख्यपात्र बनाएर प्रस्तुत गरिएको हो, उनै विवादमा परेपछि 'मेयर' को भविष्यलाई लिएर सार्वजनिक टिप्पणीसमेत हुन थालेका छन् । जे होस्, चलचित्रका 'मेयर' खगेन्द्र लामिछाने र भ्रष्टाचारको मुद्धा लागेका मेयर थापाको भविष्य अदालतको निर्णयमा भरपर्ने देखिन्छ । 

दिपेन्द्र के खनालको निर्देशन रहेको चलचित्रमा वर्षा राउत, अर्पण थापा, अनुप बराल, ऋचा शर्मालगायतले पनि अभिनय गरेका छन् ।

टिप्पणीहरू