म हारें, गठबन्धन असफल भयो

म हारें, गठबन्धन असफल भयो

हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा कोशीको एक सिटबाहेक सत्ता गठबन्धनले क्लिन स्विप गरेको छ । त्यहाँबाट उम्मेदवार चम्पा एमालेकी रुक्मिणी कोइरालासँग पराजित भइन् । प्रदेशका ३ र स्थानीय तहका जनप्रतिनिधिको १३ मत क्रस भएको हिसाब निस्कँदै छ, उनलाई हराउन कांग्रेसका शेखर कोइराला, सुनिल शर्माहरूको समूह लागेको भनिँदै छ । ०५४ सालबाट राजनीतिक यात्रा प्रारम्भ गरेकी चम्पा केही समय महिला वडा सदस्य थिइन् एमालेको । गंगा कार्कीसँगको भेटपछि बाटो मोडिन् र ०५६ सालदेखि माओवादीको पूर्णकालीन सदस्य बन्न पुगिन् । उनी अचेल पार्टीको केन्द्रीय सदस्य हुँदा श्रीमान् प्रदेश सचिवालयमा छन् ।

उनीअघिदेखि नै जनयुद्धमा होमिएका खड्ग योगीसँग ०५८ सालमा विवाह बन्धनमा बाँधिएकी हुन् । जनयुद्धताका एउटा हात गुमाइन् । रामेछापको धोबिचौकी रेड गर्ने योजनाअन्तर्गत ओखलढुंगा सदरमुकाममा ब्लकिङ गरिरहँदा आफैंले बोकेको ग्रिनेड विष्फोट भएर हात गुमाएकी उनी संविधानसभा निर्वाचनमा समानुपातिक उम्मेदवार बनिन् तर सभासद् हुन पाइनन् । जनाधार कमजोर भएको सुनकोशी गाउँपालिका अध्यक्षमा पार्टीले टिकट दियो । अहिले पनि कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचित हुने पक्कापक्की थियो तर कांग्रेसभित्रको अन्तरकलहको शिकार भइन् । 

– हरि गजुरेल

० राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशबाट क्रस भोटिङ भयो भनिँदै छ । खास कुरा के हो ? 

– केपी ओलीले संसद विघटन गरेसँगै बनेको गठबन्धन ६ वटा प्रदेशमा प्रतिबद्ध हुँदा कोशी प्रदेशमा चाहिँ पटक–पटक सहमति उल्लंघन हुँदै आयो । यसपटक साझा उम्मेदवार थियौं, कृष्ण सिटौला र म । मुख्यमन्त्रीको निर्वाचनमा समेत राष्ट्रिय राजनीतिभन्दा फरक खालको गतिविधि कोशी प्रदेशमा भइरहेको थियो । राष्ट्रिय सभा निर्वाचनको परिणाम नबिग्रियोस् भन्नेमा शीर्ष नेताहरु सचेत देखिनुहुन्थ्यो । उम्मेदवारीपछि चुनाव प्रचार, प्रसार, भेटघाट, प्रतिबद्धताका सवालमा कुनै कसर बाँकी राखिन । १४ जिल्लामा गएर जनप्रतिनिधिसँग भेटघाट, रिपोर्ट लिने काम गरेँ ।

वर्तमान गठबन्धनलाई शेखर कोइराला टिमबाट असहयोग हुँदै आएको भनी सम्बन्धित पार्टीले स्वीकार गरिरहेको छ । समस्या निराकरण गर्नका लागि महामन्त्रीद्वय विश्वप्रकाश शर्मा, गगन थापाहरु शेखर कोइरालाकहाँ बसिसकेपछि विगतमा भएका कमी कमजोरी दोहोरिँदैनन् भन्ने विश्वास दिलाइएको थियो । तर, परिणाम हेर्दा प्रदेश सांसदको तीन मत र स्थानीय तहको १३ मत हराइरहेको छ । प्राविधिक रूपमा एउटा पात्र म हारेँ तर राजनीतिक रूपमा गठबन्धन हा¥यो भन्ने लाग्छ मलाई ।

० राष्ट्रिय सभामा पराजित भएसँगै काठमाडौं आएर पार्टी अध्यक्षलाई के रिपोर्टिङ गर्नुभयो त ?

– अरुबाट त्यहाँ धोखाधडी भएको कुरा सुनेको छु । तपाईंकै मुखबाट सुनौं न भन्नुभयो । अन्तरघात कहाँबाट भएको हो भन्ने सन्दर्भमा छानबिन होस् भनेर अध्यक्ष तथा प्रधानमन्त्रीज्यूसमक्ष मौखिक रिपोर्ट दिएको छु । प्रदेशमा चाहिँ लिखित रिपोर्ट परेको छ ।

परिणाम सार्वजनिक भएलगत्तै कृष्ण सिटौला दाजुले ‘मेरो कारणले विरोधी शक्ति केन्द्रित भए र तपाईंलाई जिताउन सकिएन’ भन्नुभयो । हराउन त मलाई पनि खोजेका हुन् भनेर सहानुभूति व्यक्त गर्नुभयो । नतिजा सार्वजनिक भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले फोन गर्नुभएको थियो । मैले उहाँलाई ‘यो निर्वाचनमा मलाई कांग्रेसले हरायो, गुट÷समूह हामी जान्दैनौं ।’ 

० तपाईंले लिखित रूपमा प्रदेश कमिटीसमक्ष पेश गरेको रिपोर्टमा के छ ? 

– गठबन्धनको ४७ मत रहेकोमा ४४ मत मलाई आएको छ । स्थानीय तहको १३ वटा मत हराइरहेको छ । छानबिन समिति गठन गरी छानबिन गरियोस् भन्ने छ ।

० केदार कार्कीलाई मुख्यमन्त्री बनाउन लाग्ने एउटा खेमा नै तपाईंलाई हराउन लागिपर्‍यो भन्ने सुनिन्छ । वास्तविकता के हो ? 

– मलाई हराउन लागि पर्ने समूह त्यही हो वा अरु छानबिन होस् ।

० कांग्रेसकै एउटा खेमा शेखर कोइराला समूहले घात गर्‍यो भन्दै छ, अर्काेथरी कांग्रेसहरू तपाईंको पराजयको पछाडि सुनिल शर्माहरूको हात छ भन्दैछन् । के लाग्छ, तपाईंलाई ? 

– शेखर वा सुनिल जो भने पनि समस्या नेपाली कांग्रेसको हो । हाम्रो होइन । कांग्रेसले त्यसको अनुसन्धान÷छानबिन गर्नुपर्छ । 

० कांग्रेसले तपाईंलाई हराउने पात्रलाई कारबाही गर्छ भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ? 

– कांग्रेस खुला प्रजातन्त्रको अभ्यास गरेर आएको पार्टी तर त्यहाँभित्र अनुशासनको दायरा अलि कमै हुने रहेछ । प्राविधिक हिसाबले कसैको अन्तरविरोधको म शिकार बन्न पुगे पनि समग्र रूपमा गठबन्धन असफल भएको छ । कारबाही हुँदा दीर्घकालीन रूपले कांग्रेसलाई नै फाइदा हुने हो । अराजकतालाई कन्ट्रोल गर्‍यो भने कांग्रेसलाई नै लाभ मिल्ने हो । त्यसको बेफाइदा मुख्यमन्त्री इन्द्र आङ्बोले पनि व्यहोरिसक्नुभयो ।

म पनि पीडित भइसकें । गठबन्धनका सहयात्री जो–कोहीबाट अन्तरघात, फ्लोर क्रस भएको भए पनि पुष्टि हुनासाथ कारवाही हुनुपर्छ । हाम्रोतर्फबाट कमजोरी भयो भनेर कांग्रेस नेताले बोलिरहेका छन् । यद्यपि, संस्थागत निर्णय गरेका छैनन् । फ्लोर क्रस माओवादीभित्रै, समाजवादी वा अरुबाट पनि हुन सक्छ तर अलि बढी कांग्रेसकै टिमबाट अन्तरघात भयो भन्ने बुझिन्छ । 

० कांग्रेसको एउटा खेमालाई गठबन्धन पचेको थिएन नै ! त्यो असन्तुष्टि कोशीमा राम्रैसँग देखियो । यो परिणामबाट गठबन्धन दलले के सिक्ने ? 

– सत्तामोह पनि होला कि ! संस्थापन पक्षले सत्ताको बढी उपयोग गर्‍यो हामीले सत्ता पाएनौं भन्ने हिसाबले काम गर्‍यो कि ! नेतृत्व जसरी पनि हत्याउनुपर्छ भनेर केही लागेका छन् । प्रतिनिधि सभामा पनि दलको नेता प्रधानमन्त्री हुने र प्रदेशमा पनि दलको नेता नै मुख्यमन्त्री हुने सिष्टम छ । कोशी प्रदेशमा सांसद मुख्यमन्त्री हुनुहुन्छ तर दलको नेता बाहिर ।

० कोशी प्रदेशमा देखिएको घटनालाई माओवादीकै नेताहरू गणतन्त्रविरोधी राजनीति भन्दै छन् । त्यस्तै हो र ? 

– त्यहाँ राजतन्त्रवादी र एमालेको अपवित्र गठबन्धन भयो । गणतन्त्रवादीहरूलाई हराउने, राजावादीलाई जिताउने र गणतन्त्र विरोधीहरूको राजसंस्था फर्काऊ अभियानलाई सफल पार्न खोजियो । सतहमा देखिएका पात्रहरू, केपी शर्मा ओली, उद्धव पौडेल, रुक्मिणी कोइराला भए पनि उनीहरू मात्र छैनन् । उनीहरूलाई परिचालित गर्नमा गणतन्त्रविरोधीहरू केन्द्रिकृत भएका छन् र बल्ल यो परिणाम आएको हो । उनीहरूले चम्पा कार्कीलाई मात्र होइन, कृष्ण सिटौलालाई पनि हराउने तयारी थियो तर क्रस मत आएको कारण उहाँ सुरक्षित हुन पुग्नुभयो ।

० तपाईंलाई १३ जना जनप्रतिनिधि, ३ सांसदले मत नदिनुमा आफ्नै पनि त कमजोरी होला नि !

– प्रदेश सांसदको तहबाट मेरोमा २ जना र कृष्ण सिटौलालाई पनि दुई जनाको मत आएन । गठबन्धनको मत अन्त गएको रेकर्डमा पाएका छौं । व्यक्तिगत रूपमा मसँग केही आग्रह/पूर्वाग्रह थिएन । एकाधबाहेक धेरै जनप्रतिनिधि हिजो गठबन्धनकै मतबाट विजयी भएर आउनुभएको हो । गठबन्धनकै पक्षमा मत झरेको छ, ६ प्रदेशमा । कोशीको मत मात्र अन्यत्र जानुको पछाडि धेरै कुराले फरक पारेको छ । आर्थिक चलखेलको कुरा पनि छ । निर्वाचित तहको नेताले यति धेरै बेइमानी गर्दछ भनेर कसैले पनि परिकल्पना गरेको थिएन । जनप्रतिनिधि भनेका आफैंमा सरकार पनि हुन्, उनीहरू नै यस्तो प्रलोभनमा फस्ने हो भने जनताले के पाउँछन् ? 

० दम्पती नै तीन दशकदेखि पूर्णकालीन राजनीतिमा हुनुहुन्छ । माओवादीमा अरु जोडीले ठुल्ठूला लाभको पद लिइसकेका छन् । तपाईंहरू भने अपवाद मानिनुहुन्छ । खाइजीविका कसरी चल्दै छ ?

– श्रीमान् खड्ग योगी प्रदेश सभा सचिवालयमा हुनुहुन्छ । आठौं महाधिवेशनताका हामी एउटै तहमा थियौं । राजनीतिमा सहभागिता, भूमिकाको हिसाबले मभन्दा खड्ग सिनियर हुनुहुन्छ तर समावेशिताको क्लष्टरका आधारमा मलाई केन्द्रीय समितिमा आउने अवसर मिलेको छ । हाम्रो परिवारमा तीन जना मात्र छौं । पार्टीमा दुबै जना होलटाइमर, पार्टीबाट आउने लेबीले जीवन गुजारिरहेका छौं । यसका अलावा गाउँमा खेती किसानी, कृषि व्यवसाय पनि छ । जीवनस्तर सामान्य छ । यसरी नै चलिरहेको छ ।
 

टिप्पणीहरू