विकल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

विकल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक (हाल निलम्बित) विकल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा चलाइएको छ । 

अमेरिकी स्थायी आवासीय अनुमति पत्र लिएर नेपालमा सरकारी सेवामा नियुक्त भएको अभियोगमा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । विकलले विदेशको स्थायी आवासीय अनुमतिपत्र लिई झूठा विवरण पेश गरी झुक्याएर सरकारी-सार्वजनिक पदमा नियुक्ति लिएको अख्तियारको दाबी छ । 

संविधानको धारा २९१ को उपधारा (१), निजामती सेवा ऐन, २०४९ को दफा ६१ (२) र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड, २०७३ को दफा ११ को देहाय (घ) को व्यवस्था विपरीत उनले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्ति लिएको र उक्त कार्य दण्डनीय रहेको अख्तियारले जनाएको छ । 

अख्तियारको अभियोग पत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन माग दाबी गरिएको छ । 

यसअघि गत माघ १० गते विकलसहित नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको, नेपाल राष्ट्र बैंकको स्वीकृतिबिना विदेशी बैंकमा रकम जम्मा गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको थियो ।

टिप्पणीहरू