माओवादी नेताको घरमा तोडफोड

माओवादी नेताको घरमा तोडफोड

सिरहामा नेकपा माओवादी केन्द्रका एक स्थानीय नेताको घर तोडफोड गरिएको छ । मीटरब्याज पीडित संघर्ष समिति सिरहा जिल्ला अध्यक्ष मनोज पासवान नेतृत्वको समूहले माओवादी लहान नगर कमिटी सचिव उमेश साहको लहान ५ स्थित घरमा तोडफोड गरेको बताइएको छ ।

साहका अनुसार पासवानको नेतृत्वमा आएको करिब ६० जनाको समूहले आफू र आफ्ना भाइहरू सुरेशकुमार साह र दिनेशकुमारको घरमा तोडफोड गरेको हो ।

तीनैजना दाजुभाइको घरको झ्याल, ढोका,दराज, फ्रिजलगायतका सामाग्रीहरू तोडफोड गरिएको साहको भनाइ छ । तोडफोडमा पुरूषभन्दा महिलाको संलग्नता धेरै रहेको साहका भाइ दिनेशले जानकारी दिए । उनी भन्छन्, ‘नियोजित रूपमा घर ध्वस्त पार्ने प्रयास गरिएको थियो ।’

राजनीतिक पूर्वाग्रह साँध्न आफ्ना तीन दाजुभाइको घरमा आक्रमण गरिएको नेता साहको दाबी छ । प्रहरीले तोडफोडमा संलग्न भएको आशंकामा मनोज पसवान, जोगिन्दर पासवान, श्याम मेस्तरलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । घटना अस्ति राति भएको हो ।

 

टिप्पणीहरू