कारबाहीको मागमा समर्थन गर्दै माधव नेपाल र ज्ञानेन्द्र शाहीको अभिनय

कारबाहीको मागमा समर्थन गर्दै माधव नेपाल र ज्ञानेन्द्र शाहीको अभिनय
सुन्नुहोस्

पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल चलचित्र ‘नमेटिने घाउ’ मा देखिने हुनुभएको छ । चलचित्रको निर्माण टिमले आज नेता नेपालको संवादका केही दृश्य कोटेश्वर क्षेत्रमा छायाङ्कन गरेको छ । 

अभिनेता रमित ढुंगानाद्वारा निर्देशित उक्त चलचित्रमा एसिड आक्रमणको कथावस्तु प्रस्तुत गरिएको बताइन्छ । सोहीबमोजिमा विद्यार्थीहरुले ‘एसिडको प्रयोगमा रोक लगाउ र एसिड आक्रामणकारीलाई कारवाही गर’ लगायतका नारासहित प्रदर्शन गरेपछि नेता नेपालले उक्त प्रदर्शनलाई सम्बोधन गरेको दृश्य खिचिएको छ । उहाँले एसिड आक्रमण गर्नेलाई तत्कार कारबाही गरिने आशयसहितको संवादमा अभिनय गर्नुभएको हो ।

त्यस्तै, राप्रपाका प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाही पनि चलचित्रको अतिथि भूमिकामा देखिँदैछन् । उनले आज संसदमा एसिड आक्रमणको विषय उठाउने जिम्मेवारीसहितको संवादमा अभिनय गरेका छन् । 

त्यसो त, यस चलचित्रमा अर्का पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको पनि केही भूमिका रहने बताइएको थियो । तर चलचित्रको छायाङ्कन अन्तिम चरणमा आइपुग्दासमेत त्यसबारे जानकारी दिइएको छैन । 

चलचित्रको ८० प्रतिशत छायाङ्कन रौतहट र वीरगञ्जमा गरिएको छ । बाँकी काठमाडौँका विभिन्न स्थानमा धमाधम भइरहेको छ । अबको केही दिनमै चलचित्रको सम्पूर्ण छायाङ्कन सकिने निर्माण टिमले जनाएको छ ।

टिप्पणीहरू