त्यो कुरा लेख्न जब कोही भएनन् तयार

त्यो कुरा लेख्न जब कोही भएनन् तयार
सुन्नुहोस्

‘लु–लु, यत्ति कुरा लेखौं त, सबै कुरा सकिन्छ...!’ केपी ओलीलाई यसो भन्दै घनश्याम भुसाल कराउँदै थिए, केपी त चुप लाग्ने नै हुनुभयो, माधव नेपाल पनि केही नबोलेपछि कुरै सकियो !

पछिल्लो समय नियमितजसो हुन थालेको भेटघाट र फोन वार्तामा  एमाले अध्यक्ष केपी ओलीबाट निस्किरहने वाक्य हो, ‘गल्ती तपाईं–हामीले नै गरेको हो, हामीले नै सच्याउँदा सच्चिन्छ ।’ यो कुरा सुनेर एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले भने, ‘यही कुरालाई लिखतमा उतारौं, डकुमेन्टेड गरेर बाहिर लैजाऔं न, कुरै सकिन्छ ।’ तर, न केपीबाट, न त माधवबाटै केही प्रतिक्रिया आयो । घश्यामले फेरि थपे, ‘गल्ती हो, अब गर्ने छैनौं भनेर दुबैतिरबाट भनिँदा त्यो ठूलो अपिल हुन्छ !’

फेरि पनि कोही बोलेनन् । ओली नबोले पनि माधवले ‘हो, हो’ भन्नुहोला भन्ने घनश्यामको आशा थियो, उहाँ पनि चूपचाप । त्यसपछि आफ्नो केही सीप नचल्ने ठानेर घनश्याम पनि चूपचाप बसे । ‘गल्ती’ का कुरा गर्न थालियो भने सुनिश्चित भइसकेको १५–१५ महिने प्रधानमन्त्री के होला भन्ने चिन्ताले नेताहरु नबोलेको त्यहाँ उपस्थित एक नेताले आशंका गरेका छन् । ‘नत्र, केपीले गल्ती हो भनिसकेपछि माधवले हो, हो भनिदिएको भए के जान्थ्यो र ?’, ती नेताले जनआस्थालाई सुनाए ।

यसरी नेताहरुको कुरा मिलिरहेको त छ, तर भारतीय आमनिर्वाचनपछि नेपालको सरकारलाई उसले सुखले बस्न नदिने सम्भावना छ । अर्थात्, अहिले नेपालको राजनीतिमा सन्नाटा त छाएको छ, तर आँधी वा बतास नचल्ने गरी हैन । ओलीलाई अगाडि सारेर नेपालका वामपन्थीलाई विभाजित गर्न सकिन्छ भने भारतले त्यसमा कुनै कसर हिजो बाँकी राखेन र फेरि पनि राख्दैन भन्ने चर्चा नेपाली वाम नेताबीच चलेको छ । वामपन्थीलाई मिशन ८४ मा क्षति पुर्‍याउनका निम्ति पनि भारतले एउटा पक्षलाई काँध हाल्ने सम्भावनाबारे उनीहरुले कुरा उठाएका हुन् ।

अर्कातिर, विद्यमान प्रणालीकै आधारमा आगामी निर्वाचन गर्ने हो भने त्यसको परिणाम मुलुक र व्यवस्थाकै निम्ति प्रतिकूल हुने कुरालाई दृष्टिगत गर्दै मुख्य राजनीतिक दलका बीचमा प्रणाली सुधारको चर्चा शुरु भएको छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू