फिल्म हेर्न एमालेका दुई दर्जन नेता हलमा

फिल्म हेर्न एमालेका दुई दर्जन नेता हलमा

सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित दुई दर्जन नेताहरुले चलचित्र ‘महाजात्रा’ हेरेका छन् । सुन्धारास्थित सिने डी सेफ पुगेर उनीहरुले हिजो साँझको शो हेरेका हुन् । 

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले चलचित्र हेरेपछि महाजात्रालाई १० अंकमा रेटिङ गर्दै ९.५ दिनुभएको छ । राजनैतिक विषयका कारण ०.५ अंक घटाएको उहाँले बताउनुभयो । 

‘फिल्मलाई १० मा १० अंक दिन केही राजनीतिका विषयले रोक्यो । त्यसकारण ०.५ घटाएको हुँ । फिल्म राम्रो बन्न सन्देश दिने कथा र त्यसलाई सम्प्रेषण गर्ने अभिनय चाहिन्छ, यी दुबै पक्ष महाजात्रामा सशक्त छन्’, ओलीले भन्नुभयो, ‘फिल्म काल्पनिक कथामा बन्छ र राजनीति यथार्थमा चल्छ । त्यसकारण फिल्मबाट गलत कार्यमा लागेकालाई सही बन्न प्रेरणा मिल्छ ।’

ओली पत्नी राधिका शाक्यले पनि चलचित्रले समाजको हुने गरेको घटनालाई जस्ताको तस्तै फिल्ममा देखाइएको बताउनुभयो । चलचित्र हेरेपछि एमालेका अन्य नेताहरु ईश्वर पोखरेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, रघुजी पन्त, कोमल ओलीलगायतले पनि महाजात्राको प्रशंसा गरेका थिए । 

एमाले नेताहरुलाई निर्देशक प्रदीप भट्टराई, कलाकारहरू हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र सिंह बानियाँलगायतले हलमा स्वागत गरेका थिए । 

गत शुक्रबारबाट रिलिज भएको यो चलचित्रले दर्शकहरुको राम्रो प्रतिक्रिया पाइरहेको छ । चार दिनमा यसले साढे पाँच करोड रुपैयाँ आम्दानी गरेको जानकारी दिइएको छ ।

टिप्पणीहरू