लोकसभा चुनाव लड्दै कंगना रनौत

लोकसभा चुनाव लड्दै कंगना रनौत

कंगना रनौत बलिउडमा ‘बौद्धिक व्यक्ति’को छवि बनाएकी अभिनेत्री हुन् । युवापुस्तामा उनको क्रेज लोभलाग्दो छ । उनका दर्जनौ चलचित्र हिट भइसकेका छन् । उनी सन् २०२० मा पद्म श्री पुरस्कारबाट समेत सम्मानित भइसकेकी छन् ।

उनै कंगना भारतीय राजनीतिमा प्रवेश गरेकी छन् । ३७ वर्षीया अभिनेत्रीलाई भारतीय जनता पार्टी (भाजपा) ले लोकसभाको निर्वाचनमा उम्मेदवार बनाएको छ । 

भाजपाले उम्मेदवाहरुको सूची सार्वजनिक गर्दै कंगनालाई हिमाञ्चल प्रदेशको मण्डीबाट टिकट दिएको छ । सो क्षेत्रमा कंगनाको जन्मस्थल पनि पर्छ । 

टिकट पाएपछि कंगनाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘भारतको सर्वाधिक लोकप्रिय पार्टी भाजपाले मलाई हिमाञ्चल प्रदेश (मण्डी) बाट लोकसभाको उम्मेदवार बनाएको छ । पार्टीको यो निर्णयप्रति मलाई गौरव छ र जनतामा जान म निकै उत्साहित छु ।’ 

बलिउडमा नेपोटिज्मको चर्को विरोध गर्ने कंगनाले पाँच महिनाअघि नै राजनीतिमा प्रवेश गर्ने संकेत गरेकी थिइन् । उनले चलचित्र ‘तेजस’को ट्रेलर सार्वजनिक कार्यक्रममा आफू अब रिलमा नभएर रियलमै सामाजिक काममा होमिन लागेको बताएकी थिइन् । 

उनको नयाँ चलचित्र ‘इमर्जेन्सी’ रिलिजको तयारीमा छ । अब राजनीतिमै सक्रिय रहन्छिन् वा चलचित्रमा फर्किन्छिन्, त्यो भने कंगनाले अझै खुलाएकी छैनन् ।

टिप्पणीहरू