पागलभन्दा पनि फरक नपर्ने गुल्मेली यी पुत्र

पागलभन्दा पनि फरक नपर्ने गुल्मेली यी पुत्र
सुन्नुहोस्

– ऋषि भट्टराई

समाज उही, गाउँ–ठाउँ यही । बुद्ध, आइन्स्टाइन, ग्यालिलियो, जिससजस्ता मुक्त पुरुषलाई पागल भन्न र ढुंगाले हान्न त पछि परेन भने गुल्मीको मदाने गाउँपालिका–४, म्यालपोखरीमा जन्मिएका विनोद कुँवरले पनि यस्ता तुच्छ वचन त कति सुने कति ।

उखानै छ नि ‘सबसे कडा हें रोग क्या कहेंगे लोक’ ! उनले दुनियाँको कुरा सुनेनन्, अन्तर्मनको ध्वनिलाई सुने र विदेशी भूमिमा श्रम, सीप बेचेर आर्जित करोडौं लगानी नेपालमा गर्न होमिए, त्यो पनि दुनियाँसँग हात फिँजाएर मागेको सहयोग रकमले क्रिकेट रंगशाला बनाउन तम्सिएका र दर्शकले भगवानकै दर्जामा राखेका धुर्मुस सुन्तली सकिएन भन्दै हात उठाएर भागेको बेलामा ।

परिवारकै कान्छो छोरा । जेठा दाजु वसन्त मदाने गाउँपालिकाको ओभरसियर, माइलो सूर्य इण्डियन आर्मीबाट रिटायर्ड । आर्थिक अभाव र तनावकै बीचमा हुर्किएका हुन् उनी । आर्थिक संकटकै बीच पृथ्वी उच्च माविबाट एसएलसीसम्मको अध्ययन पूरा गरे । महेन्द्र उच्च मावि तम्घासबाट अरू अध्ययन अगाडि बढाए । इञ्जिनियरिङको परीक्षा छाडेर क्रिकेट हेर्न जान्थे । त्यही कारण साथीभाइले पागलको संज्ञा दिन्थे ।

 एक दशकअघि अष्ट्रेलिया ऋण सापटी गरेर जाँदा दुःखको सागरमा डुबे । न टेक्ने हाँगो न त समाउने ठाउँ । यद्यपि, हारेनन्, हिम्मत । भन्छन् नि जीवनमा चरेश खानु तर हरेश नखानु । जस्तै दुःख पर्दा पनि हार्न दिएनन् मनलाई । निरन्तर संघर्ष गरिरहे । निरन्तर नदीको बहावले ठूल्ठूला चट्टान त पग्लन्छ भने सफलतालाई नै एक दिन आफूसँग झुक्न बाध्य पार्छु भनेर निरन्तर खटे ।

संघर्षकै बीच अध्ययन पूरा गरे । जतिखेर विश्व कोभिड १९ का कारण भयभित थियो त्यही समयमा जन्माए ‘एक्स्ट्राटेक ओभल प्रालि’ नामक सूचना प्रविधि (आइटी) सम्बन्धी ट्रेनिङ इन्स्टिच्युट कम्पनी । अस्ट्रेलिया बसाइका क्रममा नेपाललगायत तेस्रो विश्वबाट उच्च शिक्षाका लागि आउने विद्यार्थीले भोग्नुपरेको समस्यालाई नजिकबाट बुझ्ने मौका पाए । कम्पनी स्थापनापछि पछाडि फर्केर हेर्नु परेन । अहिले सिड्नी, मेलबर्न, क्यानबेरा, ब्रिसबेनलगायत विभिन्न ठूला शहरमा ‘एक्स्ट्राटेक ओभल’ को शाखा फैलिएको छ ।

हातको मैला हो धन, यो साधन हो साध्य होइन । राम्रैसँग बुझेका थिए उनले । तन अष्ट्रेलियामा, मन नेपालमा । यही नामबाट नेपालमा लगानीको शुरुवात गरे । गुल्मीबाट रुपन्देहीको तिलोत्तमा बसाइँ सरेका र अष्ट्रेलियामा दश वर्ष बिताइसकेका विनोद कुँवर रुपन्देहीमा लगानी गर्न तम्सिए । क्रिकेटमा रुपन्देहीले जन्माएका प्रतिभा हुन्– राजु खड्का, शक्ति गौचन, वसन्त रेग्मी, सुशन भारी, कुशल मल्ल, अमृत भट्टराई, वसन्त शाही, सञ्जय गुरुङ, सत्यजित सरकार, समिर खान, जगत टमाटाहरू । जसले सिंगो नेपालको नाम राखेका छन् ।

चाहे मूलपानीमा सरकारले बनाउन खोजेर अलपत्र परेको रंगशाला होस् वा धुर्मुस सुन्तलीले हात हालेर गर्न नसकेको चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निर्माण । यी दुई असफलता उनकै अगाडि थिए । आफ्ना क्रिकेटरले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहँदा देशभित्रै भने क्रिकेटको गतिलो भौतिक पूर्वाधारसम्म नभएको देखेपछि मन कुँडिन्थ्यो ।

देशकै माटोमा केही गर्नुपर्दछ भन्ने हुटहुटी बोकेका विनोद, पत्नी सदीक्षासँगै त्यहाँ आईटी व्यवसाय सञ्चालन गरेर आर्जित रकम नेपाली क्रिकेटको लागि उर्बर भूमि मानिने रुपन्देहीमा लगानी गर्न तम्सिए । झण्डै ४० करोड खर्च लाग्ने हिसाब–किताब निस्कियो । एकल रुपमा रंगशाला निर्माणका लागि जग्गा खोजे । तिलोत्तमा वडा नंं १७ पूर्व दरखसवामा ५ बिघा क्षेत्रफल पाइयो । यो योजना बनाउन दरखसवाका ३१ जना किसानसँग करिब १० करोड रुपैयाँ खर्च गरेर पाँच बिगाहा जग्गा खरिद गरे । गुपचुप रुपमा योजना अगाडि बढाइरहेका थिए, हल्लाखल्ला मच्चियो । फेरि थपिए उनलाई पागल भन्नेहरू ।

एकातिर नेपालमा लगानीको वातावरण छैन भनिएको अवस्था । अर्काेतिर क्रिकेटजस्तो अनुत्पादक क्षेत्रमा ४० करोड लगानी गर्न तम्सिएका विनोद । त्यसमाथि सेलिब्रिटी ध्रुर्मुस–सुन्तलीमात्र होइन सरकार आफैंले दशकौंदेखि बनाउन नसकेको क्रिकेट रंगशाला । सम्झन्छन्– हिजो परीक्षा छोडेर क्रिकेट हेर्न जाँदा पागल भन्नेहरू त थिए नै अहिले अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउँछु भन्दा पनि केही मान्छेले पागलै भने । समाजमा केही गर्छु भन्नेलाई हौसला दिनुको सट्टा नकारात्मक टिप्पणी र आलोचनाहरू बढी आउने गरेको छ । तर उनले त्यस्ता वचन टेरेनन् । एकोहोरो आफ्नो लक्ष्यमा ध्यान दिए । साढे तीन दशक उमेरमा दौडिरहेका उनी तीन वर्षसम्म सिड्नीमा सूचना प्रविधिसम्बन्धी व्यवसाय समेत गरेर आर्जित रकमले नेपालमा क्रिकेट रगंशाला निर्माणमा होमिए । र, उनको पागलपनाले धेरै हदसम्म सफलता पायो सोमबार ।

९ महिनाअघि जेठ २९ गते शिलान्यास गरिएको मैदानको सोमबार एक कार्यक्रमबीच लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गरेका छन् । अन्य पूर्वाधार पाँच वर्षभित्र पूरा गर्ने लक्ष्य बोकेका छन् विनोदले । मैदान निर्माण गर्दा मात्र जग्गाबाहेक ७ करोड खर्च भएको हिसाब छ उनीसँग ।

१८ करोडको लागतमा प्यारापिटको काम लगत्तै प्रारम्भ हुने बताउँदै छन् उनी । सोमबार उद्घाटन कार्यक्रममा पूर्वमन्त्री छविलाल विश्वकर्मा, पूर्वमन्त्री एवं सांसद गोकर्ण विष्ट, कांग्रेस नेता एवं संघीय सांसद चन्द्र भण्डारी, सांसद बासुदेव घिमिरे, तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खाँण, नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंहहरू पुगेका थिए । पहिलो वर्ष पाँच हजार दर्शक क्षमताको रङ्गशाला बनाउने र प्रत्येक वर्ष सोही बराबरको क्षमता थप्दै चार वर्षभित्र २५ हजार दर्शक क्षमता पु¥याउने महत्वाकांक्षी योजना बोकेर हिँडेका कुँवर, निस्वार्थ रुपमा देखिएको आफ्नो सपना साकार हुनेमा दृढ विश्वस्त छन् । खेलका जानकारहरूले निजी लगानीमा बन्ने नेपालको पहिलो ठूलो क्रिकेट रंगशाला भनेका छन् । क्रिकेट मैदान र क्रिकेट एकेडेमीको ब्राण्ड एम्बेसडरका रुपमा चर्चित पूर्वक्रिकेटर शक्ति गौचन छन् ।

क्रिकेट रंगशालामा छात्रावाससहितको एकेडेमी र ट्रेनिङ सेन्टर हुने छन् । त्यसको सम्पूर्ण जिम्मेवारी गौचनलाई नै दिएको कुँवरले बताए । चार तले भवनसहितको रंगशालामा एकेडेमी र तालिम केन्द्र सञ्चालनका सबै काम गौचनले हेर्ने छन् । रंगशालापछि विनोदको लक्ष्य छ नेपालमा यस्तै प्रकारको अस्पताल र आइटी कलेज स्थापना गर्ने ।

(साभार जनआस्था साप्तहिक बाट)

टिप्पणीहरू