धमिराहरुले बंगला ठड्याए धमाधम

धमिराहरुले बंगला ठड्याए धमाधम

मासिक रुपमा ४० हजार तलबले घरबार चलाउन सकस हुने गर्छ । तर यातायात र मालपोतमा केही यस्ता कर्मचारी पनि छन्, जसको बैंक ब्यालेन्स र अचल सम्पत्ति थपिएको थपियै छन् । यसरी डरलाग्दो श्रीसम्पत्ति जोड्न सफल कर्मचारी हुन्, हरिकृष्ण भण्डारी ।

साढे दुई वर्षदेखि चाबहिल यातायातको अधिकृत (छैटौँ) छन् । २२ वर्षअघि खरिदारबाट सरकारी सेवामा पाइला राखेका उनले भक्तपुरको पेप्सीकोला टाउनप्लानिङमा बंगला ठड्याएका छन् । मालदार अड्डा मानिने ललितपुर, काठमाडौं, कलंकी मालपोतमा बसे । त्यहाँबाट साना–ठूला यातायात हुँदै अहिले चाबहिल पुगेका भण्डारीले काठमाडौंका तीन ठाउँमा घडेरी जोडेको बताइन्छ । 

त्यहीँ छन्, कुलबहादुर बस्नेत । उनका भाइ जीवन राधेराधेस्थित यातायातमै कार्यरत छन् । दाजु भाइले नै यातायात छाडेर दायाँ–बायाँ हुनुपरेको छैन । कुलले पनि कपनको ५ आना जग्गामा ४ तले घर ठड्याएका छन् । काठमाडौंमा तीन ठाउँ जग्गा जमिन जोडेका छन् । उनले पनि खोटाङबाटै खरिदारमा जागिर शुरु गरेका हुन् । १० वर्ष गाविस सचिव, यातायातमा ८ वर्ष र कार्यालय प्रमुखका रुपमा ३ वर्ष बिताए ।

यसअघि सानो भर्‍याङमा थिए, अहिले चाबहिल पुगेका छन् । आजीवन यातायातमा जागिर खाएका अधिकृत छैटौंद्वय जीवन बस्नेत, विनोद बस्नेतझैं कुलबहादुरले पनि यातायातमै अकुत कमाएका हुन् । खोटाङ जन्मघर भएका बस्नेतले सोलुमा गाविस सचिव हुँदा नै भक्तपुर ठिमीमा घर बनाउन सफल भएको र विनोदले सोलुमै गाविस सचिव हुँदा बालकोटमा बंगला ठड्याएको सहकर्मीहरू बताउँछन् । राधेराधेमा दण्डबहादुर, स्टोरकिपर विनोद र छैटौं तहका कर्मचारी जीवनको सेटिङमै सबै चल्छ भनिन्छ । 

उता, चाबहिल यातायातमा वर्ग एकेअन्तर्गत मोटसाइकल स्कुटी, वर्ग बीअन्तर्गत भ्यान, जिप र जे वान, जे केअन्तर्गत ठूला मेसिनको लिखित र ट्रायल परीक्षा हुँदै आएको छ । यसमा फेल भएकाहरूलाई पास बनाएर लाइसेन्स दिने धन्दा चलिरहेको छ । चाबहिल यातायात सारेर अहिले नयाँ बस्तीछेउ दाइ भवनमा पुर्‍याइएको छ । देवेन्द्र बजगाईं र इन्द्रको नाममा रहेको उक्त बंगला रवि लामिछानेको पार्टीका कार्यकर्ताको हो । चाबहिल यातायातका कर्मचारीले सेटिङ मिलाएर कार्यालय त्यहाँ सारेको बताइन्छ ।

– लघुपुकार बानियाँ

 

टिप्पणीहरू