अस्तित्व

अस्तित्व
सुन्नुहोस्

भरदिनको संघर्षपछि
पश्चिमाकाशमा
सूर्यले दिनलाई बादलको चितामा सुताएर 
दागबत्ती नदिँदै रातको साम्राज्य हुर्किन्छ ।

भररातको संघर्षमा 
थकित चन्द्रमालाई हिस्याएर 

हाँस्दैमा रात
भुईंचालोको महशुस गर्छ
अनिश्चित वातावरणमा 
उदीयमान सूर्यले 
सेतो कात्रोमा बेरेर रातलाई नजलाउँदै 
दिन उभिन्छ अट्टहास छरेर
न त बल्छन्
न त जल्छन् 
कैयौं विगतदेखिको संघर्ष
सायद अन्त्यहीन संघर्ष
कैंयन् उल्काहरुलाई निलेर 
अनादीकालदेखि बाँचेका
अस्तित्ववादी योद्धाहरु 
कैयौं मृत्युको झङ्कारले 
जीवनको भरणपोषण गर्नेहरु
जो लल्कारिरहेछन् 
अरुको छताछुल्ल दुर्दशामा 
खुसी पोख्नेहरुलाई 
अस्तित्व बालुवाको पहाड होइन
साम्राज्यको र्याल काढ्नेहरुलाई बुझाइरहेछन् 
अविनाश्य ढल्दैन
शाश्वतता जल्दैन
स्वाधीनता मर्दैन्
किनकि हरेक अस्तित्व
आफैंमा अमरता लिएर उभिन्छ
आँखाहरुमा 
मुटुहरुमा
विवेकहरुमा 
तिनको बिन्दु बिन्दुमा 
जो सामनाले सबल हुन्छ
विषले मुनाउँछ
संकटभरि युद्धको जीवन बोकेर 
अमर जीवन अज्माउँदछ ।

संकटभरि युद्धको जीवन बोकेर 
अमर जीवन अज्माउँदछ । ।
 

टिप्पणीहरू