ज्याक मा काठमाडौं आउनुको उद्देश्य पनि यस्तै थियो ?

नेपाल भ्रमणमा आएका चिनियाँ धनाढ्य ज्याक मा हिजो बिहान काठमाडौंबाट पाकिस्तानको लाहोरतर्फ गए । मंगलबार दिउँसो आइपुगेका चिनियाँ कम्पनी अलिबाबा ग्रुपका सह–संस्थापक तथा कार्यकारी अध्यक्ष ज्याक नेपालको ४५ घण्टा भ्रमण पूरा गरेर पाकिस्तान गएका हुन् ।

आएकै दिन साँझ चिनियाँ राजदूतसँग भेट गरेका उनले अस्ति दिउँसो विनोद चौधरीका बाउछोरासँग चौधरी निवास रवि भवनमा कुराकानी गरेका थिए ।

चौधरीसँगको भेटलाई नेपाली व्यवसायीहरुले मालाई सहकार्यको निर्णय गर्नुअघि १० पटक निधार खुम्चाएर सोच्न सुझाव दिएको बताइन्छ । उनीहरुका अनुसार चौधरीका अधिकांश व्यवसाय र व्यापार धन्दा अपारदर्शी भएकाले उक्त सुझाव दिइएको हो । नेपाल उद्योग वाणिज्य महासंघका एकजना पूर्वअध्यक्षले भने, ‘बिल गेट्स, मिलिण्डा फाउण्डेशनलाई समेत विगतमा दुरुपयोग गरेका थिए । अहिले निर्वाणसँगको सम्बन्धका कारण ज्याक उनका घर गएका हुन् । ठ्याक्कै भन्ने हो भने चौधरीको एक मात्र नियत चिनियाँ धनाढ्यको पैसा झार्ने हो ।’

बुधबार बिहान साढे १० बजेको समयमा उनी कालिमाटी तरकारी बजार पुगेका थिए । तरकारी बजार किन गए ? त्यो भने रहस्यमय रहेको बताइन्छ । पछिल्ला दिनमा काठमाडौंका साना र मझौला पसलमा डिजिटल पेमेन्टको निम्ति क्युआर कोडको चलन शुरु भएको छ । 

यता, चौधरीले पनि सिजी पेको नाममा डिजिटल पेमेन्टस वालेटको व्यवसायमा लागेका छन् । सिजी पे सन् २०२० को जनवरीदेखि नेपाली बजारमा सञ्चालनमा ल्याइएको बताइएको छ । नेपालीहरुबीच खासै चर्चामा नरहेको उक्त वालेटलाई सिजीले नेपालको उदाउँदो मोबाइल वालेट, पेमेन्ट गेटवे र सर्भिस प्रोभाइडरको जामा भिराएको छ । उसले भनेको छ, ‘सिजी पेको हालसम्म आठ हजारबढी पीओएस छ ।’

चौधरी ग्रुपले त्यहि विवरणलाई ज्याक माको अलि पेसँग साझेदारी गर्न खोजेको विश्वस्त स्रोतले बताएको छ । यता, हालैमात्र मलेसियाका सबै सेभेन इलेभन डिपार्टमेन्टल स्टोरमा अलि पे प्लस कार्डबाट भुक्तानी गर्न मिल्ने बनाइएपछि चौधरीले मासँग पनि नेपालमा सिजी पेसँग मिलेर त्यस्तै गर्न सुझाएका हुन् ।

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार चीनको अन्ट ग्रुपले मलेसियाको सबै सेभेन इलेभन स्टोरमा अलिपे प्लसबाट भुक्तानी गर्ने अनुमति पाएको छ । यसबाट मलेसिया भ्रमणमा जाने चिनियाँहरुले सजिलैसँग चिनियाँ मुद्रा युआनमा डिजिटल भुक्तानी गर्न थालेका छन् । मलेसियाले चिनियाँ पर्यटक बढाउन यो स्वीकृति दिएको बताएको छ ।

तर, नेपालमा त्यस्ता पीएसपी कम्पनीमा विदेशी संस्था वा व्यक्तिले १५ प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने कानुनी व्यवस्था छ । अलिबाबाको तर्फबाट यसअघि नै दराज अनलाइन शपिङ कम्पनीमा १५ प्रतिशत लगानी भइसकेको नेपाल राष्ट्र बैंक स्रोतको दाबी छ । 

भिडियो : सिन्ह्वा ।

टिप्पणीहरू