अस्पताल अनुगमनसम्बन्धमा पत्रकारले भ्रम फैलाए

अस्पताल अनुगमनसम्बन्धमा पत्रकारले भ्रम फैलाए

-राजेन्द्रदेव पाण्डे,प्रजिअ (मकवानपुर)

हामीले हेटौँडाका केही निजी अस्पतालको अनुगमन गरेका थियौँ । केही जनगुनासो र केही हाम्रा आफ्नै नियमित कामअन्तर्गत नै उक्त अनुगमन गरिएको हो । अनुगमनमा जिल्ला प्रशासन कार्यालय मात्रै थिएन । हामीसँग सम्बन्धित नियामक निकायका प्रतिनिधिहरु, उपभोक्ता अधिकारवादी र पत्रकारहरु पनि हुनुहुन्थ्यो । कहिले सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा त कहिले प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा अनुगमन गरेका हौं । 

अनुगमनको अर्थ सेवाप्रवाहको प्रभावकारिता बृध्दि गर्ने अर्थात् सेवालाई सुधार गर्ने र गैरकानूनी क्रियाकलाप हुन नदिने नै हो । हामीले केही ठाउँमा कानून मिचेर सेवा प्रवाह हुने गरेको देख्यौँ । जस्तो कि,अस्पताल चलाउने अनुमति प्राप्त गरेर मात्रै हुँदैन,फार्मेसी चलाउन छुट्टै अनुमति आवश्यक पर्छ । ल्याब चलाउन छुट्टै कानुनी मान्यता छ,त्यो पूरा गर्नुपर्छ । जति अनुमति पाएको हो, त्यति मात्रै सेवा दिनुपर्छ । तर,केहीले त्यस्तो नगरेको पाइयो । हामीले कतिपयमा सिल गरेर फर्क्यौ भने कतिपयलाई अविलम्व सेवा सुधार गर्नु भन्यौँ । 

स्वास्थ्य मानवीय संवेदनासँग जोडिएको सेवा क्षेत्र हो । अवैधानिक काम भएको जनाउँदै पूर्ण रुपमा अस्पताल बन्द गर्ने,सञ्चालकलाई जेलमै कोचिहाल्नुपर्ने अथवा उनीहरुलाई अनावश्यक जटिलता सृजना गरेर हतोत्साहित गर्ने कुरामा व्यक्तिगत रुपमा म राजी छैन । र, त्यो कुरालाई मानवीय संवेदनाको दृष्टिकोणले स्वीकार गर्न पनि सकिँदैन । 

हामीले अनुगमन गरेका र सिल गरिएका कतिपय स्वास्थ्य संस्थाहरुले भनिएका र तोकिएका मूल्य,मान्यता पूरा गरेपछि सिल खोल्ने र सेवा सुचारु गर्ने काम भयो । कस्ता कस्ता समस्या देखिए भने हामीले कोभिडका बेला ती संस्थालाई २४ घण्टे सेवा, एम्बुलेन्ससहित स्वास्थ्यकर्मीलाई बिदा बस्न नदिने,आइसोलेसन व्यवस्थापन गरी बेड थप गर्नेलगायत काममा आदेशात्मक ढंगले ध्यान दिएका रहेछौँ । 

अहिले ती निजी अस्पतालले बेड थपेर काम गरेको देखियो । विगतमा थपिएको बेड अहिले अनुगमनमा कानून विपरित ठहरिए । त्यही कुरालाई लिएर केही साथीले अनावश्यक विवाद निकालिरहेका छन् । एउटा व्यवसायीले जनहितमा गरेको योगदान र लगानीलाई बिर्सन हुँदैन । त्यसो त अहिले देशकै आर्थिक अवस्था तरल रहेकाले व्यवसायीहरुलाई अधिक मार पार्ने, कडिकडाउ गर्नेभन्दा पनि समय दिएर सुधारका अभ्यास गर्ने, कानूनसम्मत बनाउँदै जाने कुराहरु हुन्छन् र हामीले त्यसअनुरुप गरेका छौँ । उहाँहरु पनि सरकारकै सहयोगी र जनहितमा काम गरेको संस्था वा त्यसका प्रतिनिधि हुनुहुन्छ । 

तर,अहिले अनावश्यक रुपमा म र जिल्ला प्रशासन कार्यालयलाईसमेत मुछेर विवादमा ल्याउने प्रयत्न भइरहेको छ, त्यसको म खण्डन गर्न चाहन्छु । मिडियामा आएका केही कपोलकल्पित कुराबाट भ्रमित नहुन सबैमा आग्रह गर्दछु । जुन कुरा स्पष्ट छैन, त्यसबारे जो कोहीले मसँग कार्यालयमा आएर सोध्न र बुझ्न सक्नुहुन्छ । 

तर,सकारात्मक सुधारका लागि गरिएका कामहरु नदेख्ने,को व्यवसायी वा अस्पताल सञ्चालकसँग कसको के दुश्मनी वा असमझदारी छ त्यो आँखाले हेर्ने र विश्लेषण, व्याख्या अनि मिडियाको दुरुपयोग गरेर अरुलाई दोषारोपण गर्ने चरित्र भने कुनै पनि दृष्टिकोणले ठीक होइन । कसैलाई केही कुरामा चित्त नबुझेमा म लाइभ प्रसारणमा डिबेट गर्न तयार छु । सत्य कुरा नबुझी,नहेरी,सहभागी नभई जुन प्रकारले हामी र हाम्रो अनुगमन टोलीमाथि एउटा साझेदार क्षेत्रका प्रतिनिधिहरुबाट  नकारात्मक सन्देश लैजान खोजिएको छ, त्यो राम्रो होइन । त्यस्ता कुरा र प्रवृत्तिले कसैको पनि भलो हुँदैन । 

म आम मकवानपुरवासी,उपभोक्ता अधिकारवादी र पत्रकारहरुलाई पनि सोही दृष्टिकोण स्पष्ट पार्न चाहन्छु । सबै मिलेर हरेक क्षेत्रको सेवा सुधारमा लागौँ । सबैले आफ्नो दायित्व पूरा गरौँ । पछिल्ला केही दिनमा मेराबारेमा राष्ट्रिय तथा स्थानीय स्तरका अनलाइन मिडिया, सामाजिक सञ्जालमा आइरहेका कुराहरु सत्य छैनन्,ती भ्रामक हुन् । सबैलाई म ती कुराको पछि नलाग्न अनुरोध गर्छु । 

(मकवानपुरका प्रमुख जिल्ला अधिकारी पाण्डेले जनआस्थाकर्मीसँग गरेको कुराकानीमा आधारित)

टिप्पणीहरू