उत्तरी सीमाना नजिकैको जलविद्युत परियोजनामा विश्व बैंकको लगानी

उत्तरी सीमाना नजिकैको जलविद्युत परियोजनामा विश्व बैंकको लगानी
सुन्नुहोस्

संखुवासभाको उत्तरी भेगमा बनाउने भनिएको माथिल्लो अरुण जलविद्युत परियोजनामा विश्व बैंकले वित्तीय व्यवस्थापन गर्ने भएको छ । प्रस्तावित एक हजार ६३ मेगावटको अर्धजलाशययुक्त जलविद्युत परियोजनामा बैंक समूहले ऋण प्रदान गर्ने सहमति भएको बताइएको छ ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त बैठकमा सहभागी हुन अमेरिका भ्रमणमा रहनुभएका अर्थमन्त्री वर्षमान पुनसँगको भेटवार्तामा विश्व बैंकका उच्च अधिकारीहरुले उक्त सहमति जनाएका हुन् । अर्थमन्त्री पुन र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच उक्त परियोजनासँगै विश्व बैंकको लगानीमा नेपालमा सञ्चालित आयोजनाहरुबारे छलफल भएको थियो । 

माथिल्लो अरुण जलविद्युत परियोजनामा विश्व बैंकको सहवित्तीयकरणमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाको सहुलियतपूर्ण ऋण र स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट ७० प्रतिशत ऋण लगानी जुटाउने र ३० प्रतिशत स्वपुँजी (इक्विटी) बाट वित्तीय व्यवस्थापन गर्ने तयारी रहेको जानकारी दिइएको छ । 

उक्त परियोजनाको निर्माण लागत अनुमान गर्न बाँकी छ । परियोजना क्षेत्र चीनसँगको सीमा नजिकै पर्छ ।

टिप्पणीहरू