कमरेडहरूमा उत्तिकै छ कलह

कमरेडहरूमा उत्तिकै छ कलह
सुन्नुहोस्

एकीकृत समाजवादीले सुदूरपश्चिम सरकारको नेतृत्व पाएसँगै एमाले–माओवादी गठबन्धनमा देखिएको तत्कालको संकट टरे पनि आपसी अविश्वास भने अझै मेटिएको छैन । नेताहरूका तीव्र महत्वाकांक्षा र एकले अर्काको अस्तित्व स्वीकार नगर्ने प्रवृत्तिका कारण गठबन्धनमा अविश्वास चुलिएको छ । 

यो विवादलाई खासगरी एमाले र सोही पार्टीबाट विभाजित एकीकृत समाजवादीबीच पुरानै द्वन्द्वको उपज मानिएको छ । त्यसको पटाक्षेप सुदूरपश्चिम प्रदेशबाट भएको हो । यद्यपि, त्यहाँको विवादले केन्द्रीय सत्ता नै खतरामा पर्ने भएपछि टालटुल त पारिएको छ तर खतरा टरिसकेको देखिँदैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकाएक समीकरण बदलेर एमालेसित सहकार्य शुरु गर्दा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको असन्तुष्टि थियो । कांग्रेससितकै गठबन्धन सहज ठान्दै आएका नेपाल नयाँ गठबन्धनको विपक्षमा त हुने नै भए, साथै आफूसँग सल्लाह नगरी समीकरण फेरेकोमा प्रचण्डसँग आक्रोशित थिए । तर, अन्तिम घडी समाजवादी गठबन्धनमा सामेल भयो । त्यसबेलै राष्ट्रिय सभाको उपाध्यक्ष र सुदूरपश्चिमको मुख्यमन्त्री पाउने सहमति भएको उक्त पार्टीका नेताहरूले दाबी गर्दै आएका छन् । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले गत आइतबार नागरिक उन्मुक्ति पार्टीलाई सुदूरपश्चिमको मुख्यमन्त्री दिने सहमति गरेपछि भड्किएको समाजवादी कांग्रेससँग मिलेर सरकार बनाउने तयारीमा जुट्यो । माधव नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर समर्थनसमेत मागेको स्थितिले गठबन्धन लगभग टुट्ने स्थितिमा पुगेको थियो । 

त्यसपछि हत्तपत्त बालुवाटारमा बैठक बसेर समाजवादीलाई नै मुख्यमन्त्री दिने सहमति भए पनि त्यताका एमाले नेताहरू दीर्घ सोडारीलाई स्वीकार नगर्ने पक्षमा उभिए । सोडारीविरुद्ध सम्पत्ती शुद्धीकरणको मुद्दा विचाराधीन रहेको र विगतमा चरित्रमाथि प्रश्न उठेकाले उनलाई समर्थन गर्न नसक्ने अडानमा थिए एमाले नेताहरू । तर, सुदूरपश्चिमका कारण केन्द्रीय सत्ता समीकरण नै भत्किने अवस्था देखिएपछि बाध्य भएर एमालेले अन्तिम घडीमा समर्थन दिँदा सोडारी अहिले मुख्यमन्त्री छन् । 

यद्यपि, एमालेले तत्काल सरकारमा नजाने निर्णय लिएको छ । अर्कोतिर नागरिक उन्मुक्ति पार्टीका सांसद टीका थापाले समर्थन फिर्ता लिएसँगै अघिल्लो दिन शपथ ग्रहण गरेका मुख्यमन्त्री भोलिपल्टै अल्पमतमा परेको अवस्था छ । यी सबै घटनाक्रम हेर्दा हाललाई केही साम्य देखिएको गठबन्धनभित्रको अन्तरकलह जुनसुकै बेला बल्झिने देखिन्छ । 

एकीकृत समाजवादीका एक नेताले यसलाई गठबन्धन जोगाउन एमाले अध्यक्ष ओली इमान्दार नरहेको अर्थमा बुझ्नुपर्ने टिप्पणी गरे । ‘कांग्रेस र माओवादीलाई छुटाउने उहाँ (ओली)को एक मात्र उद्देश्य थियो । त्यसमा सफल हुनुभयो । अब किन गठबन्धन जोगाउनुप¥यो र ?’, उनी भन्छन् । 

ओलीले आफ्नो पार्टीको अस्तित्व स्वीकार गर्न नसकेका कारण सहकार्य अप्ठेरोमा परेको उनको भनाइ छ । तत्कालीन नेकपाको विवादमा प्रचण्ड–माधव खेमामा रहेका र आफूविरुद्ध आक्रामक अभिव्यक्ति दिएका नेताहरूलाई राजकीय भूमिकामा रोक्ने एमाले रणनीतिअन्तर्गत सोडारीलाई अस्वीकार गरिएको दाबी गर्ने ती नेता अगाडि भन्छन्, ‘यौनकाण्ड लागेका महेश बस्नेत र ऐन महरलाई छेउमा राखेर बैठक चलाउने मान्छेले अर्काको चरित्रको कुरा गर्नु आफैँमा हाँस्यास्पद होइन र !’

त्यसो त, एमाले अध्यक्षमाथि फरक विचार र आलोचकलाई निषेध गर्ने गरेको आरोप विगतदेखि नै लाग्दै आएको छ । फरक विचार समूहको अस्तित्व स्वीकार नगरेकै कारण तत्कालीन नेकपा हुँदै एमाले विभाजन भएको भन्नेहरू त्यसमा ओलीलाई जिम्मेवार ठान्छन् । अघिल्लो पटक एमाले–माओवादी सहकार्य डेढ महिनामै भत्किनुमा पनि यस्तै कारण देखाउने गरिएको छ । 

‘दीर्घ सोडारीको नैतिकता र चरित्रमा आधारित आर्गुमेन्ट नै हैन यो, माधवलाई जसरी पनि गठबन्धनबाट निक्लन बाध्य पार्ने र यो समीकरण भत्काउने रणनीतिअन्तर्गत चालिएका कदम हुन्’, समाजवादी स्रोत दावी गर्दै भन्छ । 

समीकरण टुटाउन बाह्य शक्ति सक्रिय 

अहिलेको सत्ता समीकरण भत्काउन दक्षिणको छिमेकीले प्रयास गरिरहेको कुरा ‘ओपनसेक्रेट’ तथ्य हो । एमाले–माओवादी सहकार्यलाई आफू प्रतिकूल ठान्दै आएको भारत जुनसुकै मूल्यमा पनि यसलाई तोड्न चाहन्छ भन्ने कुरा यसबीचका घटनाक्रमले पुष्टि पनि गरिसकेको छ । 

एमाले अध्यक्ष ओलीले आफ्नै पार्टीको बैठकमा गरेको रिपोर्टिङअनुसार भारत नयाँ गठबन्धनको पक्षमा खुलेरै आइरहेको छ । नयाँ समीकरण बनेलगत्तै बसेका दुई वटा सचिवालय बैठकमा ओलीले आफूलाई प्रधानमन्त्री बनिदिन भारतले आग्रह गरिरहेको ब्रिफिङ गर्नुले धेरै कुरा प्रष्ट हुन्छ । 

अर्कोतिर, चीनले बनाइदिएको गठबन्धन भनेर प्रचार गरिएकाले पश्चिमाहरू पनि यो समीकरणको पक्षमा छैनन् । अहिले सरकार फेर्न भित्रभित्रै चलिरहेको आन्तरिक खेलले भारतको निर्वाचनपछि तीब्रता पाउने एकथरीको विश्लेषण छ । सत्ता पक्षकै नेताहरूले बजेटसम्म सरकार जाँदैन भन्दै खुलेआम अभिव्यक्ति दिनुले काठमाडौँमा मात्रै खेलोफड्को चलिरहेको छैन भन्ने सजिलै बुझ्न सकिन्छ । 

यता, चीनले ‘स्थिर वामपन्थी सरकारको पक्षमा छौँ’ भनेर नेपालको सत्ता राजनीतिमा आफ्नो चासो रहेको सन्देश निरन्तर दिइरहेको छ । यी सबै तथ्यलाई केलाएर हेर्दा गठबन्धनको निरन्तरतामा आन्तरिकभन्दा बाह्य ‘फ्याक्टर’ प्रभावी हुने देखिन्छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू