ठेक्का चीनको, चित्त दुखाइ भारतको

ठेक्का चीनको, चित्त दुखाइ भारतको

‘साँध–सीमा भारतको, ठेक्का चाइनालाई ?’ यसो भन्दै अहिले लैनचौरस्थित भारतीय दूतावास निकट नेपालीहरू सिंहदरबारतिर कुदाकुद गर्दैछन् । 

सौर्य उर्जाबाट विद्युत उत्पादन गर्ने अहिलेसम्मकै सबैभन्दा ठूलो परियोजनाका विषयलाई लिएर यस्तो भएको हो । वैशाख १६ र १७ गते आयोजना गरिने तेस्रो लगानी सम्मेलनका निम्ति लगानी बोर्डले नेपाल सरकारसमक्ष निजी क्षेत्रका ३१ परियोजनालाई शोकेसमा राख्न सिफारिस गरेमध्येको एउटा जलविद्युत परियोजनाको ठेक्का चिनियाँ कम्पनीले पाउँदा भारतीय पक्षले चित्त दुखाएको बताइन्छ ।

बाँकेको कोहलपुर र कपिलवस्तुको बाणगंगामा एक सय २५ मेगावाटका दरले दुई सय ५० मेगावाट सौर्य ऊर्जा परियोजना र २० मेगावाटका दरले ४० मेगावाट क्षमताका ब्याट्री स्टोरेज प्लाण्ट स्थापनार्थ २०७७ सालमै लगानी बोर्डले सिंगापुरमा अवस्थित चिनियाँ लगानीको कम्पनीसँग सम्झौता गरेको थियो । राइजेन इनर्जी नामक उक्त कम्पनीले ०७७ सालको असार ५ गते सर्वेक्षण अनुमति पायो । लगत्तै विद्युत विकास बोर्डबाट इजाजत पत्र पनि दिइयो । त्यो इजाजत पाउँदैमा भारतीय दूतावासले आपत्ति जनाइसकेको थियो । अहिले त काम नै अगाडि बढाउने गरी शोकेसमा परियोजना राख्ने कुराले पुरानो घाउ बल्झिएको अवस्था छ । 

गत चैत अन्तिम साताको मन्त्रिपरिषद् बैठकले उक्त परियोजनाका लागि अनुमान गरिएको २१ अर्ब १० करोड रकम स्वीकृत गरेको थियो । उक्त परियोजना बाणगंगा नगरपालिका– ७, खारखानीको एक सय ३० हेक्टर जमिनमा सञ्चालित छ । कम्पनीका नेपाली एजेण्ट छविलाल सिटौला हुन् ।

यसअघि उक्त कम्पनीले नुवाकोटमा नेपाल विद्युत प्राधिकरणले बनाउन थालेको ५० मेगावाटको प्लाण्ट ठेक्कामा लिएर काम गरेको थियो । विश्व बैंकको लगानीमा बन्ने उक्त प्लाण्टको ठेक्काका निम्ति ग्लोबल टेण्डर हुँदा राइजेनले पाएको हो । विभिन्न मुलुकमा वर्षेनी १४ सय मेगावाट सौर्य उर्जा गर्दै आएको राइजेनलाई भारतीय सीमावर्ती क्षेत्रको परियोजना दिनुहुँदैन भन्ने अडान दूतावासले कायमै राखेको स्थितिमा लगानी सम्मेलनको वातावरण कस्तो रहला ? प्रश्न गर्न थालिएको छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू