फिल्मको हिरो बन्दै अशोक दर्जी

फिल्मको हिरो बन्दै अशोक दर्जी

करिब ६ वर्षअघि झापाको दमकस्थित सडकमा गीत गाएर पैसा माग्दै हिंड्ने अशोक दर्जी चर्चित गायकका रुपमा परिचित छन् । उनै गायक अब भने फिल्मको हिरो बन्ने निश्चित भएको छ । 

अशोकको चर्चित गीत 'मन विनाको धन ठूलो कि धन विनाको मन' शीर्षकमा चलचित्र बन्न लागेको हो । अशोकले डेब्यु गर्न लागेको यस चलचित्रमा संगीतकार टंक बुढाथोकीले पनि ठूलो पर्दाको निर्देशनमा हात हाल्दैछन् । 

शिवम अधिकारीले चलचित्रको स्क्रिप्ट लेखेर बुढाथोकीलाई हस्तान्तरण गरिसकेको बताइएको छ । यद्यपि, यो चलचित्रको अन्य कलाकारबारे अहिले केही खुलाइएको छैन । केहीदिनमा औपचारिक कार्यक्रम गरेर चलचित्र र कलाकारबारे थप घोषणा गर्ने तयारी रहेको बुझिएको छ । 

सडकमा गीत गायर हिँड्ने अशोक युट्युबबाट चम्किएका स्टार गायक हुन् । त्यसबेला दमकको रोडमा गाएको गीत सामाजिक सञ्जालमा पोस्ट भएपछि युट्युबरले उनलाई चर्चित बनाइदिए । सञ्जालमा चर्चा कमाइरहेका अशोकलाई त्यसको एक वर्षपछि गायक तथा संगीतकार टंक बुढाथोकीले काठमाडौँ ल्याए । र, पहिलो गीत रेकर्ड गराइदिए, 'मन विनाको धन ठूलो कि धन विनाको मन' । 

गीतले बजार ततायो । त्यतिबेला यो गीतले एक दिनमै ७ लाख भ्युज पाएको थियो । जबकि त्यति भ्युज पाउन अहिले चल्तीका कलाकारलाई पनि हम्मे-हम्मे हुन्छ । त्यसपछि बुढाथोकीले अशोकको दोश्रो गीत रेकर्ड गराए, 'चौरीको राम्रो छुर्पी' ।  यो गीत पनि हिट भयो । केही सातामै यसले पनि करोड क्लबमा प्रवेश पायो । 

एकातिर अशोकको फेम्ड दिनानुदिन बढिरहेको थियो, अर्कोतिर बुढाथोकीको यूटुब च्यानल र आम्दानी वृद्धि भइरहेको थियो । समग्रमा उनीहरु एकअर्काको लागि 'लक्की' सावित भए ।

टिप्पणीहरू