‘फर्की फर्की’ बाट फर्किंदै अनमोल, हलमा भद्रगोल

‘फर्की फर्की’ बाट फर्किंदै अनमोल, हलमा भद्रगोल

अनमोल केसी युवापुस्ताका चर्चित कलाकार हुन् । दर्शकमा उनको राम्रो ‘क्रेज’ देखिन्छ । खासगरी उनलाई महिला फ्यानहरुले ज्यादा पछ्याएको पाइन्छ । तर, अभिनयको सवालमा भने अनमोलले अझै मेहनत गर्नुपर्ने समीक्षकहरुको सुझाव छ । 

२०७९ को फागुनमा रिलिज भएको अनमोल अभिनित चलचित्र ‘छड्के २.०’ फ्लप भयो । बक्स अफिसको रेकर्डलाई आधार मान्ने हो भने करिब चार करोडमा बनेको यो चलचित्रले मोटामोटी ३० लाख रुपैयाँ कलेक्सन गरेको छ । त्यसअघि आठ वटा हिट चलचित्र दिएका अनमोलको लागि त्यो नै पहिलो धक्का थियो । 

त्यस्तै, अनमोललाई अर्को धक्का गत वर्ष असोज १२ गते पनि लाग्यो । उनी भक्तपुरको साँगाबाट पक्राउ परे । एउटा चलचित्रको लागि एडभान्समा १० लाख रुपैयाँ लिएपछि सम्झौताअनुसार सुटिङमा उपस्थित नभएको आरोपमा उनी समातिएका थिए । 

समग्रमा गएको दुई वर्ष अनमोलको निम्ति खासै राम्रो देखिएन । तर, यो वर्ष भने उनले करिअरमा राम्रो फड्को मार्ने शुभ संकेत दिएका छन् । 

केही दिनअघि मात्र उनको नयाँ चलचित्र ‘फकी फर्की’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरलाई यतिबेला दर्शकहरुले निकै रुचाएका छन् । यो समाचार तयार पार्दासम्म ट्रेलर २३ लाखभन्दा बढी दर्शकले हेरिसकेका छन् । 

त्यसो त, ट्रेलर हिट हुँदैमा चलचित्र चल्छ भन्ने निश्चित हुँदैन । किनकि यसअघि ट्रेलर हिट भएका थुप्रै चलचित्र फ्लप भएको उदाहरण प्रशस्त छन् । अनमोलको ‘फर्की फर्की’ को हकमा के हुन्छ ? त्यो थाहा पाउन भने जेठ १० गतेसम्म कुनैपर्ने हुन्छ । 

ट्रेलरले चर्चा पाइरहँदा अनमोलको यो चलचित्रमाथि चुनौती थपिएको छ । सोही मितिमा अरु दुई ठूला फिल्म पनि रिलिज हुँदैछन् । आर्यन सिग्देल, पल शाह र प्रदिप खड्का अभिनित चलचित्र ‘पुजार सार्की’ र पूजा शर्मा अभिनित चलचित्र ‘दान्भी’ । 

फेन्टासी रोमान्टिक ड्रामा जनरामा बनेको ‘फर्की फर्की’मा अनमोलले अभिनेत्री जसिता गुरुङसँग रोमान्स गरेका छन् । सुयोग गुरुङले निर्देशन गरेको यो चलचित्रको निर्माता रोहित अधिकारी हुन् ।

टिप्पणीहरू