'होस्टेल'मा जम्ने अब कसको पालो ?

'होस्टेल'मा जम्ने अब कसको पालो ?

०७० असारमा चलचित्र 'होस्टेल' रिलिज भयो । यसै चलचित्रबाट अभिनेता अनमोल केसीसहित प्रकृति श्रेष्ठ, सलोन बस्नेत र गौरव पहारीले ठूलो पर्दामा डेब्यु गरे । 

खासगरी युवापुस्तालाई टार्गेट गरेर निर्माण गरिएको यस चलचित्रले बक्स अफिसमा राम्रै कलेक्शन गर्यो । फलस्वरुप, यस चलचित्रबाट डेब्यु गरेका सबै कलाकारले अहिले राम्रो करिअर बनाइसकेका छन् । 

दुई वर्षपछि 'होस्टेल'को दोश्रो सिक्वेल बन्यो, 'होस्टेल रिर्टन्स' । यहि चलचित्रमार्फत स्वस्तिमा खड्का, नाजिर हुसेन, शुसिल श्रेष्ठलगायतले ठूलो पर्दामा डेब्यु गरे । होस्टेल रिर्टन्स पनि हिट भयो र चलचित्रका पात्रहरु अहिले चल्तीका कलाकार छन् । 

यसरी हेर्दा, 'होस्टेल'लाई नयाँ कलाकार जन्माउने 'ब्राण्ड भ्यालु' भएको चलचित्र भनिन थालेको छ । यहीबीच करिब ८ वर्षपछि 'होस्टेल'को तेस्रो सिक्वेल पनि बन्ने भएको छ । चलचित्रको निर्माण टिमले आज एक पोस्टर सार्वजनिक गर्दै यसबारे जानकारी दिएको हो । 

सम्मान इन्टरटेनमेन्ट र आरोन कन फिल्म्सको सहकार्यमा निर्माण हुन लागेको यस चलचित्रलाई शसान कंडेलले निर्देशन गर्ने बताइएको छ । यसअघि विभिन्न म्युजिक भिडियो निर्देशन गरेका उनले ठूलो पर्दामा डेब्यु गर्न लागेका हुन् । 

माधव शर्माले लेखेको यस चलचित्रको निर्माताको रूपमा शिशिर ज्ञवाली र कार्यकारी निर्मातामा शंकर कोइराला छन् । 

दुबै सिक्वेलले डेब्यु कलाकारलाई स्थापित गराएको होस्टलको तेस्रो सिक्वेल्मा क-कसको डेब्यु  हुन्छ र को-को सफल हुन्छन्, त्यो भने हेर्न बाँकी नै छ ।

टिप्पणीहरू