हनिमुन मनाउने देउवा पुत्रलाई भिआइपी खुल्ला,उपाध्यक्षलाई ढोका बन्द

हनिमुन मनाउने देउवा पुत्रलाई भिआइपी खुल्ला,उपाध्यक्षलाई ढोका बन्द
सुन्नुहोस्

हिजो मंगलबार राष्ट्रिय सभाकी  नवनिर्वाचित उपाध्यक्ष बिमला घिमिरे अष्ट्रेलिया उड्न लागेका छोराको बिदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिइन् । दिउँसो ३ बजेतिर पिएसओसहित एयरपोर्ट पुगेकी उनले भिआइपी सुविधा मागे पनि पाइनन् । ड्युटीमा खटिएका कर्मचारीले विशिष्ट व्यक्तिबाहेकलाई त्यस्तो सुविधा दिन नमिल्ने भन्दै रोकेपछि तलैबाट छोरालाई बिदा गरेर फर्किन बाध्य भइन् ।  

हनिमुन मनाउन इण्डोनेशियाको बालीबाट फर्किएका पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा-बुहारी मलेसियन एयरलाइन्सको जहाजबाट विमानस्थल ओर्लिए । राति पौने ११ बजे एयरपोर्ट आइपुगेका उनीहरुलाई भने माग्दै नमागी भिआइपी कक्ष उपलब्ध गराइयो । औपचारिक पत्र लेखेर त्यस्तो सुविधा नमागेका पूर्वप्रधानमन्त्रीका छोरा-बुहारीले सजिलै भिआइपी कक्ष प्रयोग गर्न पाउँदा जननिर्वाचित सर्वोच्च थलो राष्ट्रिय सभाका उपाध्यक्षले भने परैबाट हात हल्लाएर छोरालाई बिदा गर्नुपरेको यी दुई घटना केही घण्टा अन्तरालका हुन् । 

"औपचारिक पत्र लेखेर त्यस्तो सुविधा नमागेका पूर्वप्रधानमन्त्रीका छोरा-बुहारीले सजिलै भिआइपी कक्ष प्रयोग गर्न पाउँदा जननिर्वाचित सर्वोच्च थलो राष्ट्रिय सभाका उपाध्यक्षले भने परैबाट हात हल्लाएर छोरालाई बिदा गर्नुपरेको यी दुई घटना केही घण्टा अन्तरालका हुन् ।"

हिजो नै चीन भ्रमणमा गएका राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेश तिमिल्सिना र राप्रपाका ठेकेदार सांसद विक्रम पाण्डेले पनि भिआइपी कक्ष प्रयोग गरे । त्यस्तो त, विमानस्थलमा भिआइपी कक्षको दुरुपयोग हुने गरेको यो नै पहिलो पटक भने होइन । भारतीय जोगीदेखि विभिन्न काण्ड लागेका विवादित व्यक्तिहरुले भिआइपी सुविधा लिँदै आएका छन् । अनाधिकृत रुपमा यसरी भिआइपी कक्ष प्रयोग भैरहँदा पनि नागरिक उड्डयन प्राधिकरण,विमानस्थल प्रशासन र सुरक्षा निकाय भने मौन छन् । 

'विशिष्ट व्यक्ति'हरुको श्रेणी निर्धारण गरी उनीहरुलाई मात्रै विमानस्थलमा विशिष्ट कक्ष प्रयोग गर्न दिने कानुनी व्यवस्था छ । नेपाल राजपत्रको भाग ५ को खण्ड (६४) संख्या १२ मा कस्ता व्यक्तिले भिआइपी सुविधा पाउने भनेर प्रष्ट किटान गरिएको छ ।

तर, शक्ति केन्द्रलाई खुशी पार्ने नाममा अनाधिकृत व्यक्तिलाई समेत भिआइपी कक्ष प्रयोग गर्न दिने परिपाटीले समग्र विमानस्थलको सुरक्षा व्यवस्थापनमा चुनौती थपिएको छ । देउवा पुत्र जयवीरसिंह र बुहारी शिवाना श्रेष्ठले कुन आधारमा 'विशिष्ट व्यक्ति'को मान्यता पाएका हुन् ? 

अन्य विशिष्ट व्यक्तिहरुलाई भिआइपी कक्ष उपलब्ध गराउन सम्वन्धित निकायको पत्र चाहिने र त्यसको रेकर्ड राख्नुपर्ने तर, पूर्वप्रधानमन्त्रीका छोरा-बुहारीलाई त्यस्तो केही नपर्ने ? विमानस्थल प्रशासनले जवाफ दिनुपर्छ । 

अर्कोतिर,माग्दै नमागेको भिआइपी सुविधा पाएका जयवीर र शिवानाको झोलासमेत चेकजाँच गरिएन । त्रिभुवन विमानस्थल सुन तस्करीको अखडा बनिरहेको र ठूला नेताका छोराहरु नै त्यस्ता कर्ममा संलग्न रहेको तथ्य खुलिरहंदा पूर्वप्रधानमन्त्रीका छोरा-बुहारीको झोला स्क्यान नगरिएकोमा भन्सारकै कर्मचारीले आशंका गरेका छन् ।

टिप्पणीहरू