बालयौन दुर्व्यवहार भयंकर

बालयौन दुर्व्यवहार भयंकर सांकेतिक तस्विर
सुन्नुहोस्

 – वसन्ती भट्ट

शारीरिक, मानसिक, सामाजिक तथा नैतिक रूपमा परिपक्व भइनसकेकालाई बालबालिका भनिन्छ । विश्वव्यापी कानुनअनुसार १८ वर्षभन्दा कम उमेरका र नेपालको कानुनअनुसार १६ वर्ष भन्दामुनिका व्यक्तिलाई बालबालिका भनिएको छ । कहालीलाग्दो विषय त के छ भने तिनै बालबालिकासमेत यौन दुर्व्यवहारको शिकार भइरहेका छन् । 

नेपालको संविधान, २०७२ भाग ३, धारा ३९ को उपधारा (७) मा भनिएको छ,‘कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन ।’ मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ मा बाल यौन दुरूपयोग गर्न नहुने व्यवस्था छ । कसैले करणीको आशयले बालबालिकालाई अस्वाभाविक एकान्तमा लगेमा, यौनसम्बन्धी निजको अंग छोएमा वा समातेमा, छुन वा समाउन लगाएमा वा कुनै किसिमको यौनजन्य अस्वाभाविक व्यवहार गरेमा बालयौन दुरूपयोग गरेको मानिने उल्लेख छ । 

सो कसूर गरेमा तीन वर्षसम्म कैद र तीन हजार रूपैयाँसम्म जरिवाना हुने प्रावधान छ । बालबालिकासम्बन्धी ऐन, २०७५ ले अश्लील चित्र, श्रव्यदृश्य वा त्यस्तै किसिमको सामग्री देखाउने, यौनजन्य आचरण वा व्यवहार झल्काउने अभिव्यक्ति वा हाउभाउ प्रदर्शन गर्ने, यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गर्ने, फकाउने, दबाब दिने, यौनजन्य मनसायले शरीरको संवेदनशील अंगमा स्पर्श गर्ने, चुम्बन गर्ने, बाल यौन शोषण गर्ने वा गराउनेलगायत कार्यलाई अपराध भनेको छ । 

यति धेरै कानुनका बाबजुद पनि बाल यौन दुर्व्यवहारका घटनामा कमी आउन नसक्नु लज्जास्पद कुरा हो । आफ्नै आफन्त, चिनेजानेका व्यक्तिबाट बालबालिका यौन हिंसाको पीडित भइरहेको तथ्यहरू पटकपटक उजागर भएका छन् । ठीक–बेठीक छुट्याउन नसक्ने उनीहरूलाई विभिन्न प्रलोभन, डरत्रास देखाएर यौन दुव्र्यवहार गर्ने गरिन्छ । शिक्षकबाटै बालबालिका यौन दुर्व्यवहार पीडित भएको धेरै उदाहरण छन् । २०७५ साउन १० गते बलात्कारपछि हत्याको शिकार भएकी ९ कक्षामा पढ्ने बालिका निर्मला पन्तको हत्यारा अहिलेसम्म पत्ता लगाउन सकिएको छैन । 

१३ वर्षीया बालिकाको हत्यारा खोज्न सरकारले बारम्बार समिति गठन गर्‍यो तर केही हात लागेन । अन्तर्राष्ट्रियस्तरकै ध्यान खिचेको घटना यत्तिकै सेलायो, उनी मरेको मर्‍यै भइन् । त्यस्तै, बझाङको मष्टा गाउँपालिका २, खिकालाकी १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि निर्मम हत्या भएको घटना सार्वजनिक भएको थियो । यी त केही उदाहरण मात्रै हो । राजधानीका होटलमा बालिकालाई वेश्यावृत्तिमा लगाउने गरिएको पाइन्छ । केही दिनअघि काठमाडौं महानगरपालिका–१६, स्थित ‘लाफा’ खाजाघरबाट त्यस्ता बालिकाको उद्धार गरिएको थियो । 

अनलाइनमार्फत हुँदै यौन दुर्व्यवहार

पछिल्लो समय अनलाइनमार्फत बालयौन दुर्व्यवहार बढ्दो छ । फेसबुक, म्यासेन्जर, टिकटक, युट्युब, भाइबर, ट्विटर, ह्वाट्सएप, इमो, इन्स्टाग्रामआदिको प्रयोग गरी बालयौन दुव्र्यवहार गर्ने गरिएको भ्वाइस अफ चिल्ड्रेनले जनाएको छ । सामाजिक सञ्जालमार्फत यौनजन्य सन्देश, भिडियो र फोटो पठाउने, नग्न फोटो र भिडियो प्रयोग गरी धम्क्याउने, प्रलोभन देखाउने कार्य बढेको संस्थाले जानकारी दिएको छ । संस्थाको साइबर सेफ्टी प्रोजेक्ट म्यानेजर अंकिता थापाका अनुसार १३ देखि १८ वर्षसम्मका बालबालिका अनलाइनमार्फत हुने बालयौन दुर्व्यवहारको जोखिममा छन् । 

हाल बागमती प्रदेशको ललितपुर र कोशी प्रदेशको सुनसरीमा बालयौन दुर्व्यवहारविरुद्धको अभियान सञ्चालन गरिरहेको प्रोजेक्ट म्यानेजर थापाले बताइन् । नेपाल प्रहरीका अनुसार बर्सेनि बालयौन दुराचार बढ्दो छ । ०७६–७७ मा २३२ वटा त्यस्ता घटना छन् । जसमा कोशी प्रदेशमा ५८, मधेशमा ३३, बागमतीमा ३७, गण्डकीमा ३१, लुम्बिनीमा ३४, कर्णालीमा ५, सुदूरपश्चिममा ७, काठमाडौं उपत्यकामा २६ र ब्यूरोमा १ रहेको छ । 

२०७७–७८ मा २८१ बालयौन दुर्व्यवहारको घटना दर्ता भएको प्रहरीले जनाएको छ । सबैभन्दा बढी घटना कोशीमा दर्ता भएको छ । कोशीमा ७७ वटा मुद्दा दर्ता हुँदा मधेशमा ३५, बागमतीमा ४६, गण्डकीमा ३९, लुम्बिनीमा ३४, कर्णालीमा ३, सुदूरपश्चिममा १९, उपत्यकामा २८ रहेको तथ्यांकमा उल्लेख छ । कोशीमा ९९, मधेशमा १७, बागमतीमा ४६, गण्डकीमा ३७, लुम्बिनीमा ३७, कर्णालीमा ११, सुदूरपश्चिममा १२ र उपत्यकामा ५५ गरी ०७८–७९ मा ३१४ वटा मुद्दा दायर भएको छ । 

२०७९–८० मा बालयौन दुराचारका घटना बढेर ३४३ पुगेको छ । कोशीमा ९३, मधेशमा २४, बागमतीमा ५७, गण्डकीमा ३८, लुम्बिनीमा ४५, कर्णालीमा ८, सुदूरपश्चिममा १८ र उपत्यकामा ६० वटा मुद्दा दर्ता भएको छ ।  

(साभार:जनआस्था साप्ताहिकबाट)
 

टिप्पणीहरू