खोइ जिबी राई ?

खोइ जिबी राई ?
सुन्नुहोस्

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेज्यूले एकपटक भाषणमा भन्नुभएको थियो– मलाई गृहमन्त्री बनाउनुस्, एक हप्तामा जिबी राईलाई समातेर ल्याइदिन्छु । 

यसो भन्नुहुँदा उहाँ गृहमन्त्री बन्नुभएको थिएन । तथापि बन्नका लागि भित्रभित्रै तयारीचाहिँ गरिराख्नुभएको थियो । नभन्दै उहाँ गृहमन्त्री बन्नुभयो । तर, जिबी राई भने पक्राउ परेनन् । उहाँ दोस्रोपटक गृहमन्त्री बन्नुभएको त हप्ता भइसक्यो क्यारे ! तर जिबी राई पक्राउ भने परेका छैनन् । शायद उहाँ जिबी राईलाई आकाश र पातालमा खोज्दै हुनुहुन्छ होला । किनभने उहाँले जिबी राईलाई आकाश पातालमै गएर भए पनि खोजी ल्याउँछु भन्नुभएको थियो । 

धेरैको अनुमान छ, उपप्रधानमन्त्री रवि लामिछानेज्यू गृहमन्त्री बन्नुभएको जिबी राईलाई समाउन होइन । उहाँ वास्तवमा जिबी राईलाई नसमाउनका लागि गृहमन्त्री बन्नुभएको हो । अहिले फरार अवस्थामा रहेका जिबी राईका लागि सबैभन्दा सुरक्षित समय भनेको यही हो ।

आफ्नै पार्टनर गृहमन्त्री बनेको बेला केको चिन्ता ? एक पैसा नलिई १५ प्रतिशत शेयर दिने व्यक्ति पो हुन् त बाबै । त्यही शेयरको कसम, लामिछानेले आफूलाई समाउनु हुने छैन । समाए पनि उही महरालाई जस्तै त गर्ने होला नि ! भाग्दाभाग्दै समाउने । समाएपछि काठमाडौं ल्याएर छोड्ने । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू