बर्गर पसल

बर्गर पसल

उपप्रधान एवं गृहमन्त्री श्री रवि लामिछानेज्यू सरकारमा गएपछि विभिन्न विदेशी कूटनीतिक नियोगका पदाधिकारीहरूसँग पनि भेट्नुपर्ने बाध्यता छ ।

कहिले भारतीय त कहिले चिनियाँ, कहिले अमेरिकी त कहिले युरोपेली । भेट जारी नै छ । यसै क्रममा अस्ति एउटा अमेरिकी टोलीसँग भेटवार्ता भयो । टोलीमा एकजना भर्खरकै कूटनीतिज्ञ पनि थिए । नयाँ भनौँ न । कुर्सीमा रवि लामिछानेलाई देखेर उनी बुरुक्क उफ्रे, ‘अरे ! मिष्टर लामिछाने ! मलाई चिन्नुभयो ?’

लामिछाने अक्मकिए र भने, ‘मैले चिनिन सर । हामी भर्खर त भेट्दै छौँ ।’

‘हैन नि, योभन्दा पहिले पनि भेटिसकेका छौँ । न्यूयोर्कमा । चिन्नुभयो मलाई ?’ उनले फेरि भने । 

‘म केही समय न्यूयोर्क बसेको त थिएँ । तर तपाइँलाई चाहिँ चिनिन मैले’ लामिछानेले अनभिज्ञता जनाए । 

कूटनीतिज्ञले भने, ‘अरे, न्यूयोर्कमा तपाइँको बर्गर पसल थियो हैन ? सबवेको उही पुल मुनि क्या । म सधैँ बर्गर खान आउँथेँ नि । एक दिन तपाइँले मेरो हण्ड्रेड डलर लिनुभएको थियो । चेञ्ज पैसा भोलि फिर्ता गर्छु भन्नुभएको थियो । मैले ओके भनेँ । तर भोलिपल्ट आउँदा त तपाइँ गायब । पसलै अरुलाई बेच्नुभएछ । त्यसपछि एकचौटी आज भेट भयो । त्यो पनि यहाँ । ह्वाट अ सरप्राइज !’

अमेरिकी कूटनीतिज्ञको भाषा त बुझियो तर के भन्न खोजेका हुन् त्यो भने बुझिएन । उनले देखेको अर्कैलाई हो, तर लामिछाने जस्तो लागेको मात्रै पो हो कि ?
 

टिप्पणीहरू