एक पार्टी, दुई सरकार

एक पार्टी, दुई सरकार

सुदूरपश्चिम प्रदेशमा सरकार बनाउने अवसर नागरिक उन्मुक्ति पार्टीलाई प्राप्त भएको छ । सांसदको संख्या गन्ने हो भने त्यहाँ नागरिक उन्मुक्तिले सरकार गठन गर्ने त परको कुरा, अरुले गठन गरेको सरकारमा बस्न मिल्ने सांसद पनि ऊसँग छैन । तर गर्ने के ? कथाले यस्तो कुरा मागिदियो कि त्यहाँ नागरिक उन्मुक्तिबाहेक अरुले सरकार गठन गर्न सक्ने अवस्थै भएन । 

शायद धेरै दुःखले पाएको अवसर भएर होला, अहिले सुदूरपश्चिममा नागरिक उन्मुक्तिकै दुई सांसदले सरकार गठनको दावी पेश गरेका छन् । पार्टी एउटै हो, तर नागरिक उन्मुक्तिलाई एउटा सरकारले पुगेन, दुइटा सरकार चाहियो । त्यसैले एउटै प्रदेशमा एउटै पार्टीका दुई सांसदले सरकार गठनको दाबी पेश गरेका छन् । यस्तो गर्नुको एउटै अर्थ हुन्छ– त्यहाँ नागरिक उन्मुक्ति एउटा होइन दुइटा सरकार गठन गर्न चाहन्छ ।

अत्यन्त अविकसित अवस्थामा रहेको सुदूरपश्चिम प्रदेशको द्रुत विकास गर्ने हो भने त्यहाँ एउटा सरकारले काम गरेर भ्याउँदैन पनि । काम गर्न कमसेकम पनि दुई वटा सरकार चाहिन्छ । अझ सम्भव छ भने तीन वटा पनि चाहिन सक्छ । दुइटा सरकार भयो भने काममा प्रतिस्पर्धा हुन्छ । विपक्षी भन्ने हुँदैन । विपक्षी नै नभएपछि विपक्षीले खुट्टा तान्ला कि भन्ने भय नै रहेन । त्यसैले अब सुदूरपश्चिममा नागरिक उन्मुक्तिका दुई सांसदको दुइटै सरकार बनाइदिने हो कि ?

टिप्पणीहरू