८७ वर्षीया वृद्धा, श्रीमानसामु सुँक्क सुँक्क

८७ वर्षीया वृद्धा, श्रीमानसामु सुँक्क सुँक्क
सुन्नुहोस्

८७ वर्षका वृद्ध भगवान पुकार्दैै, दश औंला जोडेर अदालतको इजलाशतिर फर्किएका छन् । अगाडि २ जना न्यायाधीश छन्, ती पनि मान्छे नै हुन् । ‘हजुरबा’ हरूको त्यस्तो कारुणिक भाव देखेर को नपग्लिएला ?

बबरमहलस्थित विशेष अदालतमा आइतबार (चैत २५) देखिएको दृश्य हो यो । गैर कानुनी सम्पत्ति कमाउने नेपाल इञ्जिनियरिङ कलेज, भक्तपुरका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेसहितका प्रतिवादी इजलाशमा थिए । त्यही लहरमा देखिए, मेडिकल डाक्टरका रुपमा धेरै वर्ष काम गरेर अवकाश पाई जीवनको तनावपूर्ण उत्तराद्र्ध गुजारिरहेका ८७ वर्षीय डा.रामरत्न उपाध्यायहरू । अर्का वृद्ध, ०५१ सालका पोख्रेली उद्योग राज्यमन्त्री हरिप्रसाद पाण्डे पनि त्यहीँ थिए, इजलाशतिर नमस्कार गर्दै बसेका ।

२०५१ सालमा संघसंस्था दर्ता ऐनबमोजिम सञ्चालन गरिएको इञ्जिनियरिङ कलेजलाई लम्बोदरले २०६१ सालमा निजी कम्पनी बनाए । उनले आर्जन गरेको १२ करोड ४४ लाख रुपैयाँ गैरकानुनी देखिएपछि २०७८ सालमा सम्पत्ति शुद्धिकरण मुद्दा लाग्यो । सँगै अन्य ९ जना प्रतिवादी थिए । त्यहीभित्रका हुन् ८७ वर्षीय रामरत्न र हरि पाण्डेहरू । ७० लाख घुस अफर गरेर अख्तियार आयुक्त राजनारायण पाठककै जागिर खाइदिने लम्बोदरले इञ्जिनियरिङ कलेजको आम्दानीलाई संस्थागत खातामा जम्मा नगरी ५३ पटक व्यक्तिगत खातामा जम्मा गरेको पाइएको थियो । मुद्दाका प्रतिवादीमध्ये दीपक भट्टराईको क्यान्सरका कारण निधन भइसकेको छ भने अर्का प्रतिवादी पोखराका पूर्वप्रधानपञ्च सीताराम (सूर्यबहादुर) केसीको पनि केही वर्षअघि निधन भयो ।

जीवित प्रतिवादीमध्ये हरि पाण्डेले रकम फिर्ता गरिसकेका थिए र उनैले उक्त कलेज निजी नभई सामुदायिक भन्दै आएका थिए । डा.रामरत्न पनि लम्बोदरको जालमा परेर मुद्दाले दुःख पाइरहेका थिए । त्यसैले विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले लम्बोदरका हकमा दोषी ठहर र बाँकी सबैलाई सफाइ दिने निर्णय गर्‍यो । यसबीच लम्बोदरका सम्पूर्ण खाता रोक्का गरिएका छन् र त्यसमा रहेका रकम जफतको प्रक्रियामा छ । पत्नीको खातामा १२ लाख देखिए पनि जफत गरिएको छैन । 

कलेजलाई निजी दावी गर्दै लम्बोदर एक्लैले महिनाको ६ लाख तलब खान्थे, डेढ करोडको पजेरो चढ्थे । टेलिफोन खर्च, भत्ता र तलब बुझेका हुन्थे, तर कर कट्टी थिएन । कलेजजस्तो संवेदनशील संस्थामा लापरवाही गर्दा थुप्रै विद्यार्थीको पढाई बिग्रियो । अझै पनि विद्यार्थीबाट १५ करोड शुल्क उठाउनै बाँकी छ । 

उता, कानुनविपरित शेयर कारोबार गर्ने इन्साइडर ट्रेडर्सका सञ्चालक गुरु न्यौपानेविरुद्धको मुद्दा पनि विशेष अदालतले ठहर गरेको छ । न्यौपाने र उनको परिवारका सदस्यले रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर कानुनविपरीत दोस्रो बजारबाट खरीद–बिक्री गरेको फेला पारेपछि उनका विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गत कात्तिक १३ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर, उनीसँगै प्रतिवादी बनाइएका कुवेरमणि नेपाललाई भने सफाई दिइएको छ । गुरुले ३९ हजार कित्ता शेयर बेचेर तीन करोड हिनामिना गरेका थिए ।

त्यसका लागि सञ्चालक समितिको अध्यक्ष भएर सबै सूचना बुझे । १४ लाख शेयरमध्ये सर्वसाधारणमा शेयर जारी गर्नुअघि ३९ हजार शेयर बेचेर नाफा लिए । मुद्दा जित्नका लागि महंगा–महंगा वकिल राखेका थिए । बारका पूर्वअध्यक्ष शम्भु थापा, भर्खरै अवकाश पाएका न्यायाधीश ईश्वरप्रसाद खतिवडाका छोरा अपूर्व, भीमार्जुनका भाइ तथा प्रहरीका आधिकारिक वकिल सुवास आचार्य, विशेष अदालत बारका अध्यक्ष चुडामणि पौडेल, उपाध्यक्ष टीका ढुंगानाहरूले उनको पक्षबाट बहस गरेका थिए ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू