भारतमा बेचिएका ७ महिलाको उध्दार

भारतमा बेचिएका ७ महिलाको उध्दार

रोजगारीको प्रलोभनमा भारतमा बेचिएका सात महिलाको उद्धार गरिएको छ । उनीहरुलाई बिहार राज्यको चम्पारण थाना भन्ने ठाउँबाट उद्धार गरी नेपाल फ़र्काइएको हो ।

नेपाल प्रहरीले भारतीय काउन्टरपार्ट्ससँग समन्वय गरी आफन्त नेपाल संस्थासँगको सहकार्यमा ती महिलाहरूको उद्दार गरिएको जनाएको छ ।

दलालहरुले अर्केष्ट्रामा आकर्षक तलब हुने काममा लगाइदिने प्रलोभन देखाई ती महिलालाई बिहारको छौँडादानो भन्ने स्थानमा पुर्याएको र बेचबिखनका लागि तयारी गर्दागर्दै उद्धार गरिएको पर्सा प्रहरीले जानकारी दिएको छ । ती महिलालाई उनीहरुको इच्छाबिपरीत बिनापारिश्रमिक नाचगान गराई शारीरिक तथा मानसिक यातना दिई श्रमशोषण गरेको र बेचबिखन गर्ने उद्देश्यले अन्यत्र पठाउने तयारी भइरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले बेचबिखनमा संलग्न २ जनालाई वीरगंज महानगरपालिका-१६ इनर्वाबाट बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार पूर्वी चम्पारण थाना छौँडादानो नगर पञ्चायत छौँडादानो-११ ठेगाना भएका २५ वर्षीय विकास भन्ने विकेश कुमार र धनुषा नगराइन बस्ने २४ वर्षीया ममता कुमारी भन्ने अजिमा खातुन रहेका छन् ।

उनीहरु उपर जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप गरी मानव बेचबिखन कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

टिप्पणीहरू