आज लैनचौरमा प्रधानमन्त्रीको पुत्ला दहन

आज लैनचौरमा प्रधानमन्त्रीको पुत्ला दहन

नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी,अस्कल इकाइ समितिले प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ ।

जेठ ७ गते मध्यरात राष्ट्रपति कार्यालयबाट दोस्रो पटक प्रतिनिधिसभा विघटन गरिएको भन्दै अहिले बेलुका प्रधानमन्त्रीको पुत्ला जलाइएको हो ।

समितिका उपाध्यक्ष राज शर्माको नेतृत्वमा काठमाण्डौ महानगरपालिका-२६ लैनचौरस्थित क्याम्पसअगाडि पुत्ला दहन कार्यक्रममा मजदुर युनियनका पीताम्बर गौतमसमेतको सहभागिता थियो ।

आजै कपिलवस्तु,बुध्दभूमि नपा २ गोरुसिङ्गेमा नेविसंघ नगर सभापति अच्युत अर्यालकाे नेतृत्वमा प्रधानमन्त्रीको पुत्ला जलाउने कल्याण खनाल र रुपकराज खनाललाई नेपाल प्रहरीकाे टाेलीले समातेको छ ।

उता बिराटनगरस्थित नेपाली कांग्रेस मोरङको जिल्ला कार्यालयमा बसेको कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एमाले (नेपाल-खनाल पक्ष) र जनता समाजवादी पार्टी (उपेन्द्र पक्ष) को जिल्लास्तरीय बैठकले प्रतिनिधिसभा विघटनको विरुध्द कडा आन्दोलनमा जाने निर्णय गरेको छ ।

बैठकमा कांग्रेस सभापति डिगबहादुर लिम्बू, माओवादी केन्द्रका जिल्ला सचिव गणेश उप्रेती सुशील,एमाले (नेपाल–खनाल पक्ष) का सचिव राजन केसी र जनता समाजवादी पार्टीका अध्यक्ष राजकुमार यादव सहित करिब २५ जनाको सहभागिता थियो ।

टिप्पणीहरू