‘खजुरे ब्रो’ लाई पहिलो दिन ५० शो, अरुको करोडौं आम्दानी

‘खजुरे ब्रो’ लाई पहिलो दिन ५० शो, अरुको करोडौं आम्दानी

चलचित्र ‘खजुरे ब्रो’ आजदेखि प्रदर्शनमा आएको छ । पहिलो दिन यो चलचित्रले उत्साहजनक शो पाएको देखिएको छैन । मुलुकभर जम्मा ५० शोमात्रै पाएको बताइएको छ । 

यद्यपि, ‘वर्ड अफ माउथ’को आधारमा दर्शकले रुचाएमा भोलि शो थप हुनसक्ने बुझिएको छ । ‘सोसल कमेडी ड्रामा’ जनरामा बनेको यो चलचित्रलाई सुरज सुनुवारले निर्देशन गरेका हुन् । निति शाह, रेयर राई, महेश त्रिपाठी, नवीन मानन्धरलगायतले चलचित्रमा अभिनय गरेका छन्  

‘खजुरे ब्रो’ ले कम शो पाउँदा यसअघिको चलचित्र ‘बोक्सीको घर’ र ‘मनसरा’लाई भने फाइदा भएको देखिन्छ । वैशाख १४ गतेबाट प्रदर्शनमा आएको ‘बोक्सीको घर’ले अहिलेसम्म सात करोड रुपैयाँभन्दा बढी कलेक्सन गरेको निर्माण पक्षको दाबी छ । तेस्रो हप्तामा पनि फिल्मले उल्लेखनीय दर्शक पाइरहेको देखिन्छ ।

सुलक्षणा भारतीको लेखन तथा निर्देशन रहेको यो चलचित्रमा केकी अधिकारी, सुपला सापकोटा, स्वेच्छा राउत, रमा थपलिया मुख्य भूमिकामा छन् । गत शुक्रबारबाट प्रदर्शनमा आएको ‘मनसरा’ले पनि दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ । तर, अपेक्षित कलेक्सन भने गर्न नसकेको समीक्षकहरुको टिप्पणी छ । 

कवि उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको उक्त चलचित्रलाई पूर्वी शहरका हलहरुमा निकै रुचाइएको छ । सुब्बाकै यसअघिको चलचित्र ‘जारी’को तुलनामा ‘मनसरा’ले कम कलेक्सन गरेको छ । 

पहिलो हप्तामा करिब चार करोड मात्र कलेक्सन गरेको निर्माण पक्षको भनाई छ । मनसराको विदेश प्रदर्शन भने यो साताबाट सुरु भएको हो । चलचित्रमा प्रवीण खतिवडा, मिरुना मगर, दयाहाङ राई, मेनुका प्रधानलगायतको मुख्य भूमिका छ । 

उता चलचित्र ‘महाजात्रा’ले भने ५१औँ दिन मनाउने तयारी गरेको छ । भोलि राजधानीका विभिन्न हलको तर्फबाट चलचित्रका कलाकारको उपस्थितिमा ५१औँ दिन मनाउने कार्यक्रम छ । गत चैत ९ गतेबाट प्रदर्शनमा आएको यो ‘महाजात्रा’ ले अहिले पनि दैनिक आठ शो पाइरहेको छ । 

चलचित्रले हालसम्म नेपालभित्र १७ करोड र बाहिर ११ करोड गरी कुल २८ करोड रुपैयाँ कलेक्सन गरेको बताइन्छ । प्रदिप भट्टराईको लेखन तथा निर्देशन रहेको उक्त चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, वर्षा राउतलगायतको मुख्य भूमिका छ ।

 

टिप्पणीहरू